९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

‘लकडाउन’को मौका पारेर कालोबजारी गर्ने व्यवसायीलाई कारबाही

ग्राहकबाट बढि लिइएको पैसा फिर्ता गर्दै व्यवसायी दिपेन्द्र चौधरी । तस्बिर : नागरिक

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिकामा ‘लकडाउन’को मौका पारेर उपभोग्य वस्तुको मूल्य बढाएर बिक्री गर्ने व्यवसायी कारबाहीमा परेका छन्। रावाबेँसी गाउँपालिका–६ हौंचुरमा वडा कार्यालय नजिकै खुद्रा व्यवसाय सञ्चालन गर्दै आएका सिराहाका दिपेन्द्र चौधरी कारबाहीमा परेका हुन्। चामल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुको चर्को मूल्य वृद्धि गरेर बिक्री गरिरहेको जनगुनासो आएपछि चौधरीलाई वडा कार्यालयले कारबाही गरेको हो।

चौधरीलाई सार्वजनिक रुपमा माफी मगाएर ग्राहकबाट बढि लिएको रकम सम्बन्धित ग्राहकलाई फिर्ता गर्न लगाएको र स्वास्थ्य चौकीलाई केही थान प्लास्टिकका कुर्सी टेवल उपलब्ध गराउनुपर्ने सजाय दिइएको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए। उनलाई आगामी दिनमा मूल्य बृद्धि गरेर सामान बिक्री गरेको पाइएमा पसल शिलबन्दी गरेर कारबाही गर्ने शर्तमा कागज गराईएको छ।

चौधरीले प्रतिकेजी ३० रुपैयाँ पर्ने आयोडिन नुन ५० रुपैयाँमा, प्रतिपोका ८५ रुपैयाँ पर्ने खाने तेल ९५ रुपैयाँमा, प्रतिकेजी ८५ रुपैयाँ पर्ने चिनी ९५ रुपैयाँमा, प्रतिबोरा १ हजार ३ सय पर्ने चामल १ हजार ३८० रुपैयाँमा, प्रतिबोरा आठ सय पर्ने ढिके नुन एक हजारमा बिक्री गरेको पुष्टी भएपछि कारबाही गरिएको हो। उनले अधिकांश उपभोग्य वस्तुको मूल्य बढाएर बिक्री गर्ने गरेको स्थानीयको भनाई छ।

चौधरीलाई आगामी दिनमा पसलमा अनिवार्य मूल्या सूची टाँस गर्न लगाइएको छ। क्रेता र बिक्रेतालाई एक ठाउँमा राखेर कुराकानी गराएपछि चौधरीले अधिकांश उपभोग्य वस्तुमा चर्को मूल्य वृद्धि गरेको पुष्टी भएको वडाध्यक्ष श्रेष्ठले बताए। उनले विगतदेखि नै चर्को मूल्यमा उपभोग्य वस्तु बिक्री गर्ने गरेको गुनासो आउने गरेको जनाइएको छ।

वडा कार्यालयले आगामी दिनमा वडाभित्र कसैले कालोबजारी गरेको पाइएमा खबर गर्न आग्रह गरेको छ। ‘लकडाउन’ सुरु भएसँगै जिल्लाका विभिन्न बजारमा चर्को मूल्य वृद्धि हुन थालेको गुनासो आउन थालेका छन्।
 

प्रकाशित: २० चैत्र २०७६ ०९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App