पीडा मानिसलाई मात्र असह्य हुन्न, वियोगमा सबैको मन रुन्छ। मानिसलाई जस्तै पीडा जनावरलाई पनि हुन्छ। तर भावनालाई कुकुरले व्यक्त गर्न सक्दैनन् त्यति मात्र हो। जो कोहीका भावनात्मक चोट अनुहारमा झल्किन्छ। यस्तै चोट सधैसँगै बस्ने र खाने साथी जम्बोलाई परेको छ। जम्बो साथी वियोगमा छटपटिएको भाव उनको अनुहार झल्किन्थ्यो।
नेपाल प्रहरी संगठनको सहयोगको लागि कर्तव्य ज्यानमा फरार अजिब बुढा क्षेत्री खोज्न पहिला रोज बर्दिया आएका थिए। टोपे भन्ने अजिब नामका फरार कैदी आइतबार बिहान भागेका बखत बर्दिया प्रहरी प्रमुख सुधिरराज शाहीको समन्वयमा रोज (बेल्जियम सेफर्ड) लाई तत्काल कैदी खोज्न झिकाइएको थियो।
रोजको देहान्त पछि फरार कैदी खोज्न जम्बो बर्दिया आएका हुन्। रोजको साथ छुट्दा जम्बो एक्ला भएका छन्। रोजले संगठनको हितका लागि कर्तव्य पालन गर्दा गर्दै ज्यान गुमाउँदा यतिखेर बर्दिया प्रहरी संगठनका सदस्य रोजको वियोगले बिछिप्त बनेको छ।
रोजको मृत्यु भइसकेको प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए। ‘रोजले पदचापमा प्रहरी क्यू पत्ता लगाएको छ,’ उनले भने,‘पछि मगाएका जम्बोले फरार कैदी लुकेको सम्भावित ठाउँ सुईको दिएपछि जम्बो पनि फर्केका छन्।’
फरार कैदी खोज्ने क्रममा रोजलाई हुदयघात आएको अनुमान छ। तर,तीन दिन बसाई सकेर जम्बो भने नेपालगन्ज फर्किसकेका छन्। आइतबार (भदौ १७) गते बिहान तीन बजे फरार भएका कर्तव्य ज्यानमा ३० वर्ष कैद सजाय तोकिएका ती कैदी कारागारको पर्खाल नाघेर फरार भएका थिए। पहिलो चरणमा फरार खोजीमा रहेका रोजले नेपालका सीमावर्ती फरार कैदी लुक्न सक्ने ठाउँ थाहा पाएर प्रहरीलाई सहयोग गरेका थिए। रोजले पत्ता लगाएको लुक्न सक्ने सम्भावित ठाउँमा प्रहरी व्यापक रुपमा परिचालित भइसकेको छ।
पहिलो स्थानमा नभेटिएका उनी भारतको कतरनिया र बिछियाको संरक्षित क्षेत्रमा लुकेर तीन दिन अघिदेखि जंगलमा कैदी अजिब बसेको सूचना संयन्त्रबाट प्रहरीले थाहा पाइसकेको छ। नेपाल प्रहरीले भारतीय सीमामा खटिएका सुरक्षाकर्मीको सहयोगमा बस स्टप, ट्रेन स्टेसन र संरक्षित भारतको जंगलमा खोजी गरिरहेको छ भने भारतीय पक्षले नेपाली प्रहरीसँग समन्वय गरिरहेको छ।
रातो कटु मात्र लगाएर जंगलमा देखिने गरेको घाँस दाउरा गरेर फर्कनेले जानकारी दिएको प्रहरीले स्रोतले बताएको छ। ‘हामी करिब करिब फरार कैदीको नजिक नजिक पुगिसकेका छौं’ एक प्रहरी अधिकृतले भने,‘घेराबन्दीमा परिसकेकाले सुखद समाचार सुन्न पाउनु हुन्छ।’ अजिब फरार भएको दोस्रो पटक हो। फरार अजिब आठ वर्ष अघि बर्दिया अदालतको शौचालयबाट भागेका थिए। सात वर्ष अघि फरार कैदीलाई दश महिना अघि तत्कालीन एसपी बिरेन्द्र बहादुर शाहीको नेतृत्वमा पक्राउ गरेर कारागार चलान गरेको हो। यति खेर पनि अजिब फरार हुनुमा कारागार प्रशासनको कमजोरी देखिएको छ।
कारागार प्रशासनले पानी नाइके बनाएको मौका छोपेर कारागारको पर्खाल नाघेर कैदी अजिब फरार भएका हुन्। भारतीय जंगलमा लोकेसनमा देखिएका अजिबलाई राजापुर ईप्रकाबाट खटिएका प्रहरी नायव उपरीक्षक, ढोढरी र बगनाहाका दुई प्रहरी निरीक्षकको टोलीले भारतीय पक्षको समन्वयमा खोजी गरिरहेको छ।
प्रकाशित: २१ भाद्र २०८० १३:०८ बिहीबार