९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङमा सम्बन्ध विच्छेदका घटनामा नयाँ रेकर्ड

पारिवारिक विग्रहका रूपमा लिइने सम्बन्ध विच्छेदका घटनाले ताप्लेजुङमा नयाँ रेकर्ड कायम गरेको छ। चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो चौमासिक अवधि (साउन-मंसिर) मा अदालतमा दर्ता भएका मुद्दामध्ये ५४ प्रतिशत सम्बन्ध विच्छेदका रहेका छन्।

ताप्लेजुङ जिल्ला अदालतका स्रेस्तेदार मनोज बरालका अनुसार चालु आवको पहिलो चौमासिक अवधिमा अदालतमा एक सय ३८ थान नयाँ मुद्दा दर्ता भएका छन्। तीमध्ये ७५ थान मुद्दा सम्बन्ध विच्छेदका रहेको अदालतले जनाएको छ।

अघिल्लो आवबाट चालु आवमा जिम्मेवारी सरी आएका एक सय ४० थान मुद्दामध्ये ४१ थान सम्बन्ध विच्छेदका छन्। आव २०७९।८० को एकबर्से अवधिमा अदालतमा दर्ता भएका मुद्दामध्ये ४४ प्रतिशत हाराहारी सम्बन्ध विच्छेदका थिए।

चालु आवको मंसिर मसान्तसम्मको मुद्दाको अवस्था हेर्दा यही प्रकृतिका मुद्दाले निरन्तरता पाए सम्बन्ध विच्छेदका मुद्दाले अघिल्लो आवको रेकर्ड तोड्ने देखिएको छ। सम्बन्ध विच्छेद श्रीमान-श्रीमतीबीचको वैवाहिक नाता सम्बन्धबाट दायित्वरहित तवरले अलग हुने कानुनी आधार हो।

यसलाई प्राचीन समयमा पारपाचुके वा छोडपत्र भनिन्थ्यो। अहिले परिस्कृत रूपमा सम्बन्ध विच्छेद भन्ने गरिन्छ। अंग्रेजीमा ‘डिभोर्स’ भनिने यही शब्द अहिले नेपालीमा पनि बढी प्रचलित छ।

मुलुकी देवानी संहिता २०७४ को दफा ९४ मा पतिले र दफा ९५ मा पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी प्रावधान उल्लेख गरिएको छ। कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति-पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान-लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अंग-भंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमका कुनै काम वा जाल-प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी प्रावधान रहेको छ।

यस्तै कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति-पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा र पतिले पत्नीको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल–प्रपञ्च गरेमा सम्बन्ध विच्छेद गर्न पाउँछिन्।

यस्तै पतिले अर्को विवाह गरेमा, पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा पनि सम्बन्ध विच्छेद प्रक्रिया बढ्ने कानुनी आधार सिर्जना हुन्छ।

३५ प्रतिशत मुद्दा फस्र्यौट

ताप्लेजुङ जिल्ला अदालतले पहिलो चौमासिक अवधिमा ३५ प्रतिशत हाराहारी मुद्दाको फस्र्यौट गरेको जनाएको छ। नयाँ लगत दर्ता भएका एक सय ३८ र जिम्मेवारी सरी आएका एक सय ४० गरी कुल दुई सय ७८ थान मुद्दामध्ये यो अवधिमा ९६ जना मुद्दा फस्र्यौट भएको अदालतले जानकारी दिएको छ।

प्रकाशित: १ पुस २०८० ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App