८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

नुन पाउन पनि नागरिकता !

हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन्। सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पाेरेसन शाखा कार्यालयले उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन वितरण गर्दै आएको हो।  

उनीहरुलाई नागरिकताका आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पाेरेसन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए। उनका अनुसार एकजनाबाट कुल ९० रुपैयाँ लिने गरिएको छ। ‘यसरी प्रतिकिलो नौ रुपैयाँ पर्दछ। एक बोरामा पचास प्याकेट नुन हुन्छ। त्यसको मूल्य चार सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ’, उनले भने।

प्रमुख लामाका अनुसार प्रत्येक साताको आइतबार शाखा कार्यालयको वितरण केन्द्रमा नागरिकता पेस गरेपछि नुन वितरण गरिन्छ। सदरमुकाम सिमकोटमा तीन पालिकासहित जिल्लाभरका नागरिक बसोबास गर्दै आएकाले वार्षिक कोटाले अपुग हुने देखिएपछि नागरिकताका आधारमा १० किलो वितरण गर्न थालिएको उनको भनाइ छ।

लामाका अनुसार आर्थिक वर्ष २०८०-८१ का लागि जिल्लामा एक हजार पाँच सय क्विन्टल नुन आइपुगेको छ। जिल्लामा आइपुगेको नुन सम्बन्धित पालिकाका जनप्रतिनिधिको जिम्मा दिएर वितरण गरिने उनले बताए।

झन्डै १८ दिन बसेर दक्षिण भेगमा रहेका पालिकाका नागरिकलाई नुन वितरण गरिएको भन्दै चंखेली गाउँपालिकामा तीन सय ८७, सर्केगाडमा चार सय ८५, अदानचुलीमा चार सय ८५ र ताँजकोटमा चार सय क्विन्टल नुन वितरण गरिएको उनले जानकारी दिए।

जिल्लामा पछिल्लो समय ढिके नुनको प्रयोग हट्दै गएको लामाले बताए। चंखेली– ५ को नेप्का र उत्तरी नाम्खा– ६ को लिमीमा मात्रै ढिके नुन प्रयोग हुँदै आएको उनले जानकारी दिए। जिल्लाका अन्य स्थानीय तहमा रहेका वडामा ढिके नुन प्रयोगमा कमी हुँदै गएको साल्ट ट्रेडिङ कर्पाेरेसन शाखा कार्यालयले जनाएको छ। –रासस

प्रकाशित: २६ चैत्र २०८० १३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App