९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

'बरु कर लेऊ सरकार तर फोहोर नगर सुन्दर बनाइदेऊ'

जुम्लाको चन्दननाथ नगरपालिकाले एक हप्तासम्म सदरमुकाम खलंगाको फोहोर उठाउन नसकेपछि युवा सडकमा उत्रिएका छन् । हातमा कुचो, बेल्चा लिएर युवा बजार सरसफाईमा जुटेका हुन् । नगरपालिकाले लामो समयसम्म फोहोर उठाउन नआएपछि युवाले नेतृत्व गरेर खलंगाको सरसफाई गरेका हुन् । सरसफाईमा सुरक्षाकर्मीको सहभागिता थियो ।  

'बरु कर लेउ सरकार तर फोहोर नगर सुन्दर बनाइदेउ' भन्दै युवाले हप्तौँसम्म गल्ली सडकमा, चौक, नालीमा थुप्रिएको फोहोर उठाए । युवा अगुवा धनराज सुनारले भने,“शिक्षा, स्वास्थ्य र सरसफाईको ग्यारेण्टी गर्न सिंहदरवार गाउँमा पुगेको अनुभुति होला सोचिएको थियो । तर नगरभित्रको फोहोर हप्तौँसम्म उठ्दैन । गफ सुन्दर, सफा र हराबरा नगरको छ तर काम शुन्य । खलंगामा थुप्रिएको फोहोर उठाउनै सक्दैन ।”

जुम्ला विमानस्थल जाने सडकदेखि शुरु गरिएको सरसफाई कालेखोली चौक हुँदै बसपार्क जाने सडक र जुम्ला बजारको चन्दननाथ भैरवनाथ मन्दिरको आसपासमा गरिएको थियो । बजारको बीचमा पवित्र धार्मिक स्थल छ । जहाँ दैनिक थोरबहुत आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गरिरहन्छन् । त्यही बीचको सडकमा फोहोरको थुप्रो लागेको हुन्छ ।  

युवालाई स्थानीय व्यापारी र व्यवसायीले समेत साथ दिएका थिए । एक हप्तासम्म न फोहोर उठाउन नगरपालिकाको गाडी आइपुग्यो, नत फोहोर व्यवस्थापनमा नगरपालिकाको चासो नै गयो, युवा व्यवसायी चन्द्रलाल सुनारले भने,“फोहोर उठाउनका लागि नगरपालिकालाई कर तिर्नु पर्ने तर फोहोर थन्किएर दुर्गन्ध सहन गर्नु पर्ने अवस्था रहे किन चाहियो स्थानीय सरकार ।”

व्यापार गरेर निस्केको फोहोर बजारमा थन्किदा बजार फोहोर भइरहने गरेको उद्योग वाणिज्य संघका सचिव मेगराज गिरी बताउँछन् । उनले भने,“व्यवसायीले जल्ने फोहोर जलाइसकेका हुन्छ । नजल्ने कुहिने सामान थुप्रिएको हुन्छ । यही फोहोर प्रदूषण निम्त्याउने गरेको छ । सदरमुकामको फोहोरले महामारी निम्त्याउन सक्ने भएकोले हरेक दिन संकलित फोहोरको व्यवस्थापन गर्न नगरपालिकाले चासो देखाउनु पर्छ ।”  

स्थानीय युवा चन्द्रलालले फोहोर उठाउन नगरपालिकाले लापरवाही गरेको खण्डमा संघर्षका कार्यक्रम सार्वजनिक गरेर खबरदारी गर्ने बताए । फोहोर उठाउने बिषयमा हप्ता दिनभित्र कुनै टुंगो नलागेको खण्डमा भिन्न निर्णयका साथ नगरका युवा अघि बढ्छौँ । उनले भने,“निर्वाचनताका गरिएका स्मार्ट सिटी, सुन्दर नगर, हरियाली र सफा स्वच्छ नगरको नारा कार्यन्वयनमा ल्याउनुपर्छ । जनतालाई दिएको बचन नगरका जनप्रतिनिधिले पूरा गरेको खण्डमा स्वत सुन्दर चन्दननाथ नगर बन्छ ।”

यसअघि चाडपर्व, दिवशका अवसरमा स्थानीय प्रशासन, सेना, प्रहरी र कर्मचारीले बजार सफा गर्ने गरेका छन् । संकलित फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइट नहुँदा नगरपालिका संकटमा छ ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App