९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

चितायन मन्दिरमा भाण्टाको भार

सर्लाहीको चितायन मन्दिरमा भक्तजनले चढाएका भाण्टाको भार। तस्बिरःटंक क्षेत्री/नागरिक

सर्लाही – महाशिवरात्रिका अवसरमा सर्लाहीको हरिपुरस्थित लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) मा सोमबार दिनभर भक्तजनको घुइँचो लागेको छ। हरिपुर नगरपालिका–७ स्थित मन्दिरमा भाण्टाको भार तथा धानको मट्का चढाउन हजारौं भक्तजनको भीड लागेको हो। मुसालगायत छालासम्बन्धी रोग निको हुने विश्वासका साथ हरेक वर्ष महाशिवरात्रिका दिन चितायन मन्दिरमा भाण्टाको भार चढाउने चलन छ। त्यस्तै चिताएको कुरा पूरा हुने विश्वासमा भक्तजनले परालद्वारा बाँधिएको धानको मट्का (मौर) चढाउने गर्छन्। मन्दिर परिसर भक्तजनले चढाएको भाण्टाको भार र धानको मट्काले भरिभराउ भएको छ।

बिहानैदेखि भक्तजनको भीड लागेका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित आयोजक समितिका स्वयंसेवकलाई व्यवस्थापन गर्न दिनभर भ्याइनभ्याई भएको थियो। छिमेकी महोत्तरी, सिन्धुली, महोत्तरीसहित भारतबाट समेत भक्तजन यहाँ आउने गरेका छन्। हरेक वर्ष महाशिवरात्रिका दिनदेखि यहाँ मेलासमेत लाग्ने गरेको छ। यस वर्ष फागुन २५ गतेसम्म मेला चल्ने लक्ष्मीनाथ चितायन महादेव विकास समितिका अध्यक्ष रामकृष्ण चौधरीले जानकारी दिए। ‘भक्तजनले चिताएको कुरा पूरा हुने हुनाले चितायन मन्दिर भनिएको हो,’ उनले भने, ‘तीन सय वर्षभन्दा अघिदेखि यो मेला लाग्दै आएको छ।’

यस्तै महाशिवरात्रिका अवसरमा रौतहटका विभिन्न शिवालयमा सोमबार भक्तजनको ठूलो घुइँचो लागेको रौतहट संवाददाताले जनाएका छन्। गरुडा नगरपालिकाको शिवनगरस्थित विश्वनाथ महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। यहाँ रौतहटसहित छिमेकी जिल्लाहरू सर्लाही, बारा, पर्सा, सर्लाहीका साथै भारतका सीतामढी र पूर्वी चम्पारण जिल्लाबाट हजारौं भक्तजन मेला भर्न आएका छन्। यस्तै ईशनाथ नगरपालिकाको औरैयामा रहेको पुरानो मन्दिर ईशनाथ महादेव मन्दिरमा पनि उत्तिकै घुइँचो लागेको छ। यस मन्दिरमा भारतका चार जिल्लाका भक्तजन दर्शन गर्न आउने गरेका छन्।

प्रकाशित: २१ फाल्गुन २०७५ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App