८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

गुमनाम आफन्तका कथा वरपीपलको रूखमुनि ‘बेपत्ता श्रीमानकाे याद’

जंगलको बिचमा वरपीपलको रूखवरिपरि फूल फुलेको देखेपछि गोठालाहरू दंग परे। घनघोर जंगलको बिचमा रहेको अजंगको रूखमुनि ठुलो ढुंगामा पूजासमेत गरिएको अकल्पनीय दृश्यले त्यहाँ जाने स्थानीय आश्चर्यचकित परे। हाम्रो समाज न पर्‍यो। देख्नेले चियोचर्चा सुरु गरे।

एक महिला नित्य रूपमा बिहानै आएर वरको रूखमुनि राखिएको ढुंगामा जल, फूल चढाएर फर्कन्थिन्। यो खबर एक कान दुई कान मैदान गाउँभरि फैलियो। स्थानीय जगमोहनी थरूनीले उक्त रूखमुनि जलसँगै फूल चढाउने र सरसफाइ गर्ने गरेको थाहा भयो। घरपरिवारसमेत अनभिज्ञ यो दैनिकीले रूखसँगै जंगलको परिचय पनि फेरियो।

पञ्चायतकालमा थारू युवाहरू बँधुवा मजदुरी र कमैया प्रथाविरुद्ध आवाज उठाउन थाले। पछाडि पारिएको थारू समाजभित्रका इमानदार र मेहनती युवाले दाङबाट प्रकाशन हुने गोचाली पत्रिकामा लेख्न थाले।

२०२८ सालको पञ्चायतकालमा प्रकाशन हुने गोचाली पत्रिकामाथि प्रतिबन्ध लगाइयो। चेतनाको ज्वाला बाल्न जगमोहनीका पति सगुनलाल चौधरीले यही चौपारीमा बसेर थारूका कथा अनि चेतना र समाज जागरणका कुरा लेख्थे। उनी गोप्य रूपमा यहाँ आएर बस्ने–लेख्ने गरेको पत्नी जगमोहनीलाई मात्र थाहा थियो।

माओवादी द्वन्द्व चर्किरहँदा २०५८ पुस १२ मा तत्कालीन सरकारी सुरक्षाकर्मीले जगमोहनलाई बेपत्ता बनाएपछि पतिको यादमा उनले वरपीपलको रूखमुनि एउटा ठुलो ढुंगा राखेर जल र फूल चढाउन सुरु गरेकी हुन्।

पञ्चायतको विरोध गरेका कारण धनगढी जेलमा एक वर्ष बिताएर २०३१ सालमा गाउँ फर्किएपछि जगमोहनको पहलमा जनसेवा मावि स्थापना गरेर त्यहीं पढाउँदै समाजलाई चेतना फैलाउन सुरु गरेका थिए। छट्टु समाजका चलाख वर्ग श्रम शोषण गर्थे, त्यसविरुद्ध उनी आवाज निकाल्थे, जसको दुस्परिणाम उनी आज पनि बेपत्ता छन्।

‘बुबाको यादमा आमा यहाँ आउने गरेको परिवारलाई पनि थाहा थिएन। आमाले निरन्तर फूल र जल चढाउने यो ठाउँमा फूलको बगैंचा बनेछ। २०६६ मा म वनको अध्यक्ष बनेपछि स्मृति पार्क निर्माण सुरु गरिएको हो।’

जगमोहनीका छोरा निरञ्जनकुमार चौधरीले भने, ‘अहिले यो रूख स्मृति रूख भनेर चिनिन्छ। यहाँ धेरै परिवारले एकएकवटा ढुंगा ल्याएर राख्नुभएको छ । आफन्तको स्मरणमा यहाँ आएर जल र फूल चढाउनुहुन्छ।’

बारबर्दिया नगरपालिका– १० सेम्रहवामा रहेको कुम्भर अड्डा बेपत्ता योद्धा स्मृति पार्क यतिबेला पर्यटकको पर्खाइमा छ भने बेपत्ता परिवार आफन्तको अवस्था थाहा पाउने अपेक्षामा छ। ‘यही जंगलमा स्मृति रूखको अलिपर अर्को ठुलो मानवनिर्मित स्मारक छ, जहाँ बगैंचा, पोखरी अनि वनभोजस्थल पनि छ। स्मारकमा बेपत्ता हुँदाको समयको अवस्था चित्रण गरिएको छ।’ निरञ्जनले भने, ‘पीडित परिवार यहाँ आउँदा गर्व गर्छौं। के गर्दा, कुन अवस्थामा कस्ता मान्छे बेपत्ता पारियो त्यो सबै उल्लेख छ।’

नियालेर हेर्दा पढाउँदै गर्दा, हलो जोत्दै गर्दा, सुतेको समयमा बेपत्ता पारिएकाको बुट्टामार्फत चित्रण गरिएको देख्न सकिन्छ। ‘हरेक वर्ष ३० अगस्टमा बेपत्ता दिवसमा सबैले आफन्त सम्झन्छौं।’ १६ जना माओवादी र दुई सय ४२ सरकारी पक्षबाट गरी दुई सय ५८ जना बर्दियामा बेपत्ताको सूचीमा छन्।

३५ हेक्टर अर्थात् ५२ बिगाह क्षेत्रफलमा रहेको यो पार्कभित्र संग्रहालय, कोसेली घर, क्यान्टिनसमेत रहेको छ। प्रतिव्यक्ति प्रवेश शुल्क २० रूपैयाँ लिइने यहाँ निर्माण कार्य पहिलेदेखि सुरु भए पनि २०७४ सालदेखि पार्क भनेर चिनिन थालेको हो। पार्क व्यवस्थापनसमेत गर्दै आएका निरञ्जनका अनुसार यहाँ सरदर दैनिक ५०/६० जना आन्तरिक पर्यटक आउँछन्।

‘अरू जिल्लाका बेपत्ता परिवारका सदस्य आउँदा हामीकहाँ पनि यस्तै बनाइदिए हुन्थ्यो भन्छन्।’ उनले भने, ‘स्थानीय तह, प्रदेश र संघीय सरकारको सहयोग अनि समुदाय र बेपत्ता परिवारहरूको अग्रसरतामा पार्कलाई यो रूपमा ल्याउन सफल भएको हो।’

महिला, शान्ति र र सुरक्षासम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना सम्पन्न गर्न सरकारले राष्ट्रसंघमा हस्ताक्षर गरेपछि उक्त कार्ययोजना सफल बनाउन नागरिक आवाज ललितपुरको आयोजनामा नेपालगञ्जमा सम्पन्न प्रशिक्षक प्रशिक्षण तालिमका सहभागीहरूले उक्त पार्कमा पुगेपछि द्वन्द्वपीडितको मागका आधारमा यस्ता प्रकृतिका स्मृतिहरूको आवश्यकता रहेको बताएका थिए।

प्रकाशित: २४ श्रावण २०८१ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App