दुधौली (सिन्धुली) – दुधौली नगरपालिका–९ खिरियानीकी बुधमाया घिसिङ झुप्रो घरको आँगनमा टाउकोमा हात राखेर बसेकी भेटिइन्। उनको घरको नाममा त्यही सामान्य छाप्रो हो। तर सोही छाप्रोपछाडि निर्माणाधीन घर अधुरै छ। अन्यत्र विनाशकारी भूकम्पपछि धमाधम घरहरू पुनर्निर्माण भइरहेका छन्। तर दुधौलीका सुकुमबासी एवं आर्थिक अवस्था कमजोर भएका गरिबहरूका घर भने जगमै सीमित भएको छ।
‘सुरुमा सम्झौता गरी ५० हजार अनुदान दिए, तीन लाख पाइने रहेछ भन्ने लागेर घरको जग राखियो। तर हालसम्म दोस्रो किस्ता पाएका छैनौं,’ बुधमायाले भनिन्, ‘सुरुमा आस देखाए, अहिले सुकुमबासीलाई दिने नियम छैन भन्छन्। आफूहरू गरिब भएकै कारण भूकम्पपछिको पुनर्निर्माण जगमै सीमित भएको उनको गुनासो छ। जग्गाजमिन छैन, यही १७ धुर जग्गा भोगचलन गर्दै आएका छौं तर यसको लालपुर्जा छैन। अब अनुदानकै लागि कसको लालपुर्जा ल्याएर देखाउनु ?’
हुनेखानेले सहजै अनुदान पाएको भन्दै उनले दुःखीलाई स्थानीय सरकारले पनि सहजीकरण नगरिदिएको उनको आरोप छ। ‘बरु ५० हजार पनि नदिएको भए हुन्थ्यो, जगमात्रै बनाएर बस्नु त पर्दैनथ्यो,’ उनले भनिन्। सोही स्थानकी बिमाया तामाङको घर पनि एक वर्षदेखि जगमै सीमित छ। भूकम्प गएको चार वर्ष पूरा भइसक्दा पनि सरकारले सुकुमबासीहरूको समस्या समाधान नगर्दा आफूहरूको घर जगमै सीमित भएको बिमाया बताउँछिन्।
‘ऐलानी जग्गामा अनुदान पाइँदैन भन्छन्। घरमा विदेशी लाहुरे छैनन् कमाएर ल्याउने, कसरी घर बनाउने ?’
‘दिनरात गरी कमाएको पैसाले खान हम्मेहम्मे हुन्छ, ऐलानी जग्गालाई दोस्रो किस्ता दिनलाई नियम आएको छैन भन्छन्,’ उनले भनिन्, ‘दुधौली नगरपालिकामा धेरैपटक धाइसकें तर हालसम्म दोस्रो किस्ता पाउन सकिएन।’ घरमा अतिरिक्त आम्दानीको स्रोत नभएका कारण आफ्नो घर अधुरै रहेको उनको भनाइ छ। ‘ऐलानी जग्गामा अनुदान पनि पाइँदैन भन्छन्, घरमा विदेशी लाहुरे छैनन् कमाएर ल्याउने,’ उनले भनिन्, ‘नगरपालिका धाउँदाधाउँदा हैरान भइसकें।’
जिल्लामा ५० प्रतिशतभन्दा बढी पुनर्निर्माणले गति लिइसक्दा सुकुम्बासी र गरिबका घर भने जगमै सीमित छन्। उनीहरूको डिपिसीभन्दा माथि घरको प्रगति भएको छैन। पहिलो किस्ताबापत ५० हजार पाएसँगै डिपिसी गरेका सुकुम्बासीहरूको दोस्रो किस्ता सिफारिस भए पनि पास नहुँदा हालसम्म पाएका छैनन्। दुधौली नगरपालिका–४ कै सोनीलाल सदाको घर पनि अधुरै छ। उनले पनि घर जगभन्दा माथि उठाउन सकेका छैनन्। ‘बस्ने बास फुसको सामान्य छाप्रो छ, सरकारले तीन लाख दिएपछि राम्रै घर बन्ने आस पलाएको थियो तर पहिलो किस्ताबाट दोस्रो किस्ता नआउँदा घर अधुरै छ,’ उनले भने, ‘सडक अगाडि १७ धुर जग्गा छ तर यो जग्गाको धनीपुर्जा नै छैन। पहिलो किस्ताको ५० हजार जग बनाउँदै सकियो। अब के गर्ने, के नगर्ने ?’
नेपाल सरकारले ऐलानी जग्गा र सुकुम्बासीलाई पनि बस्दै आएको ठाँउमा घर बनाउन अनुदान दिने प्रावधान राखेको भए पनि यस क्षेत्रका सुकुम्बासी भूकम्पपीडितले दोस्रो किस्ता नपाएको गुनासो छ। ‘हाम्रो नगरपालिकामा अझै थुप्रै घर बन्न बाँकी छ। झन्डै ६२ प्रतिशतजति पुनर्निर्माण भएको अनुमान छ,’ दुधौली नगरपालिका प्रमुख घनश्याम राउतले भने, ‘ऐलानी जग्गा र सुकुमबासी भएकै कारण दोस्रो किस्ता दिन रोकिएको छैन।’ नगरप्रमुख राउतले कागजात धेरै मिलाउनुपर्ने र नियम–प्रावधानअनुसार नआएका भूकम्पपीडितको सिफारिस रोकिएको हुन सक्ने बताए। ‘इन्जिनियहरू प्राविधिक नियम नपुगेका घरलाई सिफारिस गर्न मान्दैनन्,’ उनले भने, ‘त्यसैले केही भूकम्पपीडितको रोकिएको होला, सुकुम्बासी तथा लालपुर्जा नभएको जग्गामा बनेका घरहरूलाई दोस्रो किस्ता दिने सरकारको नियम नै हो, त्यसले रोकिँदैन।’
प्रकाशित: २ मंसिर २०७६ ०२:४६ सोमबार