सुर्खेत– जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय काठका सामाग्रीहरु बनाएर जिविकोपार्जन गर्दथ्यो। पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने यो समुदाय आफूले बनाएका काठका सामाग्रीहरुसँग अन्नपात साट्थ्यो। परम्परागत सीपमार्फत बनाइएका भाँडावर्तन अहिले विक्री हुन छाडेका छन्। परम्परागत सीपमार्फत जिविकोपार्जन हुन छोडेपछि यो समुदाय अहिले सरकारले दिने सामाजिक सुरक्षा भत्ता र दाताको सहयोगमा निर्भर छ।
‘हामीले बनाएका काठका सामाग्री विक्री हुँदैनन्, छाक टार्नका लागि सरकारी भत्ता र अरुको सहयोगमा भर पर्नुपरेको छ’ राउटे युवा शिवराज शाहीले भने, ‘काठका सामाग्री विक्री हुन छोडेपछि पछिल्लो पुस्ताले आफ्नो सीप पनि भूल्दै गएको छ।’ दशक अघिसम्म गाउँघरमा राउटे समुदायले बनाएका सामाग्रीहरुको खुबै माग हुन्थ्यो। उनीहरुले बनाएका मधुस, कोसीलगायतका काठका भाँडामा स्थानीयहरु अन्नपात राख्थे।
परम्परागत सिपले बनाएका काठका सामाग्री विक्री हुन छोडेपछि उनीहरु आधुनिकतातर्फ उन्मुख भएका छन्। ‘यो हाम्रा लागि बाध्यता हो’ अर्का राउटे युवा नारायण शाहीले भने, ‘बजारको माग अनुसारका काठका सामाग्रीहरु बनाउने तालिम लिइरहेका छौं।’ सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ स्थित बेतिनीखोलामा बस्दै आएका राउटे समुदायका १५ जना युवाहरु अहिले आधुनिक सीप सिक्न दैलेखको डुंगेश्वर गाउँपालिकाको पाङ्कोट पुगेका छन्।
‘यहाँ हामीले टेबुल, कुर्सी, खाटलगायतका अहिलेसम्म नबनाएका काठका सामाग्रीहरु बनाउन सिक्दैछौं’ उनले भने, ‘यि सामाग्रीहरु बजारमा सजिलै बिक्ने अपेक्षा हामीले गरेका छौं।’ फिरन्ते जाति भएकाले राउटे समुदायले जंगलमा रुखहरु काट्न सहजै पाउँछन्। राउटे युवाहरुले पहिलो पटक आराको प्रयोग गर्न सिकिरहेका छन्। मधुस, कोसी, डाडु, पन्यू बनाउने यो समुदाय अहिले टेवुल, बेन्च, खाट बनाउन सिक्दैछ। ‘परम्परागत सीपले मात्रै जीवन धान्न नसकिने भयो’ मुखिया सूर्यनारायण शाहीले भने, ‘गाउँघर र बजारतिर टेवुल, बेन्च, खाटलगायतको माग आउन थालेकाले समुदायका युवाहरुलाई ति सामाग्री बनाउने तालिम लिन पठाएका हौं।’
एइआइएनको आर्थिक सहयोगमा दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र गुँरास गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन भइरहेको छ। ‘आधुनिक औजार प्रयोग गरेर राउटे समुदायलाई काठका सामाग्री बनाउन सिकाइरहेका छौं’ सोसेकका अध्यक्ष हिरासिंह थापाले भने, ‘आधुनिक औजारमार्फत राउटे समुदायले बनाउने काठका सामाग्रीहरुको बजारिकरणका लागि प्रदर्शनी तथा विक्री केन्द्र पनि स्थापना गर्छौ।’ उनले परम्परागत सीपले सामाग्रीहरु बनाउँदा धेरै काठहरु खेर जाने भएकाले पनि आधुनिक औजारको प्रयोग गर्न सिकाइएको उनले बताए।
राउटे अब वनका उपभोक्ता
वनको स्रोत उपभोग गर्ने विषयमा राउटे र अन्य समुदायबीच द्वन्द्व बढ्दै जान थालेपछि कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई यस क्षेत्रका सामुदायिक वनको सदस्य बनाउने निर्णय गरेको छ। ‘राउटे करिडोर अन्र्तगतका सबै सामुदायिक वनको विधान तथा कार्ययोजनामा उनीहरुलाई समेट्न डिभिजन वन कार्यालयहरुलाई पत्राचार गरेका छौं’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र प्रधानले भने, ‘यसले राउटे र अन्य समुदायबीच देखिएको द्वन्द्व समाधान हुनेमा आशावादी छौं।’
मन्त्रालयले डिभिजन वन कार्यालयलाई गरेको परिपत्र अनुसार सामुदायिक वन उपभोक्ता समूहको विधानमै राउटेहरुको नामावली उपभोक्ता समितिको सदस्यको रुपमा समावेश गर्न र निःशुल्क उपभोक्ता बनाउन भनिएको छ। यस्तै राउटे समुदायको कला, संस्कृति संरक्षण तथा जगेर्ना गर्ने किसिमका कार्यक्रमहरु उपभोक्ता समूहमार्फत सञ्चालन गर्ने प्रावधान पनि विद्यानमा उल्लेख गर्न भनिएको छ।
सामुदायिक वनको कार्ययोजनामा काठका भाँडाकुँडा बनाउनका लागि सिमल, कर्मा, सादन, खरीलगायतका प्रजातिका वयश्क र सुखड रुखहरु मितव्ययी तरिकाले प्रयोग गर्न दिन, राउटे समुदायले प्रयोग गर्ने काठ, दाउरा निःशुल्क रुपमा उपलब्ध गराउन, वन संरक्षणका लागि राउटे समुदायलाई प्रोत्साहन गर्न, सामुदायिक वन विकास मार्गदर्शन–२०७४ बमोजिम सामुदायिक वन विकासका लागि खर्च गर्ने रकमबाट राउटे समुदायको सामाजिक विकासका लागि पनि खर्च गर्ने प्रावधान समेट्न मन्त्रालयले गरेको परिपत्रमा उल्लेख छ।
मन्त्रालयले डिभिजन वन कार्यालयहरुलाई राउटे समुदायको जिविकोपार्जनमा टेवा पुग्नेखालका कार्यक्रमहरु सञ्चालन गर्न पनि निर्देशन दिएको छ। ‘डिभिजन वन कार्यालयमार्फत राखिने वन हेरालु, चौकीदार, वन डढेँलो हेरालुलगायतमा राउटे समुदायलाई प्राथमिकता दिन पत्राचार गरेका छौं’ सचिव प्रधानले भने, ‘राउटे समुदायको सहज जीवनयापन र उनीहरुको सशक्तिकरणका लागि हामी प्रतिवद्ध छौं।’
प्रकाशित: ७ जेष्ठ २०७६ १३:४६ मंगलबार