उदयपुर– असार अन्तिम साताको अविरल वर्षापछि गएको पहिरोले सातादिनसम्म अवरुद्ध भए पनि मर्मतपछि सुचारु भएको गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग फेरि अवरुद्ध हुन पुगेको छ।
असार २६ देखि साउन ३ गतेसम्म लगातार परेको अविरल वर्षाले आधादर्जन बढी ठाउँमा गएको पहिरोले यातायात आवागमन रोकिएको सडक मर्मतसम्भारपछि सुचारु भएको थियो। दुई दिनअघिको भारी वर्षाले पुनः पहिरो गएर अवरुद्ध हुन पुगेको हो।
गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका अनुसार पहिलेको वर्षाले गाईघाट–फोक्सिन्टारबीचको अँधेरी, जल्केनी र छामलिङमा पहिरो गएर आवागमन रोकिएको थियो। सो ठाउँमा रातारात मर्मत गरेर यातायात सुचारु गरिएकोमा दुई दिनअघिको वर्षाले जल्केनीको पहिरो थप गहिरो र लामो भएर भत्केपछि सडक बन्द हुन पुगेको कार्यालय प्रमुख पशुपति ज्ञवालीले बताए।
जल्केनीको पहिरो तत्काल मर्मत गर्न आवश्यक सामग्री र जनशक्तिसहित प्राविधिक टोली खटाइसकिएको छ। शनिबार र आइतबारसम्म मर्मत गरिसक्ने गरी काम सुरु भएको ज्ञवालीको भनाइ छ। सडक कार्यालयका अनुसार जल्केनीबाहेक अन्य ठाउँमा पनि स–साना पहिरो निकै ठाउँ भत्कने क्रम जारी रहेको तर, गाडी नै चल्न नसक्ने गरी भत्केको छैन।
यस्तै सिराहाको मिर्चया–कटारी–घुर्मी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग अझै केही दिन सुचारु हुन नसक्ने भएको छ। कटारी–घुर्मी खण्डको बेतीनीसम्म दर्जन बढी ठाउँमा भत्केको पहिरो पन्छाइसकिए पनि कटारी–११, ठाँटीस्थित लप्सेभीरमा गएको झण्डै डेढसय मिटर बढी लामो पहिरोको ठाउँमा नयाँ ट्रयाक खोल्ने काम भइरहेकाले सडक सुचारु हुन नसकेको हो।
सडक डिभिजन लहानले पाँच दिनदेखि तीनवटा स्काभेटर र एउटा जेसिबी लगाएर धमाधम नयाँ ट्रयाक खोल्ने काम गरिरहेको र अझै तीनचार दिन लाग्ने जनाएको छ। डिभिजन प्रमुख विनोद साहले सोमबारसम्ममा मोटरसाइकल चल्न सक्ने गरी ट्रयाक खनिसक्ने तर, गाडी चल्न केही दिन लाग्ने अनुमान गरे।
सिद्धिचरण लोकमार्ग अवरुद्ध हुँदा कटारी नगरपालिकाका पहाडी वडाहरू ८ देखि १४ सम्मका स्थानीय खाद्यान्न र बिरामी भए औषधि उपचार सेवा पाउन नसक्ने अवस्थामा पुगेका छन्।
प्रकाशित: ११ श्रावण २०७६ १०:३२ शनिबार