२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

भित्र रविसँग साढे ५ घण्टा लामो बयान, बाहिर पीडितहरुको ‘बचत फिर्ता देऊ’ नारा

रास्वपाका सभापति रवि लामिछानेसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार करिब साढे ५ घण्टा लामो बयान लिएको छ।

बुधबार पनि लामिछानेको बयान जारी रहने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जनाएको छ। लामिछानेले आफू सुप्रिमको सदस्य पनि नभएको र ऋणी पनि नभएको दाबी सहितको इन्कारी बयान दिएको बताइएको छ।

आफ्नो नाममा कसले पैसा जम्मा गरिदियो भन्नेबारे जानकारी नभएको भन्दै उनले जिवीलाई पक्राउ गरे वास्तविकता पत्ता लाग्ने बयान दिएको स्रोतको दाबी छ।

गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका हुन। बयानका क्रममा लामिछाने सहज रुपमा प्रस्तुत हुने प्रयास गरेपनि सहकारीको रकम आफूले नलिएको र ऋण माग नै नगरेको दोहोर्‍याएको स्रोतको दाबी छ।

मंगलबारको बयान सकेर निस्कँदै गर्दा लामिछानेले आफूमा अझै आत्मबल कमजोर नभएको सन्देश संचारकर्मी मार्फत दिन खोजेका थिए। सुरक्षा घेराको बिचबाटै लामिछानेले भने ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन’। त्यस लगत्तै सुरक्षाकर्मीले उनलाई रोकेर अगाडी बढाएका थिए।

लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन। सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको १४ करोड २९ लाख मध्ये २ करोड लामिछानेकै नाममा निकालिएको यसअघिका अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

सोही मुद्दामा  कात्तिक ८ गते जिल्ला अदालत रुपन्देहीले लामिछाने सहितका १२ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। लामिछानेलाई सोही मुद्दामा छानबिनका लागि रुपन्देहीमा बयान लिइएको हो। उनी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कात्तिक २ गते देखि कास्की प्रहरीको हिरासतमा थिए।

गोर्खा मिडिया मार्फत बुटवलको सुप्रिम सहकारीको रकम अपचलनका सम्बन्धमा उनीसँग बयान लिइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताए। बयान सकिए बुधबार नै उनलाई कास्की पठाइने एसपी राठौरले जानकारी दिए। लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो साढे १२ बजे बुद्ध एयरको जहाजमा भैरहवा ल्याइएको थियो। 

लामिछानेलाई भैरहवा ल्याउँदा विमानस्थल बाहिर रास्वपाले विरोध प्रदर्शन गरेको थियो। लामिछाने निर्दोष हुँदा हुँदै राजनीतिक प्रतिशोधकालागि प्रहरी हिरासतमा राखिएको भन्दै प्रदर्शनकारीहरुले सरकार विरुद्ध नारा लगाएका थिए।

भैरहवामा सहकारी पीडितहरूले पनि दोषीलाई कारबाही गर्न र बचत कर्ताको रकम फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए।

ती दुवै प्रदर्शनलाई छल्दै प्रहरीले लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगेर बयान लियो। बयानका क्रममा प्रहरीले सरकारी वकिलको कार्यालय र जिल्ला अदालत वरपर ठुलो संख्यामा प्रहरी तैनाथ गरी अघोषित रुपमा निषेध क्षेत्र बनाएको थियो। लामिछाने मंगलबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा बस्नेछन्।

रविको सुप्रिम कनेक्सन

गोर्खा मिडिया नेटवर्क गितेन्द्रबाबु (जीवी) राईको कम्पनी हो। गोर्खा मिडियाको अध्यक्ष जीवी राई र उपाध्यक्ष छविलाल जोशी हुन। सुरुमा गोर्खा मिडिया नेटवर्क प्रालिमा जीवी राई र पूर्व डिआइजी छविलाल जोशी बन्जाडे शेयर सदस्य रहेको देखिन्छ। त्यही गोर्खा मिडिया नेटवर्कले २०७७ को फागुनमा ग्यालेक्सी टिभी सञ्चालनमा ल्याएको थियो। त्यही टिभीमा जोडिन आए लामिछाने।

केही समय काम गरेपछि २०७८ को पुषमा लामिछाने प्रबन्ध निर्देशक बनेका थिए। लामिछाने १ लाख ८० हजार कित्ता शेयर सहित प्रबन्ध निर्देशक बनेका थिए। लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोर्खा मिडिया नेटवर्कमा बुटवलको सुप्रिम सहकारीबाट ठुलो रकम गैरकानुनी रुपमा ऋण लगेर खर्च गरियो।

बुटवलमा केन्द्रीय कार्यालय रहेको सुप्रिमबाट कानुन विपरीत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा १४ करोड २९ लाख रकम कम्पनी र विभिन्न व्यक्तिका नाममा ऋण लिएर अपचलन गरेको यसअघि भएको अनुसन्धानले देखाएको छ।

