८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

‘कोरोना महामारीले भन्दा पनि धुलोले मार्ने भयो’

अस्तव्यस्त गौशाला–चुच्चेपाटी सडक

बुङबुङती उड्ने धुलोले दिउँसै सवारीसाधनमा बत्ती बालेर हिँड्नुपर्ने अवस्थामा पुगेको गौशाला–चुच्चेपाटी सडकखण्ड । सरकारी निकायले बैलैमा मर्मत गर्न चासो नदिँदा यस्तो अवस्था आएको हो । तस्बिर: नागरिक

डिभिजन सडक कार्यालय काठमाडौंले गत पुसमा ६ महिनाभित्रै मर्मत सम्पन्न गर्नेगरी गौशाला–चाबहिल–चुच्चेपाटी सडकखण्ड द्रुत गतिमा निर्माण गर्ने योजना ल्यायो । कार्यालयले सो सडकखण्डमा ढल र खानेपानीको अत्यधिक चुहावट भएको भन्दै त्यसको दीर्घकालीन समाधानका लागि योजना ल्याएको थियो । योजनाको म्याद सकिए पनि काम सम्पन्न भएको छैन । सडक कहिले निर्माण सम्पन्न हुन्छ भन्ने पनि अझै निश्चित छैन । डिभिजन कार्यालयले अत्यधिक व्यस्त सडकमा मर्मतमा चासो नदिँदा लामो समयदेखि सो सडकखण्डको अवस्था दयनीय बनेको हो ।

अहिले चाबहिल क्षेत्रमा धुलाम्मे सडकका कारण सर्वसाधारणलाई आउजाउमा असाध्यै मुस्किल भइरहेको छ । काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष शुद्ध डंगोल सडक विभाग र ठेकेदार कम्पनीको ढिलासुस्तीकै कारण गौशाला तथा चाबहिलवासी लामो समयदेखि धुलाम्मे र हिलाम्मे सडकको सास्ती खेप्न बाध्य भएको बताए । ‘यो सडकखण्डमा सर्वसाधारणले वर्षाैंदेखि सास्ती खेप्दै आइरहेका छन्,’ उनले भने, ‘समयमै निर्माणको ग्यारेन्टी नहुँदा सर्वसाधारणले अझै कति सास्ती खेप्नुपर्ने हो, कुनै टुंगो छैन ।’ वडाध्यक्ष डंगोलले त्रिपक्षीय समस्याकै कारण तोकिएको समयभित्रै सडक निर्माण सम्पन्न हुन नसकेको बताए । ‘यो सडक एक पक्षीय कारणले मात्रै होइन,’ उनले भने, ‘डिभिजन सडक कार्यालय, ठेकेदार कम्पनी र विद्युत् प्राधिकरणको लापरबाहीकै कारण समयमै निर्माण हुन नसकेको हो ।’  

चाबहिलका स्थानीय श्याम श्रेष्ठले कोरोनाले भन्दा पनि धुलाम्मे सडकका कारण मर्ने अवस्था सिर्जना भएको बताए । ‘कोरोना महामारीले भन्दा पनि धुलैले मरिएला जस्तो छ,’ उनले भने, ‘सडक तोकिएको समयभित्रै निर्माण हुन नसक्नुको खास कारण सरकारी ढिलासुस्ती नै हो ।’ डिभिजन सडक कार्यालयले नै कालिका वेदांशी कन्स्ट्रक्सन जेभीलाई उक्त सडक निर्माणको ठेक्का दिएको हो । उक्त कन्स्ट्रक्सनका प्रोजेक्ट मेनेजर प्रकाशचन्द्र खरेलले यही मंसिर १२ गतेपछि कालोपत्रे गर्न अहिले सडकको धुलो हटाउने काम भइरहेको बताए । ‘यो खण्डमा मंसिर १२ गतेदेखि कालोपत्रे गर्ने तालिका तयार पारेका छौं,’ उनले भने, ‘कालोपत्रे गर्नुअघि सडकको धुलो उडाउनुपर्ने भएकाले पानी हालेका छैनौं । त्यसैले अहिले केही धुलोको समस्या देखिएको हो ।’ उनले सडकको धुलो नउडाई कालोपत्रे गरे लामो समय नटिक्ने भएकाले पनि समस्या आएको बताए । ‘यसअघि नियमित पानी हाल्दै आएका थियौं,’ उनले भने, ‘पानी हालेको भए धुलो हुँदैनथ्यो । अहिले पानी हाल्न नमिल्दा धुलो उडेका कारण केही समस्या पर्न गएको हो ।’

प्रोजेक्ट मेनेजर खरेलले विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) र खानेपानीको पाइप लिकेजका कारण कालोपत्रे गर्न केही ढिलाइ भएको बताए । ‘पुराना पाइप जीर्ण भएर क्षतविक्षत भएका रैछन्,’ उनले भने, ‘अझै पनि सम्पूर्ण मर्मतसम्भार भइसकेको छैन । तर पनि कालोपत्रेको काम सुरु गर्न लागेका छौं ।’ ठेकेदार कम्पनीले गौशालादेखि मित्रपार्कसम्म तयार पारिसकेको सब–बेससमेत भत्किएर लथालिंग अवस्थामा छ ।  

सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र तत्कालीन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच २०७६ माघ २३ गते भूमिगत विद्युतीय पाइपलाइन बिछ्याउने सम्झौता भएको थियो । तर प्राधिकरणले तोकिएको समयभित्रै उक्त सडकखण्डमा भूमिगत प्रसारण लाइन विस्तार गर्न नसक्दा सडक कालोपत्रे गर्ने काम प्रभावित भएको हो ।  

प्राधिकरणले कोरोनाका कारण कामदार नभएको भन्दै जेठको अन्तिम समयमा मात्रै भूमिगत विद्युतीय प्रसारण लाइन राख्ने काम सकेको थियो । तर डिभिजन सडक कार्यालयले असारमा वर्षात् सुरु भएको भन्दै सडक निर्माण कार्य अघि बढाएन । जसका कारणले लामो समयदेखि गौशाला चाबहिल सडकखण्ड अस्तव्यस्त बन्न पुगेको छ । प्राधिकरणले समयमै काम नसक्दा उक्त सडकखण्ड धुलाम्मे हुँदा सर्वसाधारण आजित छन् । अर्कातर्फ गत आर्थिक वर्षभित्रै सकिनुपर्ने काम अझै बाँकी छ ।

डिभिजन सडक कार्यालयले गत पुस १५ मा कालिका वेदांशी कन्स्ट्रक्सन जेभीसँग ६ महिनाभित्रै सम्पन्न गर्ने सर्तमा ठेक्का सम्झौता गरेको थियो । सो कन्स्ट्रक्सनले करिब साढे दुई किलोमिटर सडकको ठेक्का २० करोड ८७ लाख रूपैयाँमा पाएको हो । सम्झौताअनुसार साढे दुई किलोमिटर सडक उप्काएर पिच र खानेपानीको नयाँ पाइप जडान गरेर फेरि कालोपत्रे गर्नुपर्छ । कोरोना भाइरसका कारण समयमा काम हुन नसकेको भन्दै यो सडकखण्डको निर्माणका लागि पुस मसान्तसम्मको म्याद थप गरिएको छ ।

प्रकाशित: १० मंसिर २०७७ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App