कुनै बेला अति विकट, दुर्गम, गरिबी, अशिक्षा र पछौटेपनका हिसाबले परिचित जुम्ला अहिले विस्तारै काँचुली फेर्ने क्रममा छ। जुम्लाका विभिन्न ठाउँमा पुग्ने जोकोहीले पनि प्रत्यक्ष रूपमा यसको अनुभव गर्न थालेका छन्। पहिला र अहिले जुम्ला घुम्न आउने मानिसहरू आफूले सोचेभन्दा बढी विकास भएको देखेर अचम्म मानेको बताउँछन्।
एक दशकअघि र अहिलेको जुम्लामा निकै भिन्नता छ। अहिले जुम्लाका अधिकांश गाउँमा बिजुली उपलब्ध छ। विद्युत्को राष्ट्रिय प्रशारण लाइनले पनि जुम्लालाई छोइसकेको छ। बत्तीले धेरैको जीवनमा परिवर्तन ल्याइदिएको छ। केही समयपछि पातारासी गाउँपालिका–१ गडिगाउँमा नौ सय ९८ किलोवाट क्षमताको विद्युत् आयोजना सञ्चालनमा आउँदैछ। जिल्लामा ७० मेगावाट क्षमताका जवातिला जलविद्युत् आयोजना निर्माणका लागि एक करोड ६० लाख निकासा भएको छ।
यसबाहेक धेरै ठाउँमा सौर्य ऊर्जाको पनि प्रयोग बढ्दो छ। सौर्य ऊर्जाबाटै विद्यालयमा कम्प्युटर पढाइ हुन्छ। जुम्लाका दर्जनौं ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा प्राविधिक धारका विषय पढाइ हुन्छ। कृषि बाली विज्ञान, फरेष्ट्री, जेटिए, ओभरसियरलगायतका विषय घर आँगनमै पढाइ हुने गरेका छन्।
कर्णाली प्राविधिक शिक्षालयले पनि जुम्लालाई चिनाउँदै छ। सौर्य ऊर्जाबाट ‘लिफ्टिङ’ प्रविधि जडान गरी अधिकांश गाउँमा खानेपानी पुर्याइको छ। प्रायः सबैका महिला दिदीबहिनीको बालबालिकाको हातमा मोबाइल फोन देखिन्छ।
पँधेरा, घाँस–दाउरा लिन जाँदा अहिले मोबाइलबाट खबर आदानप्रदान हुन्छ। घाँस, दाउरा पिरलको भारी पुग्यो भने मोबाइलबाट खबर गरी घर फर्कन्छन्। सामाजिक सञ्जाल चलाउँछन्।
केही वर्षअघि जथाभावी खुला शौचका कारण गाउँ पस्न कठिन हुन्थ्यो। अहिले सबैका घरमा शौचालय छन्। गाउँ सफा छन्। मान्छे गरिब छन्, तर शौचालय जाने बानी परेका छन्। यसकारण बिरामी हुनेको संख्या घटेको छ।
पहिला बिरामी पठाउने जुम्ला अहिले डाक्टर पठाउँछ। कर्णाली १० वटा कार्यक्षेत्र रहेको जुम्लाको सदरमुकाममा खलंगामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ। गाउँघर चिट्टिक्क हुँदै गएका छन्।
घरमा शौचालय मात्र छैनन्, प्रायः सबैका घरका भान्सामा आधुनिक चुला छन्। यसकारण कोठाबाट सजिलै धुवाँ बाहिर निस्कन्छ। यसबाट खाना पकाउने भान्सेलाई धेरै सहज भएको छ। आधुनिक चुलो हुँदा दाउरा पनि कम लाग्छ। ‘भान्सामा धुवाँ कम भएपछि हामी पनि गोरा हुँदै गएका छौं,’ चन्दननाथ–४ की मिना चौलागाई बताउँछिन्।
जुम्लाका प्रायः सबै गाउँमा विद्यालय खोलिएका छन्। गाउँका सरकारी स्कुलमा छात्रा र छात्र करिब बराबर संख्यामा पढिरहेका छन्।