सो रकम मध्ये रवि लामिछानेको नाममा मात्रै १ करोड ९६ लाख रुपैयाँ ऋण सुप्रिम सहकारीबाट गएको देखिएको अनुसन्धान प्रतिवेदनमा औँल्याइएको छ। सोही मुद्दामा अनुसन्धानकालागि लामिछाने रुपन्देही तानिएका हुन।

यसअघि गरिएको अनुसन्धान प्रतिवेदन अनुसार सुप्रिमबाट २ करोड रुपैयाँ रविको नाममा व्यापार कर्जा २०७७ को चैत १८ मा स्वीकृत गरेर लगेको देखिन्छ। जसमा संस्थाको सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा गरेको कागजात फेला परेको उल्लेख छ। सो भौचर सदर गर्नेमा सुप्रिमको बुटवल कार्यालयका व्यवस्थापक सागर केसी र रकम जम्मा गर्ने रोशनी गुरुङ हुन। रोशनी लेखा शाखाकी कर्मचारी हुन।

बुटवलको राजमार्ग चौराहमा केन्द्रीय कार्यालय रहेको सुप्रिम सहकारीमा १० हजार ३ सय ९१ बचतकर्ता छन्। ती बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम जीवी राई को समूहले अपचलन गरेको भन्दै २०७९ सालमा इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी पर्न सुरु भएको थियो। सहकारीका १ हजार ८३१ बचतकर्ताले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन्। तीनै उजुरीका आधारमा करिब ९ महिना अघि देखि सुप्रिम ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ।

यसअघि कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डिआइजी तथा गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीलाई पनि सुप्रिम सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान गराएर कास्की पठाइएको थियो।

अहिले सम्म सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले दुई पटक गरी ४० जनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ।

कात्तिक ८ गते लामिछाने, पूर्व डिआइजी जोशी लगायतका १२ जना विरुद्ध संगठित अपराध अन’सन्धान मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो।

त्यसअघि गत वैशाखमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही मार्फत सुप्रिमका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, अध्यक्ष ओमप्रकाश गुरुङ, व्यवस्थापक सागर केसी, सचिव दिपेश पुन, लगायतका २८ जना विरुद्ध मुद्दा दायर भएको थियो।

ती मध्ये ७ जना पक्राउ परेका थिए। पक्राउ परेमा मध्ये अध्यक्ष गुरुङलाई पुर्वपक्षकालागि थुनामा पठाइएको छ। सचिव दिपेश पुन सहितका ६ जना धरौटीमा छुटे। जीवी राई, सागर केसी सहितका १९ जना विरुद्ध पनि जिल्ला अदालतले पक्राउ पुर्जी गरेको थियो। तर उनीहरु अहिले सम्म पक्राउ परेका छैनन्।

२०५७ सालमा दर्ता भएर सुषुप्त अवस्थामा रहेको बुटवलको मैत्रेय बचत तथा ऋण सहकारी संस्थालाई २०७२ सालमा गितेन्द्रबाबु (जीवी) राई को समूहले नाम परिवर्तन गरी सुप्रिम सहकारी बनाएको थियो। तत्कालीन समयमा मैत्रेय सहकारीको अध्यक्ष ओमप्रकाश  गुरुङ थिए। राईले गुरुङलाई हात लिएर सहकारीको नाम परिवर्तन गरी आफू अध्यक्ष बने। सुरुमा राई अध्यक्ष र गुरुङ उपाध्यक्ष थिए। २०७६ मा साधारण सभा गरी गुरुङलाई अध्यक्ष बनाइयो, राई संरक्षक बसे। पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सचिव बने।

सुप्रिमले स्थापनाको छोटो समयमै धेरै व्याज र विभिन्न अफरको प्रलोभनमा पारेर ठुला व्यापारी, सरकारी कर्मचारी, शिक्षक, बैंकका जागिरे देखि साना व्यवसायी, वृद्ध वृद्धा, एकल महिला निर्माण मजदुर सम्मलाई सदस्य बनाएर रकम जम्मा गर्न सफल भयो।

तर सर्वसाधारणबाट त्यसरी जम्मा गरेको रकमको ठुलो हिस्सा जिवीको समूहले संगठित रुपमा अपचलन गरेपछि हजारौं बचतकर्ताहरु निकै मर्कामा परेका छन्। खाइनखाइ जम्मा गरेको बचत रकम सहकारीमा डुबेपछि पीडितहरू सङ्घर्ष समिति बनाएर सडकमा आन्दोलन गर्न बाध्य छन्। उनीहरुले मंगलबार पनि भैरहवामा प्रदर्शन गर्दै दोषीलाई कारबाहीसँगै आफूहरुको बचत रकम फिर्ता पाउनु पर्ने माग गरेका हुन। सुप्रिम पीडित सङ्घर्ष समितिका संयोजक विजय नेपालले आफूहरुको बचत रकम फिर्ता दिने तर्फ सरकारले विशेष पहल गर्नु पर्नेमा जोड दिए।

प्रकाशित: २७ कार्तिक २०८१ २०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App