११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्यारा खोज्न फेरि अर्को टोली

काठमाडौं - कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको छ। प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिइरहेकै बेला अनुसन्धानमा दक्ष रहेका प्रहरी सहभागी गराई विशेषज्ञ टोली गठन गर्ने तयारी भएको हो।

मन्त्रालयमा बुधबार दिनभर गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, मन्त्रीका सल्लाहकारद्वय सूर्य सुवेदी र डा. इन्द्रजित राई तथा मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीबीच यस विषयमा छलफल भएको हो। प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यातको संयोजकत्वमा गठन भएको ‘तत्काल अनुसन्धानमा खटिएका प्रहरीमाथिको छानबिन तथा अनुसन्धान टोली’ ले अहिलेसम्म ठोस प्रतिवेदन दिएको छैन। देशव्यापी चासोको विषय बनेको निर्मला हत्या घटनाले यसले प्रहरीको विश्वसनीयतामा प्रश्न खडा गरेको र गृह मन्त्रालय तथा सरकारलाई नै दबाब महसुस भएकाले प्रहरीकै विशेषज्ञ टोली बनाएर अनुसन्धान गर्नुपर्ने मन्त्रालयको ठहर छ। गृहमन्त्री थापाले यो विषयमा सबै संयन्त्र परिचालन गरी हत्यारा पत्ता लगाउन विशेषज्ञ टोली बनाउने प्रस्ताव गरेका थिए। बैठक स्रोतका अनुसार मन्त्रीले नै सो प्रस्ताव गरेपछि त्यस विषयमा गृहसचिव राई तथा मन्त्रालयका प्रवक्ता सुवेदीले कसरी जान सकिन्छ भनेर आइजी खनाललाई प्रश्न गरेका थिए। तीन घण्टाभन्दा बढी चलेको सो छलफलमा प्रहरी महानिरीक्षक खनालले तत्काल सिआइबीबाटै अनुसन्धान भइरहेकाले यसलाई प्रभावकारी बनाइने बताए पनि बैठकमा सहभागीले मन्त्रीको प्रस्तावलाई नै जोड दिएको स्रोतले जनाएको छ। गृहमन्त्री थापाको प्रस्तावमा लामै छलफल भए पनि विशेषज्ञ टोली भने बनाइएको छैन। प्रहरी महानिरीक्षकले सो विषयमा प्रहरीकै अपराध अनुसन्धान विभागसँग समन्वय गरी गृह मन्त्रालयसँग छलफलमा बस्ने बताएपछि बैठक टुंगिएको मन्त्रालय स्रोतले जनाएको छ।

देशव्यापी चासोको विषय बनेको निर्मला हत्या घटनाले यसले प्रहरीको विश्वसनीयतामा प्रश्न खडा गरेको र गृह मन्त्रालय तथा सरकारलाई नै दबाब महसुस भएकाले प्रहरीकै विशेषज्ञ टोली बनाएर अनुसन्धान गर्नुपर्ने मन्त्रालयको ठहर छ।

देशव्यापी रुपमा सरकारको आलोचना भएको र प्रहरीको कार्यक्षमतामाथि प्रश्न उठेको बेला अनुसन्धानको दायरा फराकिलो पार्ने उद्देश्यले गृह मन्त्रालयबाट यस्तो प्रस्ताव आएको स्रोतले बतायो। निर्मला पन्तको तस्बिर अंकित पोस्टरमा ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने नारा देशव्यापी भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकृष्ट भएकाले निर्मलाको हत्यारा पत्ता लगाउने विषयमा विशषेज्ञ टोली बनाउने जमर्को भएको हो। ‘अपराधको अनुसन्धान गर्ने प्रहरी नै भएकाले अहिले खटिएका भन्दा अब्बल प्रहरी खटाउन सकिन्छ कि भनेर छलफल थालिएको हो’, मन्त्रालय स्रोतले भन्यो, ‘यो विषयमा तीन चार दिन यता मन्त्रालयमा छलफल भइरहेको छ, छलफलमा मन्त्रीज्यू आफैं सहभागी हुनहुन्छ।’

यसअघि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा बनाएको छानबिन समितिले प्रहरीको लापरबाहीका कारण हत्यारा उम्किएको जनाउँदै दोषी प्रहरीमाथि प्रहरी नियमावलीअनुसार कारबाही गर्न सिफारिस गरेको थियो। सोही अनुसार प्रहरी प्रधान कार्यालयको सिफारिसमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख एसपी दिल्लीराज बिष्ट र इलाका प्रहरी कार्यालयका प्रमुख जगदीश भट्टलाई बर्खास्त गरिएको छ। अनुसन्धानमा खटिएका डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकीन्द्र खड्का, सई हरिशरण धामी, असई रामसिंह धामी र चाँदनी सावदलाई निलम्बनमा राखिएको छ। प्रहरीले त्यसयता अनुसन्धानको क्रममा एसपी बिष्टसहित नौजनाको डिएनए परीक्षण गरिसकेको छ भने अनुसन्धानका लागि सिआइबीले कञ्चनपुरबाट केही दिनअघि सातजनालाई काठमाडौं ल्याएको थियो। अनुसन्धानपछि ६ जना फिर्ता भइसकेका छन भने एकजनालाई सिआइबीले थप अनुसन्धानका लागि हिरासतमा राखेको छ। निर्मलाको भेजिनल स्वाब सुरक्षित भेटिएपछि प्रहरीले अनुसन्धानको दायरा डिएनए परीक्षणसम्म पु-याएको छ। हालसम्म डिएनए परीक्षण गरिएको व्यक्तिको रिपोर्ट भने नकारात्मक छ।

मन्त्रालयका सहसचिव मैनाली संयोजकत्वमा बनेको समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामूहिक बलात्कार भएको आंशका गरेको थियो। प्रहरी प्रधान कार्यालयले विभिन्न कोणबाट घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

घटनाक्रम
१० साउन : निर्मलाको हत्या
११ साउन : शव भेटिएपछि कञ्चनपुर प्रहरीबाट अनुसन्धान सुरु
१२ साउन : सिआइबीबाट डिएसपी अंगुर जिसी खेतृत्वमा खटिएको तीन सदस्यीय टोली कञ्चनपुरमा
४ भदौ : कञ्चनपुर प्रहरीले स्थानीय दिलीप बिष्टलाई दोषी भन्दै सार्वजनिक
७ भदौ : गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा सातसदस्यीय छानबिन समिति गठन
८ भदौ : सिआइबीका एसपी ठाकुर ज्ञवाली कञ्चनपुरमा
८ भदौ : आन्दोलनका क्रममा प्रहरी गोली लागेर सन्नी खुनाको मृत्यु
२८ भदौ : एआइजी धिरु बस्न्यातको संयोजकत्वमा नौ सदस्यीय छानबिन तथा अनुसन्धान टोली गठन

प्रकाशित: २० मंसिर २०७५ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App