दैनिक जसो दुर्घटना भइरहने नेपालगन्ज–गुलरिया सडक खण्डको मानपुरस्थित घुम्तीमै रहेको पुरानो भवन भत्काइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा शुक्रबार उक्त भवन भत्काइएको हो। बाँकेको जानकी गाउँपालिका अन्तर्गत पर्ने उक्त स्थान ‘दुर्घटनाग्रस्त’ क्षेत्रका रुपमा परिचित थियो।
दशकौ पुरानो दुई तले पक्की भवन भत्काउनका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले घरधनीसँग सहमती गरेका हुन्। यही फागुन ७ गते प्रजिअ कुरुङवाङ, घरधनी तथा सरोकारवालाबीच घर भत्काएर सडक बिस्तार गर्ने सहमती भएको थियो।
स्थानीय प्रशासनले घरधनी शान्तिदेवी सिंह/अमर सिंहलाई क्षतिपुर्ती र मुआब्जा उपलब्ध गराउने सहमती पनि जनाएको बताइएको छ। यद्यपी उक्त सहमतीबारे स्थानीय प्रशासनले प्रष्ट रुपमा खुलाएको छैन। प्रमुख जिल्ला अधिकारी कुरुङवाङले घरधनीसँगको सहमतीका आधारमा डोजर प्रयोग गरी भत्काइएको बताएका छन्। यसका लागि स्थानीय प्रशासनले सडक विभागको डोजर प्रयोग गरेको थियो।
‘जग्गाधनीका परिवार तथा आफन्त र सरोकारवाला निकायको बैठकले घरको क्षतिपूर्ति र जग्गाको मुअब्जाका लागि प्रक्रिया अघि बढाउने सहमति जुटेपछि भत्काइएको हो,’ उनले भने। उक्त स्थानको भवन भत्काइएपछि अब दुर्घटना न्युनिकरण हुने ट्राफिक प्रहरीले जनाएको छ।
प्रकाशित: १४ फाल्गुन २०७७ १२:४३ शुक्रबार