७ वैशाख २०८१ शुक्रबार
समाज

६०१२ मिटर अग्लो धम्पुस पिकमा स्वदेशी आरोही (तस्बिर सहित)

दुई महिलासहित ६ जनाले सफल आरोहण गरे

धम्पुस पिकमा पुगेको आन्तरिक आरोहीको टिम । तस्बिर सौजन्यः आशिष गुरुङ

कोरोना भाइरस संक्रमणका कारण सुस्ताएको पर्यटन क्षेत्र आन्तरिक पर्यटन मार्फत उकास्न सघाउने गरि आयोजना गरिएको धम्पुस पिक आरोहणमा स्वदेशी आरोहीलाई सफलता मिलेको छ ।  

पर्यटनलाई आन्तरिक पर्यटन प्रवद्र्धन मार्फत पुर्नरुत्थान गर्न नेपाल पर्यटन बोर्ड (गण्डकी) र नेपाल पर्वतारोहण संघ (गण्डकी) को संयुक्त पहलमा आरोहणको योजना तय गरिएको थियो । त्यही अनुसार आरोहणका लागि गएका मध्ये दुईजना महिला सहित ६ जना नेपालीको टोलीले मुस्ताङको ६०१२ मि अग्लो धम्पुस पिकको सफल आरोहण गरेका छन् ।  

पर्यटन विभागबाट अनुमति लिएर नेपाल पर्वतारोहण संघको प्राविधिक सहयोगमा उनीहरुले उक्त पिक आरोहण गरेका हुन । आरोहण दलका संयोजक जीवनराज सापकोटाका अनुसार शनिबार बिहान ११ः४८ बजे ६ जनाको टोली शीखरमा पुगेको हो । पुस २७ गते आरोही सहित २६ जनाको टोली पोखराबाट गएको थियो ।  

पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीका अनुसार आरोहण गर्नेमा टासी पासाङ गुरुङ (मुस्ताङ), मनु गुरुङ (मनाङ), दिपेशबाबु सुवेदी (कास्की), सनकुमार जुग्जाली (म्याग्दी), सुदीप गौतम (कास्की) र हिराकुमारी मल्ल (स्याङजा) रहेका छन् ।  

आरोहण दलका संयोजक सापकोटाका अनुसार अत्यन्त तिब्र गतिको हावाका कारण अन्य पर्वतारोही शिखर नजिकै पुगेरपनि फर्केका थिए । पर्वतारोहण र पर्वतीय पर्यटनका लागि नेपाल विश्वमै अग्रणी रहेतापनि आन्तरिक पर्यटन प्रवद्र्धन उद्देश्य राखेर आन्तरिक पाहुनालाई पनि तुलनात्मक रुपमा कम खर्च र प्राविधिक तयारीमा नै धम्पुस पिक जस्ता धेरै हिम शिखरहरुको अरोहण गराउन सकिन्छ भन्ने सन्देश दिन यो अभियानको शुरुवात भएको बोर्डका प्रमुख भण्डारीले बताए ।  

‘हाल आन्तरिक पर्यटक दृश्यावलोकन, पदयात्रा, प्याराग्लाइडिङ, ¥याफ्टिङ, जंगल सफारी जस्ता पर्यटकीय गतिविधिमा अत्यधिक रमाउने गरेका छन्,’ भण्डारीले भने, ‘तर अब ६५ सय मिटर उचाइसम्मका पिक आन्तरिक पाहुनाले पनि आरोहण गर्न थाल्नेछन् ।’ धम्पुस पिकको सफल आरोहणले अब आन्तरिक पर्यटकका लागि पर्वतारोहण पनि आर्कषक पर्यटकीय प्रडक्ट बन्न सक्ने सन्देश पुग्ने उनले बताए । सम्भावनायुक्त होचा हिमाल आरोहणका लागि पनि अब व्यवसायीले आन्तरिक पर्यटक लक्षित गरेर पर्वतारोहणको प्याकेज तयार गर्न समेत सहयोग पुग्ने उनले बताए ।

फ्रेन्च नागरिक मौरिस हर्जोगले सन् १९५० को जुनमा अन्नपूर्ण प्रथम (८०९१मी) चढेर विश्वमा पर्वतारोहणको इतिहास रचेपनि हाल कम पर्वतारोहीले मात्र अन्नपूर्ण र धवलागिरि हिम श्रृंखलाको आरोहण गर्ने गरेका छन् । अन्र्तराष्ट्रिय पर्वतारोहीको रोजाईमा ८००० मिटर भन्दा अग्ला हिमालका अलावा नेपाल पर्वतारोहण संघले आरोहण अनुमति दिने आमादब्लम, मीरा पिक, आइल्याण्ड पिक, पिसाङ पिक पनि पर्दछन । यी मध्ये मनाङ जिल्लाको पिसाङ पिक अन्नपुर्ण श्रृंखलामा पर्दछ भने अन्य पिकहरु सगरमाथा क्षेत्रमा पर्दछन् । 

प्रकाशित: ४ माघ २०७७ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App