८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

२३ वर्षसम्म पनि बनेन भित्रीखोला सिँचाइ कुलो

अलपत्र परेको भित्रीखोला सिँचाइ कुलोको एक खण्ड। तस्बिर: ललित/नागरिक

दैलेखमा एक योजना दुई दशकदेखि अलपत्र छ। दैलेखको आठबीस नगरपालिका-५ तोलिचाखास्थित भित्रीखोला सिँचाइ कुलो योजना काम सुरु भएको २३ वर्षसम्म पनि पूरा भएको छैन।

भित्रीखोला सिँचाइ कुलो निर्माण अलपत्र पर्दा भेरीखोर, सुंगरखाल, बाजथला र तोलिचाखाका आठ सय धुरीका किसानले आकाशे पानीको भरमा खेती गर्दै आएका छन्। सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जग्गा बाँझो बन्दै गएको छ।

२०५८ सालमा जनश्रमदानबाट सुरू गरिएको उक्त योजनामा २०७७ सालसम्म झन्डै ७० लाख रूपैयाँ खर्च भइसकेको छ। कुलोको ३० प्रतिशत मात्र काम भएको छ। २०७७ सालयता बजेट विनियोजन हुन छाडेपछि उक्त सिँचाइ योजना अलपत्र परेको स्थानीय नैनबहादुर शाहीले बताए।

‘सुरुसुरुमा पटकपटक केही बजेट आयो, काम सुरु पनि भयो, अहिले बजेट पनि आउन छोड्यो’, उनले भने, ‘कहिल्यै पनि सिँचाइ कुलोका लागि पर्याप्त बजेट आएन। सबैजसो दलका नेतालाई योजना पूरा गर्न कैयौंपल्ट आग्रह गरियो तर कसैले वास्ता गरेनन्। अहिले बजेट अभावले काम रोकिएको छ।’

यस क्षेत्रका किसानले अहिले पनि आकाशे पानीको भरमा खेती गर्दै आएका छन्।

अहिले सिँचाइ योजनाअन्तर्गत खनिएको कुलोको आधाभन्दा बढी भाग पुरिएको छ। पहिला गरिएको काम र पाइप लाइनसमेत पहिरोले बगाएको छ। योजनाअनुसार झन्डै ६ किलोमिटर टाढाबाट पानी ल्याएर सुंगरखाल, बाजथला र तोलिचाखामा सिँचाइ सुविधा पुर्‍याउने योजनाको लक्ष्य हो।

सिँचाइ कुलो निर्माण अलपत्र पर्दा किसान समस्यामा परेको स्थानीय महेराम मिजारले बताए। उनका अनुसार आसपासको झन्डै दुई हजार रोपनी जग्गामा सिँचाइ सुविधा पुर्‍याउने गरी योजना सुरू गरिएको थियो। तर योजनाले २३ वर्ष पुग्दा पनि पूर्णता पाउन सकेको छैन।

सिँचाइ सुविधा भए जग्गामा तीन बालीसम्म लगाउन सकिने उनले बताए। ‘मैले नै कुलोमा श्रमदान गरेको थिएँ,’ उनले भने, ‘योजना पूरा नहुँदा एकातिर हाम्रो श्रमदान खेर गयो अर्कोतिर सरकारी बजेटको पनि दुरूपयोग भयो। हामीले अझैसम्म सिँचाइ गर्न पाएका छैनौं।’

सिँचाइ अभावमा खेत पाखो बारीमा परिणत भएको गुनासो उनले गरे। उनका अनुसार सिँचाइ नभएपछि जग्गा बाँझिने क्रम बढिरहेको छ।

किसानले आकाशे पानीको भरमा मात्र खेती लगाउँदै आएका छन्। ‘सिँचाइ सुविधा नहुँदा अधिकांश खेत बाँझिँदै गएका छन्,’ स्थानीय नवीन विष्टले भने, ‘सिँचाइ नपाएर उर्बर फाँट रूखो बनेको छ।’

विगतमा गाउँमा उत्पादित अन्न जिल्लामा पठाउने गरिन्थ्यो तर अहिले बाहिरबाट किनेर ल्याउनु परेको उनले बताए। वर्षभरि खान पुग्ने खेत बाँझै भएपछि जीविकोपार्जनमा समस्या भएको किसान लालप्रसाद जैसीले बताए। ‘परम्परागत खेतीमा निर्भर छौं,’ उनले भने, ‘सिँचाइ भए व्यावसायिक तरकारी खेती पनि गर्न सकिन्थ्यो।’ राजनीतिक पहुँच नहुँदा सिँचाइँ कुलोको काम अलपत्र परेको उनले बताए।

सिँचाइ अभावमा बर्सेनि खाद्यान्न अभावको समस्या भोग्नुपरेको स्थानीयको भनाइ छ।  

आठबीस नगरपालिका-५ का वडाध्यक्ष बजिरसिंह विकले पुरानो योजना भएकाले संघीयतापछि योजनामा कुनै पनि निकायले बजेट विनियोजन गर्न नमानेको बताए। सडक छेउको सिँचाइ योजना भएकाले अधिकांश कुलो सडकले पुरिसकेको छ।

‘वडामा आउने सानो बजेटले ठुलो सिँचाइ योजना निर्माण गर्न सकिन्न,’ उनले भने, ‘प्रदेश र संघीय सरकारका विभिन्न निकायसँग पटक–पटक बजेट माग गरे पनि बेवास्ता भयो।’

अलपत्र परेका पुराना योजनामा माथिल्ला निकायबाटै स्थगित भएकाले पछिल्ला वर्षमा बजेट नपरेको खानेपानी तथा उर्जा विकास कार्यालय दैलेखका प्रमुख टोपेन्द्र सुन्दर मल्लले बताए। यो योजनाका बारेमा भखैर मात्र आफूले जानकारी पाएको उनले बताए। अहिले मर्मतका लागि बजेट माग गर्न सकिने भएकाले आफूले माथिल्लो निकायमा पहल गर्ने उनले बताए।

आठबीस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवाले लामो समयसम्म योजना पूरा नहुँदा जटिलता थपिएको बताए। उनले यो योजनामा संघीय सरकारले चासो दिनुपर्ने बताए। यसका लागि पालिकाको तर्फबाट पहल भइरहेको उनको भनाइ छ।

प्रकाशित: १२ कार्तिक २०८१ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App