जुम्लाका स्थानीय यतिबेला गाईबस्तुका लागि घाँस जोहो गर्न व्यस्त छन्। हिउँदमा हिमपात हुने भएकाले उनीहरू गाईगोरु, भेडाबाख्रा, भैंसीका लागि हिउँदे खुराक जोहो गर्न व्यस्त भएका हुन्।
जुम्लाका आठवटै स्थानीय तहका वासिन्दालाई प्रत्येक वर्ष असोज महिना लागेलगत्तै हरिया घाँस काट्ने पर्व जस्तै हुन्छ। बस्तुभाउ पाल्ने सबै परिवारले मिलेर एक ठाउँमा घाँस संरक्षण गरेका हुन्छन्। त्यस क्षेत्रको घाँस कसैले पनि प्रयोग गर्न पाउँदैन। असोज लागेपछि घाँस संकलन गर्ने र घाँसलाई चार-पाँच दिनसम्म सुकाएर आआफ्ना घरगोठमा भण्डारण गर्ने गर्दछन्।
यसरी राखेको घाँस हिमपात अवधिभर गाईबस्तुलाई खुवाउनुपर्ने स्थानीय बताउँछन्। हिमाली बस्तीका वासिन्दाको मुख्य पेसा भेडाबाख्रा, गाईबस्तु र भैंसी पालन हो।
कात्तिक अन्तिमदेखि चैतसम्म करिब पाँच महिनाभन्दा बढी हिमपात हुने भएकाले हिउँदे घाँसको जोहो गर्न थालेको स्थानीय बताउँछन्। हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि चरन क्षेत्रमा हिउँले ढाक्ने र त्यसबेला घाँस अभाव हुने जुम्लाको चन्दननाथ नगरपालिका ४ की स्थानीय मुघा बुढाले बताइन्।
उनका अनुसार हिउँले चरन क्षेत्र ढाक्ने हुँदा हिमपातको मौसममा वस्तुभाउलाई खुवाउने घाँस यही बेला जोहो गर्नुपर्ने बाध्यता छ। हिमपातले गर्दा चरन क्षेत्रको अभाव हुने भएकै कारण हिउँदको मौसममा पशुलाई बचाउन अनिवार्य हिउँदे घाँसको जोहो गर्नुपर्ने अवस्था रहेको गुठिचौर ३ कि राजकली बुढाले बताइन्।
हरियो घाँसको लोभमा भीरमा चढेर खर, घाँस काट्ने क्रममा लडेर केहीको मृत्यु हुने गरेको स्वयं घाँस काट्ने महिला बताउँछन्।
यता जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार तीन वर्षको अवधिमा घाँस काट्दाकाट्दै भीरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ। उनले भने, ‘प्रहरीको तथ्यांकमा उल्लेख नभए पनि गाउँठाउँमा घाँस काट्न जाँदा लडेर ज्यान जानेको संख्या बढ्दो क्रममा देखिन्छ। यतिबेला घाँस काट्न एकाबिहानै उज्यालो नहुँदै घरबाट निस्कने र राति मात्रै फर्कने जुम्लाका महिलाको दैनिकी बनेको छ। जुम्लासहित मुगु, कालिकोट, डोल्पा र हुम्लामा हिउँदे घाँस जोहो गर्ने गरिन्छ।
हिउँदको समयमा वस्तुभाउका लागि घाँस काट्न महिला नै व्यस्त हुने गरेको गुठीचौर गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी (मल्ल) भण्डारीले बताइन्।
प्रकाशित: १६ आश्विन २०८० ०५:०२ मंगलबार