९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

एक वर्षमा २ सय ५६ वटा सामग्रीको नमुना परीक्षण

खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा खाद्यवस्तुको नमुना परीक्षण गरिँदै । तस्बिर/हिमनाथ

गत आर्थिक वर्ष २०७६/७७ मा चीनबाट आयात भएका २ सय ५६ वटा खाद्य सामग्रीको नमुना परीक्षण भएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले एक वर्ष २ सय ५६ वटा सामग्रीको परीक्षण गरेको हो । गएको माघ ७ गतेसम्म कार्यालयले नमुना परीक्षण गरेको थियो ।

त्यसपछि भने कार्यालयले नमुना परीक्षण गरेको छैन । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नाका बन्द भएपछि त्यसयता नमुना नआएको कार्यालय प्रमुख अतिस घिमिरेले बताए । ‘अहिले नाका सञ्चालनमा आइसकेको भएपनि नमुना आएको छैन’, उनले भने, ‘अहिले खाद्य सामग्री नआएकाले पनि नआएको हुन सक्छ ।’  

खाद्य सामग्रीको लेवलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि नमुना परीक्षण केही महिना परीक्षण हुन सकेको थिएन । गएको कार्तिक पछि नमुना आउने क्रम बढेको थियो ।  

चीनबाट आउने प्रमुख सामग्रीहरूमा चक्लेट, चम्मा पिठो, बिस्कुट, सोया सस, भिनेगर, अचार, जुस पाउडर, चिकेन पाउडर, कफी, थुप्पा, चियापति, एमएसजी, ओखर, चामल, टिमुर, चिकेन ब्रोथ क्युब, मसरुम सुप, धुलो खुर्सानी, मसला, छयाङ्ग, क्वाची आदि छन् ।

कार्यालय २०७५ माघदेखि सञ्चालनमा आएको हो । कार्यालयले २०७५ माघदेखि असार मसान्तसम्म १ सय ८१ वटा खाद्य वस्तुको नमुना परीक्षण गरेको थियो । नाकामा कारोबार बढेपछि गत माघ १३ गतेदेखि कार्यालय सञ्चालनमा ल्याइएको थियो ।  

प्रयोगशाला सहित स्थापना भएको कार्यालयमा खाद्य सामग्रीको गुणस्तर परीक्षण हुने क्रम पनि बढेको उनले बताए ।  तर हालसम्म चीन निर्यात हुने खाद्य सामग्रीको परीक्षणका लागि एउटै नमुना परीक्षण भएको छैन । चीनबाट नेपाल भित्रिएका खाद्य सामग्रीको परीक्षणका लागि भन्सार कार्यालयले नमुना पठाउने गरेको छ ।  

‘आयात भएका सामग्रीको गुणस्तर प्रमाणीकरण गरिरहेका छौँ, उनले भने, निर्यात हुने सामग्रीको लागि भने गुणस्तर प्रमाणीकरण भएको छैन् ।’ चाउचाउ, मैदाको पिठो, चिउरा लगायतका सामग्री जाने गरेको छ । गुणस्तर प्रमाणित नगरी सामग्री आयात तथा निर्यात गर्न मिल्दैन । भन्सार कार्यालयले खाद्य सामग्रीको नमुना गुणस्तर कार्यालयमा पठाउँछ । कार्यालयले आयात तथा निर्यात भएका सामग्रीको गुणस्तर प्रमाणित गरेपछि मात्रै भन्सारले अनुमति दिन्छ ।  

कार्यालयको स्थापनाले गुणस्तरहीन सामग्री आउने सम्भावना भने घटेको छ । २०७५ कार्तिक १८ गते कार्यालयको स्थापना भएको हो । कार्तिकमा कार्यालय स्थापना भएको भएपनि माघ १३ गतेदेखि कार्यालयबाट सेवा सुरु भएको हो ।  

कार्यालय स्थापना भएपछि आयात हुने खाद्य पदार्थको गुणस्तर तथा लेबलमा पहिलेको भन्दा क्रमिक रूपमा सुधार भएको उनले बताए । कार्यालयले परामर्श सेवा प्रदान गरेकोले आयातकर्ता तथा निर्यातकर्ता लाभान्वित भएका छन् ।

प्रकाशित: ११ श्रावण २०७७ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App