जीवनोपयोगी तालिममा सहभागी हुने तर व्यवहारमा नउतार्ने आम प्रवृत्ति छ। तर खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी किशोरी कविता वनले भने सेनेटरी प्याड बनाउने तालिम मात्र लिइनन्, गाउँमा फर्केर सो सिप बाँड्ने अभियान नै थालेकी छिन्।
वातावरणीय कृषि तथा विकास केन्द्र (केड) को आर्थिक सहयोगमा ग्रामीण युवा सशक्तीकरण तथा अनुसन्धान केन्द्र राखाबाँदेलले ऐसेलुखर्कमा गत माघ १२ गते सञ्चालन गरेको ‘लाइफ स्किल’ तालिमअन्तर्गत सेनेटरी प्याड बनाउने तालिम लिएकी कविताले गाउँका ७५ जनाभन्दा बढी किशोरी र महिलालाई सो सिप सिकाइसकेकी छन्।
‘लाइफ स्किल’ तालिमअन्तर्गत सेनेटरी प्याड बनाउने सिप सिकेकी १६ वर्षीया कविताले पहिलो चरणमा रैकर टोल (आफ्नै गाउँ)का दिदी, आमादेखि हजुरआमा उमेर समूहका २५ महिलालाई र दोस्रो चरणमा ५० जना किशोरीलाई प्याड बनाउने तालिम दिइसकेकी छन्।
नरम कपडाबाट सियो धागोकै भरमा प्याड बनाउन सिपालु कविता त्रिभुवन मावि ऐसेलुखर्कमा कक्षा १२ मा अध्ययनरत छिन्। घरेलु प्याड बनाउने तालिम पाउँदा उनका साथीसँगी दंग छन्। उनले आफैंले भेला गरेर प्याड बनाउने तालिम सञ्चालन गर्नुअघि आफ्ना अन्य साथीसँगीलाई पनि प्याड बनाउन सिकाइसकेकी थिइन्।
अरूलाई प्याड बनाउने सिप बाँडेर उत्साहित देखिएका कविताले क्रमशः ऐसेलुखर्क गाउँपालिकाका ७ वडाका ८ वटा माविमा पुगेर किशोरीलाई घरैमा प्याड बनाएर प्रयोग गर्न सिकाउने लक्ष्य राखेकी छन्। त्रिभुवन माविमा कक्षा ११ र १२ मा अध्ययनरत किशोरीलाई पनि प्याड उत्पादनसम्बन्धी तालिम दिने उनको लक्ष्य छ।
गाउँघरमा महिनावारीको समयमा सेनेटरी प्याडको प्रयोग कमै हुन्छ। महिनावारीका समयमा गाउँघरमा महिलाले चाहेर पनि सेनेटरी प्याड प्रयोग गर्ने अवस्था हुन्न। प्याडको सहज प्रयोगको अभावमा गाउँघरमा महिलाको दिनचर्या असहज हुने गरेको तथ्यलाई ध्यानमा राखेर कविताले आफूले सिकेको सिप बाँड्न सुरु गरेकी हुन्।
कविताले सुती, कटनजस्ता नरम खालका कपडाबाट सियो र धागोले सिलाएरै प्याड तयार पार्न सिकाउने गरेकी छन्। पुनः प्रयोग गर्न मिल्ने घरेलु प्याड तयार पार्ने तालिम लिएकी उनले छोटो समयमै ‘प्याड बनाउने अब्बल गुरुमा’को दर्जा पाइसकेकी छन्। एक वर्षसम्म पुनः प्रयोग गर्न सकिने भएकाले घरमा तयार पारिएको प्याड महिलाका लागि उपयोगी हुने कविता बताउँछिन्।
बजारमा प्याड किन्दा महँगो पर्ने र एक पटक प्रयोग गरेर फाल्नुपर्ने हुन्छ तर घरमा उत्पादन गरिएको प्याडलाई राम्ररी सफा गर्दै पुनः प्रयोगमा ल्याउन सकिने भएकाले उपयोगी हुने दाबी गरिएको छ। कम खर्चमै प्याड बनाउन सकिने र प्याड किन्नमा हुने खर्च जोगिने भएकाले ग्रामीण क्षेत्रका महिलाका लागि घरेलु प्याड उपयोगी हुने कविता बताउँछिन्।
‘बजारमा सेनेटरी प्याड किन्दा महँगो पर्छ, एक पटक प्रयोग गरेपछि फाल्नुपर्ने हुन्छ,’ कविताले भनिन्, ‘नरम कपडाबाट प्याड बनाउन सकियो भने खर्च कम हुन्छ। प्याड किन्ने पैसा बचत हुन्छ। सधैं बजारको प्याड किनेर प्रयोग गर्नसक्ने अवस्था पनि हुँदैन। त्यसकारण घरेलु प्याड महिलाका लागि उपयोगी हुन्छ।’
स्कुल अफ डेमोक्रेसी शाखा खोटाङको सदस्यसमेत रहेकी कविताबाट प्याड बनाउने सिप सिकेर फर्किएका महिलाले ‘धन्यवाद’ भन्न थालेका छन्। कतिपयले महिनावारीका बेला सहज भएको भन्दै भेटेर खुसी व्यक्त गर्न थालेका छन्।
‘सकेसम्म गाउँपालिकाभरिका सबै महिलालाई प्याड बनाउने सिकाउने लक्ष्य छ। कम्तीमा गाउँपालिकाभरिका आठ वटा माविमा पुगेर प्याड बनाउन सिकाउने योजना छ,’ उनले भनिन्, ‘प्याड बनाएर प्रयोग गर्ने आमा दिदीहरूले दिनचर्या सहज भयो भनेर खुसी व्यक्त गरिरहेका छन्। भेटेका बेला साथीसँगीले पनि राम्रो रेस्पोन्स गरिरहनुभएको छ। यसले अरू काम गर्न उत्साह थपेको छ।’
प्रकाशित: २९ माघ २०७७ ०४:१५ बिहीबार