जुत्ताचप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले हेर्ने प्रवृत्ति हाम्रो समाजमा अहिलेसम्म पनि छैन। जुत्ताचप्पल सिलाउने मात्रै नभई मजदुरी गर्ने विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्दै राख्दैन। समाजमा इज्जत नहुने हुनाले यस्ता काम गर्न मजदुरले पनि रुचाउँदैनन्। यस्तो सामाजिक धारणाविपरीत जुम्लाको चन्दननाथ नगरपालिका–४, सिंगाचौर गाउँका ६४ वर्षीय चन्द्रमणि नेपाली भने जुत्ताचप्पल व्यवसायकै कारण समाजमा परिचित छन्। उनले दुई वर्षअघिदेखि यो व्यवसाय गर्दै आएका छन्।
जुत्ताचप्पल सिलाउने व्यवसाय चन्दमणिका बाजे र बुबाले पनि गर्थे। उनी भन्छन्, ‘यो पुख्र्यौली पेसा हो। च्यातिएका पुराना जुत्ताचप्पल हातमा लिएर सियोधागोले सिलाएको देख्दा धेरैले थु–थु र छिः छिः गर्थे,’ उनले भने, ‘अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि सबैले प्रशंसा गर्न थालेका छन्।
जुम्लाको सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयअगाडि एक काठको कच्ची घरको सानो कोठामा सियो र धागोबाट सुरु गरेको व्यवसाय अहिले पुरै प्रसंशा हुने तरिकाले चलाएका छन्। विदेशतिर जानुभन्दा गाउँघरमै केही गरौं भन्ने मनसायले पुराना च्यातिएका फाटेका जुत्ताचप्पल सिलाउने कार्य सुरु गरेको र अहिले यसैबाट राम्रो आम्दानी गर्न सफल भएको उनी बताउँछन्।
काम सानोठुलो भन्ने हुँदैन, हातमा सिप भयो भने जुत्ताचप्पल सिलाएर लाखौं कमाउन सकिने उनको अनुभव छ। बिहानदेखि राति अबेरसम्म पसलमा जुत्ताचप्पल सिलाएरै समय बितिरहेको छ। व्यवसाय फस्टाउँदै गएको उनको दाबी छ। यसै व्यवसायबाट छोराछोरीलाई उच्च शिक्षा, परिवारको खर्च सजिलै धान्दै आइरहेको उनको भनाइ छ। उनले भने, ‘दैनिक आठ सयदेखि हजार रूपैयाँसम्म कमाइ हुन्छ र घरपरिवारको लत्ताकपडा, नुनतेल, मिठोमसिनो सबै यसैबाट चल्छ। ‘अहिले त सबै महँगो छ,’ उनले गुनासो पोखे। घरपरिवारको गुजारा सबै खर्च कटाएर मासिक सातदेखि आठ हजार रूपैयाँ बढी आम्दानी गर्न सफल भएको उनले बताए।
समाजले के भन्छ भनेर बसियो भने जीवनमा प्रगति गर्न सकिँदैन, आफूले जे काम जानियो, त्यही काम गर्ने हो, परिवारको साथमा बसेर मैले जुत्ताचप्पल सिलाएरै राम्रो कमाइ गरेको छु, यसमै म सन्तुष्ट र खुसीसाथ जीवन व्यतीत गरिरहेको छु,’ उनले भने। काममा इमानदारिता र मेहनत गरियो भने पैसा कमाउन दुःख छैन भन्दै उनी पुराना जुत्ता मर्मत र नयाँ जुत्ता आफैंले तयार पार्ने गरेको बताउँछन्। दैनिकजसो ६० भन्दा बढी ग्राहक पसलमा सेवा लिन पुग्छन्। सानो लगानीमा परिवारको साथमा रमाउन पाउँदा धेरै खुसीका साथ जीवन अगाडि बढेकोमा यस व्यवसायमा उनी गौरव गर्छन्। ग्राहकको भीडले नेपालीलाई काममा अहिले भ्याईनभ्याई छ।
पुराना काम सँगसँगै आफैंले नयाँ जुत्ताचप्पल पनि तयार पार्न थालेपछि व्यापार व्यवसाय बढ्दै गएको छ। नयाँ कामबाट भन्दा पुराना कामबाट धेरै फाइदा लिन सकिने उनको अनुभव छ। मेहनत गरियो भने अरबको खाडीमा कमाएको धनको तुलनामा दोब्बर बढी कमाइ स्वदेशमै कमाउन सकिन्छ भन्ने सबैको उदाहरणीय पात्र बनेका छन् चन्दननाथ नगरपालिका–७ मिचा गाउँका ६७ वर्षीय मानबहादुर सार्की। व्यवसायमा यस क्षेत्रमै सफल पात्रका रूपमा कहलिएका छन्।
आफूले सक्दासम्म व्यवसायलाई धान्ने उनको अठोट छ। उनले विगत ९ वर्षदेखि यो व्यावसाय गरेको सुनाए। सार्की सदरमुकाममा अवस्थित नेपाली सेनाको खेलमैदानको माथिल्लो गेटमा जुत्ता सिलाउने काम गर्छन्। उनले १३ जनाको घरपरिवारको गुजारा गर्दै तीन लाख रूपैयाँ बैंकमा मौज्दात गरेको बताउँछन्। यस्तै चन्दननाथ नगरपालिका–४ का अर्का शान्त सार्की पनि उनको व्यवसायमा रोजगार पाउँदा उत्साहित छन्। विदेशका धेरै ठाउँमा काम गरेर घर फर्केका शान्तले दुई वर्षअघिदेखि यही काम गरी राखेका छन्। उनले दैनिक एक हजारभन्दा बढी रकम कमाइरहेका छन्। ५० हजार रूपैयाँ समृद्ध नेपाल कृषि सहकारी संस्थामा बचत गरेको उनले बताए।
उनीहरू एकै स्वरमा भन्छन्, ‘चोरेर पो खान हुँदैन, सिप कला देखाएर खान केको लाज ? जुम्लाको बसपार्क, एयरपोर्ट, मुख्य बजारको कृष्ण मन्दिर, कालेखोली चोक, जुम्ला क्याम्प चोकआदि ठाउँमा बसेर धेरैले जुत्ताचप्पल सिलाएर आर्थिक उपार्जन गरिरहेका छन्। तर स्थानीय सरकारले यस्तै स्वरोजगार हुने खालका गतिविधिमा लगानी गर्नुपर्ने उनीहरू बताउँछन्। कुनै पनि स्थानीय तहको यस्तो कार्यमा ध्यान गएको पाइँदैन।
प्रकाशित: २३ मंसिर २०८० ०२:२२ शनिबार