९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीको चितायनमा हजारौं भाण्टाको भार र धानको मट्का चढाईयो

भक्तजनले चढाएको परालले बाँधेको धानको मटकोर र भाण्टाको भारले भरिएको चितायन मन्दिर स्थल । तस्बिर : टंक/नागरिक

सर्लाही- महाशिवरात्रि पर्वको अवसरमा सर्लाहीको हरिपुरस्थित ऐतिहासिक एवं धार्मिक स्थल लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) परिसरमा शुक्रबार दिनभर भक्तजनहरुको घुईंचो लागेको छ।

महादेव मन्दिरमा पूजाआजा गर्न आएका भक्तजनहरुले हरिपुर नगरपालिका–७ स्थित मन्दिर परिसरमा भाण्टाको भार तथा धानको मटका चढाएका हुन्। मुसा लगायत छालारोग निको हुने विश्वासका साथ चितायन मन्दिरमा हरेक वर्ष महाशिवरात्रिका दिन भाण्टाको भार चढाउने प्रचलन छ। त्यस्तै चिताएको भाकल पूरा हुने विश्वासका साथ भक्तजनले परालद्वारा बाँधिएको धानको मटका (मौर) चढाउने गर्दछन्।

भक्तजनले चढाएको भाण्टाको भार र धानको मट्काले मन्दिरको आगन भरिभराउ बनेको छ। दिनभर भक्तजनको अत्यन्त भिड लागेका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित आयोजक समितिका स्वयंसेवकलाई सुरक्षा व्यवस्था मिलाउन हम्मे हम्मे परेको थियो। भाण्टाको भार र धानको मट्का चढाउन छिमेकी महोत्तरी, सिन्धुली, महोत्तरीसहित भारतबाट समेत भक्तजनहरु आउने गरेका छन्।

हरेक वर्ष महाशिवरात्रिको दिनदेखि चितायनमा मेला समेत लाग्ने गरेको छ। यस वर्ष आगामी फागुन १४ गतेसम्म मेला चल्ने लक्ष्मिनाथ चितायन महादेव विकास समितिका रामकृष्ण चौधरीले जानकारी दिए। भाण्टाको भार र धानको मट्का चढाउनेसहित एकलाख भन्दा बढीले मेला अवलोकन गर्ने चौधरीले दाबी गरे।

चौधरीका अनुसार मेलामा मतका कुवा, विद्युतीय रेल, घोडचढी, रोटे पिङ, साँस्कृतिक कार्यक्रम, सर्कस लगायत अन्य आकर्षण समेत रहेको छ। मेलाकै अवसरमा आयोजक समितिले प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिता समेत राखेको छ।

त्यस्तै महाशिवरात्रि पर्वको अवसरमा जिल्लाकै मूर्तियास्थित ऐतिहासिक मुक्तेश्वर महादेव मन्दिर, हरिवनको चतुभूजेश्वर महादेव मन्दिर, फरहदवाको जंगमुक्तेश्वर मन्दिर लगायत शिवालयमा पनि सोमबार दिनभर भक्तजनहरुको भिड लागेको थियो।

 

प्रकाशित: ९ फाल्गुन २०७६ १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App