विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि तीव्र रुपमा बढीरहेको छ। संक्रमणको दर वृद्धि भएसँगै अग्रभागमा खटिने सुरक्षाकर्मीमध्ये प्रदेश नं. १ मा २५ जना संक्रमित भएका छन् ।
पेशागत जिम्मेवारी बहन गर्ने क्रममा २० जना जनपथ र पाँच जना सशस्त्र प्रहरी संक्रमित भएका हुन् । जनपथ तर्फ २० मध्ये मोरङमा पाँच, झापा आठ, सुनसरी पाँच , धनकुटा र उदयपुरमा एक-एक जना संक्रमित भएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । संक्रमितमध्ये दुईजनालाई अस्पताल भर्ना गरिएको र दुई जना उपचारपछि घर फर्केको प्रदेश नं. १ का प्रवक्ता एसपी महेन्द्र श्रेष्ठले बताए । उनका अनुसार बाँकी सबै प्रहरी कार्यालयको होम आइसोलेसनमा छन् ।
अस्पताल भर्ना गरिएकामा झापा जिल्लामा कार्यरत प्रहरी जवानलाई मेची अञ्चल अस्पताल र सुनसरीमा कार्यरत प्रहरी नायब निरीक्षक बिराट टिचिङ्मा छन् । दुवै जनाको स्वास प्रसासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
‘अहिलेसम्म जे जति संक्रमित भएको पुष्टि भएको छ, सवै जना लक्ष्यण देखिएका हुन,’ एसपी श्रेष्ठले भने, ‘शंका लागेको मात्र परीक्षण गरिएको छ। अन्यको गरिएको छैन्।’ उनका अनुसार समूह-समूहको परीक्षण गर्दा अरु पनि थपिने निश्चित छ। प्रदेश नं. १ भरि ११ हजारभन्दा बढी प्रहरी कार्यरत छन् ।
प्रदेश नं. १ भर शसस्त्र प्रहरी भने पाँच जना संक्रमित भएका छन् । सशस्त्र प्रहरी वल १ नं. मुख्यालय बराह बाहिनी पकलीका अनुसार मोरङमा कार्यरत ४ र उदयपुरका एक जनामा संक्रमण पुष्टि भएको छ । मुख्यालयका डिआईजी वंशीराज दाहालका अनुसार संक्रमित सवैको अवस्था सामान्य रहेको छ । विशेषगरी, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि बढी मात्रमा सशस्त्र प्रहरी सीमा क्षेत्रमा खटिएकाले गर्दा पुरै सावधानी अप्नाइएको छ। ‘बेला बेलामा अनुगमन पनि हुने गरेको छ र चिकित्सक टोलीले आवश्यक सचेतना अप्नाउन सुझाव दिइ रहने गरेको छ,’ दाहालले भने ।
सशस्त्र प्रहरीले घर विदाबाट फर्किएकाहरुलाई अनिवार्य १५ दिन क्यावरेन्टाइनमा राखेर मात्र डिउटीमा खटाउने गरेको छ। निषेधाज्ञा कार्यान्वयन र सीमा सुरक्षाको लागि प्रदेश नं. १ मा तीन हजार ७ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रदेश नं. १ भर सात हजारभन्दा बढी सशस्त्र प्रहरी छन् ।
प्रकाशित: २४ वैशाख २०७८ १३:५१ शुक्रबार