स्काभेटरको सहायताले भेरीको भेलबाट यात्रु बोक्ने गाडी तार्ने थाहा पाएका बराहताल गाउँपालिका–१ का इन्द्रबीर थापा (७१) तीन घण्टा ओरालो हिँडेर आइतबार विहानै रानीघाट आइपुगे । उनको गाउँमा सडक पुगेको तीन वर्ष भयो । भेरीमा पुल नहुँदा बनेको सडकमा चारपांग्रे सवारी चल्न सकेका थिएनन् । ‘गाडी तर्यो भने त पैदल हिँड्न छुट्थ्यो,’ आफु नजिक आउने सबैलाई उनी भन्थे, ‘छोरा–नातिले पनि शुख पाउँथे ।’ केही घण्टाको मेहनतपछि भे१ज ५४१ नम्वरको मुस्ताङ जीप भेरी तर्यो । ‘अव शुखका दिन सुरु भए,’ थापाले भने, ‘भेरीमा पुल बनिदिए अझै सहज हुन्थ्यो ।’
श्रीचौरका दिनेश दर्लामीले जीवनको उर्वर समय बर्दियादेखि भारी बोकेरै बिताए । भूगोल सुर्खेतको भएपनि दूरीका हिसावले श्रीचौर बर्दियाको भूरिगाउँसँग नजिक छ । तीन वर्षअघि सुर्खेत खण्डबाट सडक खन्दै आँगनै डोजर पुग्यो । दर्लामीको आँगनैबाटै सडक जान्छ । सडक पुगेपनि अझैसम्म यहाँ गाडी भने पुगेको थिएन् । भेरीबाट तारिएको गाडी उनको आँगन हुँदै अघि बढ्यो । ‘मैले त पिठ्यूमै भारी बोकेर आफ्नो जीवन गुजारे,’ उनले भने, ‘त्यो दुःख मेरा छोरा र नातिले नपाउने भए ।’
साविकको हरिहरपुर गाविस अहिले दुई वडामा विभाजीत छ । यहाँका सबै टोलमा तीन वर्षअघिनै सडक पुगेको हो । वडा कार्यालयले सडकको रेखदेखका लागि चार जना कर्मचारी पनि खटाएको छ । ‘पुल नहुँदा गाडी ल्याउन सकेका थिएनौं,’ वडाध्यक्ष तुलादेव भारतीले भने, ‘यो पटक जोखिम मोलेरै यात्रु बोक्नका लागि जीप भेरी तारेर ल्याउन सफल भयौं ।’
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि लुम्विनी प्रदेशको बर्दिया जोड्ने सबैभन्दा छोटो मार्ग हो, तेलपानी–भुरिगाउँ सडक । यसको दूरी ५१ किलोमिटर छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा १९ सय मिटर मात्रै सडक छिचोल्न बाँकी छ । जर्किनले भेरी तारिएको जीपबाट रानीघाटदेखि तेलपानीसम्मको १८ किलोमिटर सडकमा नियमित यातायात सञ्चालन हुनेछ ।
सुर्खेततिरबाट यातायात नहुँदा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका तेलपानीलगायतका क्षेत्रका बासिन्दा दैनिक उपभोग्य बस्तुको खरिदका लागि बर्दियाको भुरिगाउँ जानुपर्ने बाध्यता छ । निकुञ्जको बाटो भएकाले भुरिगाउँ जाँदा जंगली जनावरको डर उत्तिकै हुन्थ्यो । ‘अव आँगनमै गाडी आउने भयो,’ तेलपानीका डिल्लीराम विकले भने, ‘डराई–डराई निकुञ्जको बाटो भएर बर्दिया जानुपर्ने बाध्यता हट्यो ।’ गाडी पुगेसँगै प्रदेश राजधानी वीरेन्द्रनगर आउने दूरी छोट्टिएको छ ।
वडाध्यक्ष भारतीले बाह्रै महिना सडक सञ्चालनमा आउने बताए । ‘वडा कार्यालयले आफ्नै खर्चमा सडक मर्मत कार्यकर्ता राखेको छ,’ उनले भने, ‘वडाका जनतालाई सहज यातायातका लागि सडक बन्द हुन दिँदैनौं ।’
२०६९ असार २९ गते पप्पु/मल्ल जेभी निर्माण सेवाले भेरी नदीमा पुल बनाउने गरेर सडक डिभिजन कार्यालय सुर्खेतसँग संझौता गरेको थियो । संझौता अनुसार काम गरिदिएको भए प्रदेश राजधानीबाट बर्दिया जोडिन्थ्यो । भेरीपारीका साविकको हरिहरपुर र तरंगा गाविसका नागरिक यातायातको पहुँचमा हुन्थे । ‘भेरीमा पुल नबन्दा बर्दिया राष्ट्रिय निकुञ्जमा जोखिमपूर्ण यात्रा गरेर दैनिक उपभोग्य बस्तु खरिदका लागि बर्दिया पुग्नुपर्ने बाध्यता छ,’ स्थानीय टोपबहादुर कठायतले भने, ‘अव सडकमा साधन गुड्न थालेपछि आफ्नै क्षेत्रमा यात्रा गर्न पाउने भयौं ।’
प्रकाशित: १० फाल्गुन २०७७ ०७:२९ सोमबार