९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

जगमै अड्किलो भ्यूटावर

सम्झौता अनुसार काम भएको भए पुरानो बसपार्कमा यतिबेला भ्यूटावर ठडिएको हुन्थ्यो। तर, ठेक्का सम्झौता भएको चार वर्ष बित्नै लाग्दा समेत भ्यू टावरको जग समेत अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन। जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीले तोकिएको समयसीमा गुज्रिनै लाग्दा समेत भ्यूटावरले अपेक्षाकृत गति लिन सकेको छैन। भ्यूटावर निर्माणको लागि भनेर पनि महानगरले सार्वजनिक निजी साझेदारी (पिपिपी)अन्तर्गत महानगर र जलेश्वर स्वच्छन्द–बिकोई जेभी कम्पनीबीच २०७१ सालमा सम्झौता भएको थियो। 

सम्झौता अनुसार कम्पनीले पाँच वर्षभित्र टावर बनाएर २५ वर्ष सञ्चालन गरेर महानगरलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो। तर, सम्झौता अनुसार कम्पनीले लगभग यतिबेला भ्यूटावर निर्माण सम्पन्न गर्नुपथ्र्याे। तर, भूकम्पपछि नक्सा परिवर्तन गरेर महानगरपालिकाले २०७३ सालमा मात्रै भ्यूटावर बनाउने कार्यादेश दिएको थियो। महानगर स्रोतका अनुसार निर्माण कम्पनीले सम्झौता अनुसार काम नगरे पनि महानगरपालिकाले सम्झौता रद्द गर्न नसकेको दाबी गर्छन्।
‘कम्पनीले राजनीति पहुँचकै आधारमा ठेक्का हत्याउन सफल भयो। तर, भवन निर्माण गर्ने अनुभव समेत नभएको कम्पनीले पाएको कामले गति लिन नसकेको हो,’ महानगरपालिकाका एक कर्मचारीले भने, ‘दुवै पक्षबीच भएको सम्झौतामा महानगरपालिकाले स्वतन्त्र इन्जिनियरिङ समूह गठन गरी निर्माणको अनुगमन गरेर ठेक्का तोड्न सक्ने व्यवस्था गर्नुपथ्र्याे।’ 

अहिले निर्माण कम्पनीले न दु्रत गतिमा काम अघि बढाएको छ न त काठमाडौं महानगरपालिकाले भ्यू टावरको कार्यप्रगतिको अध्ययन गरेर ठेक्का तोड्ने प्रक्रिया नै अघि सार्न सकेको छ। पुरानो बसपार्कमा भ्यू टावर कहिले निर्माण सम्पन्न हुनेमा अझैसम्म पनि अन्योलता कायमै छ।

काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले निर्माण कम्पनीले सम्झौता अनुसार काम गर्न नसकेको बताउँछन्। ‘सम्झौता अनुसार निर्माण सम्पन्न हुन अब डेढ वर्षभन्दा धेरै समय छैन। तर, निर्माण कम्पनीले अहिलेसम्म सन्तोषजनक काम गरेको पनि देखिन्न,’ उनले भने, ‘हामीले निर्माण कम्पनीसँग कामको कार्यतालिका माग गरेका छौं।’ उनका अनुसार निर्माण कम्पनीको कार्यतालिका चितबुझ्दो नभएको खण्डमा महानगरपालिकाले उचित निर्णय लिन सक्नेछ। 

कम्पनीका प्रमुख मनोज भेटवालले भ्यूटावरको जगको काम सम्पन्न भएको दाबी गरेका छन्। ‘भ्यू टावरको जगको काम सम्पन्न गरेका छौं,’ उनले भने, ‘अहिलेसम्म करिब ६० प्रतिशत जति काम सम्पन्न भएको छ।’ उनका अनुसार अबको १८ महिनाभित्र भ्यू टावर निर्माण सम्पन्न हुनेछ। कम्पनीका अनुसार भ्यूटावरको नक्सापास महानगरपालिकाकै नाममा भएकाले भ्यू टावर निर्माणले गति लिन नसकेको हो।‘ महानगरपालिकाले भ्यू टावरको लालपूर्जा महानगरपालिकासँग छ,’ उनले भने, ‘कम्पनीले बैंक लोन लिएर पनि काम गर्न नसक्ने अवस्था रहेको छ।’

महानगरको सार्वजनिक निजी साझेदारी इकाइ प्रमुख धु्रव काफ्लेले भ्यूटावरको जगको काम भइरहेको बताए। ‘कम्पनीले भ्यू टावरको काम गरिरहेको देखिन्छ,’ उनले भने, ‘अहिले पनि पाइलिङको काम भइरहेको छ। यति नै प्रतिशत काम भयो भनेर भन्न सकिने अवस्था छैन।’ सार्वजनिक निजी साझेदारी इकाइ प्रमुख काफ्लेले महानगरपालिकाले स्वतन्त्र इन्जिनियरिङ समूहको गठन गरेर भ्यू टावरको कार्यप्रगति निर्धारण गर्नुपर्ने बेला आएको बताए। ‘स्वतन्त्र इन्जिनियरिङ समूहले दिएको प्रतिवेदनकै आधारमा ठेक्का अगाडि बढाउने वा तोड्ने जिम्मेवारी महानगरपालिकाको कार्यपालिकाको बैठकले गर्नेछ।’ महानगरको सार्वजनिक निजी साझेदारी इकाइका अनुसार जलेश्वर स्वच्छन्द–बिकोई जेभी कम्पनीले नियमित रूपमा जग्गाको रोयल्टी बापतको ८९ लाख रूपैयाँ तिरिरहेको छ।’ भूकम्पअघि २९ तले निर्माण गर्न भनिएको भ्यूटारको मापदण्ड २०७२ सालको भूकम्पपछि घटाएर १२ तला मापदण्ड कायम गरिएको छ।

समयमा बसपार्क नबन्दा अस्तव्यस्त खुलामञ्च
महानगरका तत्कालीन कार्यकारी अधिकृत रुद्रसिंह तामाङको कार्यकालमा पुरानो बसपार्कको पार्किङ स्थललाई २०७३  वैशाखमा खुलामञ्चमा सारिएको हो। महानगरले सुविधासम्पन्न काठमाडौं भ्यू टावरको निर्माण गर्ने भन्दै बसपार्कलाई सारिएको हो। महानगरले दुई वर्षभित्रै भ्यू टावरमा व्यवस्थित पार्किङ बनाएर सार्ने बताए पनि अहिले टावर निर्माणमा देखिएको विवादले खुलामञ्चको बसपार्क कहिले सार्ने अन्योल देखिएको छ। पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर बनाउने योजना अघि बढाएर खुलामञ्चमा बसपार्क स्थानान्तरण गरिएपछि वीर अस्पतालमा भर्ना भएका बिरामीले आनन्दले आराम गर्न पाएका छैनन्। सवारीसाधनबाट निस्कने चर्को ध्वनिले अस्पताल कोलाहलमय बन्दा उनीहरूले सास्ती भोग्नुपरेको छ।

प्रकाशित: १३ फाल्गुन २०७५ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App