१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

आज हरिबोधनी एकादशी,घरघरमा तुलसी पूजा गरिँदै

हेमराज भट्टराई

काठमाडौं - भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको पूजा गरी शुक्रबार घरघरमा हरिबोधनी एकादशी पर्व मनाइँदै छ। हिन्दु धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो। यसै दिन भगवान् विष्णुको तुलसीरूपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन रहेको छ।

खासगरी एकादशी तिथिमा भगवान् विष्णुको उपासना गरी व्रत बस्ने परम्परा रहेको छ। वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये आषाढ शुक्ल एकादशी र कात्तिक शुक्ल एकादशीमा भगवान् विष्णुको उपासना गर्दा बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ। त्यस्तै महाभारतमा पनि भगवान् श्रीकृष्णले युधिष्ठिरलाई यस दिन गरिएका स्नान, दान, तप आदि सबै कर्म अक्षय फलदायी हुने बताएका छन्। यस दिन विशेष पूजा गरी तुलसीको विवाह गरिदिने र द्वादशीका दिन तुलसीको विशेष पूजासँगै नवान्न (नयाँ अन्न) को हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गनुपर्ने धार्मिक मान्यता रहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभाग प्रमुख प्राडा देवमणि भट्टराई बताउँछन्। यो क्रम मार्गशीर्ष कृष्ण पक्षको पञ्चमीसम्म रहने गरेको छ।

यस दिन बिहानै उठीस्नान गरी तुलसीको मठ सिँगारिन्छ। तुलसीको पूजा गरी व्रतालुले सक्खरखण्ड, तरुल आदि कन्दमूल र फलफूल भगवान् विष्णुलाई चढाई प्रसादका रूपमा फलाहार गर्ने गर्छन्। हिन्दु धार्मिक मान्यताअनुसार तुलसी, पिपल, दुबो र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकको रूपमा पूजा गरिन्छ।

स्कन्द पुराणका अनुसार विष्णु भगवान्ले ‘वामन’ अवतार धारण गरी बलिसँग तीन पाइला जमिन मागेका थिए। उनको पहिलो पाइलाले स्वर्ग ढाक्यो भने दोस्रो पाइलाले मत्र्य। त्यसपछि वामनरूपी भगवान्ले तेस्रो पाइला माग्दा बलिले आफ्नै शिर थापिदिएपछि उनको सर्वस्व हरण भई उनी सुतललोक जान बाध्य भएका थिए। त्यही समयमा वर माग भन्दा बलिले सर्त राखी वर मागेकाले विष्णुलाई आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना सुतललोकमा गएर बस्नुपरेको बताइएको छ। तसर्थ यी चार महिना भगवान् विष्णु बलिको दरबार सुतललोकमा बस्ने भएकाले चतुर्मास भनिएको हो। यस समयमा कुनै शुभ कर्म गर्नुहुँदैन भन्ने मान्यता छ र चतुर्मासभर विवाह, व्रतबन्ध, गृहप्रवेशलगायत कार्य गरिँदैन।

कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको अवधिलाई भीष्मपञ्चक भनिन्छ। पाण्डव–कौरवबीच भएको महाभारतको युद्धमा घाइते भई बाणशड्ढयामा सुतेका पितामह भीष्मले भगवान् कृष्णलगायत पाँच पाण्डवलाई राजधर्म, मोक्षधर्म र दानधर्मको ज्ञानोपदेश दिएका थिए। उपदेश सुनी खुसी भएका भगवान् कृष्णले हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन भीष्मलाई अघ्र्य दिई भीष्मपञ्चक व्रत गरेमा आफू सन्तुष्ट हुने बताएकाले त्यसै दिनदेखि भीष्मपञ्चक मनाउने चलन चलेको उल्लेख छ। त्यस्तै मृत्यु शड्ढयामा सुतेका भीष्मको अनुरोधमा अर्जुनले यसै दिन आफ्नो बाणको वेगले पातालगंगाबाट पानी निकाली उनको तिर्खा मेटाएका थिए। पौराणिक कालमा ऋषि कनककी छोरी किशोरीले यसै दिन सन्ध्याकालमा तुलसीविवाह सम्पन्न गराएको स्कन्दपुराण, वैष्णवखण्डअन्तर्गत कात्तिक माहात्म्यमा उल्लेख छ।

तसर्थ यस अवधिमा भगवान् विष्णुको आराधना गर्नाले इच्छाएको फल पाइने विश्वासले काठमाडौं उपत्यकाका चाँगु नारायण, विशंखु नारायण, इचंगु नारायण, शेषनारायण, बुढानीलकण्ठ, सुनसरीको वराहक्षेत्रलगायत मन्दिरको दर्शन गर्ने चलन रहेको छ। साथै यस अवधिमा यी धार्मिक क्षेत्रमा मेलासमेत लाग्ने गरेको छ।

तुलसीको महत्व

तुलसी एक बहुउपयोगी वनस्पति हो। आयुर्वेदिक औषधि तयार पार्दा तुलसीको पत्र, पुष्प, बीज, हाँगा र मूल सबै उपयोगमा आउने अष्टांग आयुर्वेद हस्पिटलका डा. राजकुमार बन्जरा बताउँछन्। उनका अनुसार तुलसीमा विभिन्न रोगसँग लड्ने क्षमता वृद्धि गर्ने शक्ति रहेको हुन्छ। साथै यसले भोक जगाउने, रुचि जगाउने तथा पाचन प्रक्रिया बढाउनुका साथै झाडावान्ता रोक्ने काम पनि गर्छ। तुलसी रोपेको चार सय मिटरवरपरको वातावरणलाई तुलसीले बनाउने वातावरणविद् बताउँछन्।

प्रकाशित: २२ कार्तिक २०७६ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App