९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

भागरथी हत्या अनुसन्धान गर्ने दुई प्रहरी बढुवा

रहस्यमय र जटिल देखिएको बैतडी दोगदाकेदार गाउँपालिका ७ कि १७ वर्षीया किशोरी भागरथीको बलत्कारपछि हत्या गरेको घटनाको सफल अनुसन्धान गरेकोमा दुई प्रहरीलाई एक तह बढुवा गरिएको छ। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले भागरथी हत्या घटनाको अनुसन्धान सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेकाले दुई प्रहरीलाई प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गरेको बताए। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका पहरी सहायक निरीक्षक पदम थापालाई प्रहरी नायब निरीक्षकमा बढुवा गरिएको छ। भने इलाका प्रहरी कार्यालय राजापुर बर्दियामा दरबन्दी भएर हाल जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान नरबहादुर थापालाई हलल्दार पदमा बढुवा गरिएको उनले बताए। ‘रहस्यमय र जटिल रहेको भागरथीको हत्याको समग्र अनुसन्धानमा उत्कृष्ट भूमिका निर्वाह गरेर दोषी पत्ता लगाउन उल्लेखनीय भूमिका खेलेकाले उनीहरूलाई बढुवा गरिएको हो,’ उनले भने। बढुवा भएका दुवै जनालाई बिहीबार सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले दज्र्यानी चिह्न लगाइदिएका छन्।

प्रहरी नायब महानिरीक्षकसहित ५ पुरस्कृत

यसैगरी, प्रहरी प्रधान कार्यालयले भागरथीको बलत्कार र हत्या प्रकरणमा सफल अनुसन्धान गर्न महत्वपूर्ण भूमिका खेलेकोमा नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीसहित ५ जनालाई अभिलेखमा रहनेगरी नगदसहित पुरस्कृत गरिएको छ। पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रमुख प्रहरी नायब उपरीक्षक नरायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्युरोका प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाखु, महानगरिय प्रहरी कार्यालय रानीपोखरी परिचाालन कक्ष दरबन्दी भएका प्रहरी नायब निरीक्षक दुर्गाकुमार योन्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दी रहेका प्रहरी जवान अशोकबहादुर कुँवर रहेका छन्।

माघ २१ गते सनातन धर्म मावि वाट पौने २ बजे घर फर्कदा वेपत्ता भएकी भागरथी माघ २२ गते साँझ विद्यालय र घरको बिचमा पर्ने लवलेक सामुदायिक बनमा बाटोबाट करिब ५० मिटर तल मृत अवस्थामा भेटिएकी थिइन्।  

शरीरको तल्लो भाग निर्वस्त्र, हात काटिएको, घाँटी थिचिएर निलडाम भएको, शरीरभरि निलडाम भएको र यौनांगमा रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो। पोष्टमार्टमको रिपोटमा बलत्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको थियो।  

अढाई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनाक जस्तै रहस्यकै गर्भमा रहन्छ कि भनेर भागरथीको न्यायका लागि सुदूरपश्चिमका सबै जिल्लामा दिनहुँ प्रदर्शन भइरहँदा प्रहरीलाई दबाब परेको थियो।

प्रहरीले पनि निर्मलाको घटनामा देखिएका कुनै पनि कमजोरी भागरथीको घटनामा नदोहोरिन दिन सुरुदेखि नै गम्भीरतापूर्वक महत्व दिएर अनुसन्धान सुरु गरेको थियो। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक सुवेदी आफैं दोगडाकेदारमा गएर वसे। दुईसाता लामो अनुसन्धानपछि प्रहरीले भागरथीकै भाइ नाता पर्ने गाउँकै १७ वषीय दिनेश भट्टले भागरथीको हत्या गरेको निष्कर्षसहित पक्राउ गरेको थियो। अदालतबाट म्याद थप गरेर दिनेशलाई अनुसन्धानका लागी प्रहरी हिरासतमा राखिएको छ।

दिनेशलाई घटनास्थलनजिक प्रत्यक्षदर्शीले देखेको, उसको लोकेसन घटनास्थलनजिक देखाएको र दिनेशले साविती बयानमा स्वीकारेको आधारमा दिनेशले नै भागरथीको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो। दिनेशले सरकारी वकिलसमक्ष आफ्ना बावुकैअघि बलत्कारपछि भागरथीको हत्या गरेको बयान दिएपछि अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका भागरथीका आफन्तले १७ दिनमा शव बुझेर अन्त्येष्टि गरेका थिए।

प्रकाशित: १४ फाल्गुन २०७७ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App