विद्यालय छाड्ने विद्यार्थीको संख्या कम छ। यसको अर्थ कम्तीमा पनि १० कक्षासम्म जसरी पनि विद्यार्थीहरू पढेका छन्। एसइई उत्तीर्ण गरेपछि भने उनीहरूले आर्थिक समस्या झेल्नुपर्छ। त्यसबेला उनीहरू चाहेर पनि कलेज जान नसक्ने अवस्था छ।
एसइई पास भएपछि भने कामको खोजीमा भारत पस्नको संख्या ठूलै छ। पढेर जागिर नपाउनेहरू निरास हुँदै भारत पस्दा साँच्चिकै पीडा महसुस गर्छन्। कमाउने अरू उपाय नभएपछि भारत (कालापहाड) जानु उनीहरूको बाध्यता हो।
कालापहाड मात्र होइन, विदेश जाने दर पहिलेभन्दा बढेको छ। विदेश जान नसकेकाहरू कालापहाड गएर तीन–चार महिनामा कम्तीमा ६०/७० हजार रूपैयाँ कमाएर दसैं–तिहारमा घर फर्कन्छन्।
विदेश गएकाहरूले मासिक २५/३० हजार बचाउँछन्। यो रकम सबै केटाकेटी, भाइबहिनी पढाउन खर्च हुन्छ। शरीरमा एकसरो मात्र लुगा लगाएर केटाकेटी पढाउने सकारात्मक पाटो गाउँघरमा देखिन्छ। ‘पढेर मात्र के गर्नु? जागिर पाइँदैन,’ उनीहरूको प्रश्न छ। कच्ची सडकको विकास सबै गाउँमा पुगेको छ। एम्बुलेन्स गुड्ने सडक पनि बनेका छन्। तर, स्तरोन्नति भएको छैन।
हुन त आधुनिकतासँगै केही नकारात्मक असर पनि देखिन थालेको छ। यहाँका स्थानीय अहिले आफ्नै बारी, खेतमा उब्जिएको अन्नपात बिक्री गरी बजारमा पाइने गुणस्तरहीन खाद्यान्न उपभोग गरिरहेका छन्।
यतिसम्म कि भटमास बेचेर सोयबिन, सिमी बेचेर सेतो चामल, फापरको पिठो, आलु, कोदो, चिनु बेचेर चाउचाउ तथा गहुँ, जौं, मकै बेचेर तराईतिरबाट आयतित खाद्यान्न किनेर खाने चलन ह्वात्तै बढेको छ।
सहरतिरबाट औषधिभन्दा छिटो मदिरा सहजै गाउँमा पुग्छ। त्यसलाई सेवन गर्दा गर्व गर्ने परम्परा बसेको छ। अन्नपात, वस्तुभाउ बिक्री गरेर भएको आम्दानी फजुल खर्चमा सक्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। सडकले छोएको छ भने खेत बेचेर भए पनि मोटरसाइकल किन्ने प्रवृत्ति बढ्दै गएको छ। भएको आम्दानी मोटरसाइकल कुदाउन प्रयोग गरेको उदाहरण प्रशस्त भेटिन्छन्। कतिपय ठाउँमा गाईवस्तु बेचेर ती गोठमा मोटरसाइकल राखेको देखिन्छ।
मोटरसाइकले हिँडडुल गर्न सुविधा दिएको छ तर खर्च बढाएको छ। आम्दानीभन्दा खर्च बढी गर्ने प्रवृत्तिले समस्यामा पारेको स्थानीयहरू बताउँछन्। ‘भैंसी पाल्नभन्दा गाह्रो रै’छ, भटभटे पाल्न,’ स्थानीय युवा रामबहादुर रावतले बताए।
अन्य क्षेत्रजस्तो जुम्लाका गाउँका खेतबारी खासै बाँझो देखिँदैनन्। त्यसबाट हुने उत्पादनले दैनिक गुजारा चलिरहेको छ। परम्परागत रूपमा भए पनि खेतीपाती भइरहेको छ। तर, यसले खर्च धान्दैन त्यसैले युवाहरू पलायन भइरहेका छन्। रोजगारीको सिर्जना हुन सके केही वर्षमा जुम्ला ‘विकट’ भन्ने भाष्यबाट मुक्त हुन सक्ने यहाँका वुद्धिजीवीको भनाइ छ।
प्रकाशित: ३ मंसिर २०८० ०५:०४ आइतबार