‘साँझ परिसकेको थियो, डोमको बच्चाले खेतमा आएर केराउ नोक्सानी गर्यो भन्दै खरले छाएको झुपडीमा गाउँकै एकजनाले आएर आगो झोसे,’ पर्साको फेटा गाउँपालीका भरवलिया डोम बस्तीकी शिला देवी डोमिनले भनिन्, ‘त्यो दिन घरमा हामी महिला मात्र थियौं। आमाले केही कुरा बोल्नुभयो तर ती मान्छेले धेरै बोले बस्तीमा आगो लगाइदिने धम्की दिए। हामी चुप लाग्यौं।’
गत वर्ष पुसको घटना हो यो। जाडोयाम भएकाले जसोतसो आगोबाट झुपडीबाट आगो फैलन जोगाएको उनले बताइन्। भरवलिया डोम बस्तीका मानिसहरूले छुवाछूतका नाममा बारम्बार गाउँवासीबाटै यस्ता अत्याचारको सिकार बन्नुपरेको उनको भनाइ छ। माथिको घटना एउटा उदाहरण मात्रै हो, गाउँलेले आफूहरूलाई ‘सानो जात’ भनेर तल्लो स्तरको व्यवहार र अत्याचार पटकपटक गर्दै आएको उक्त बस्तीका डोमहरू बताउँछन्।
‘इज्जत त अलिकति पनि गर्दैनन्। हामीलाई सानो जाति भनेर साह्रै घृणा गर्छन्। गाउँलेहरूले अश्लील शब्द प्रयोग गरेर गाली त कति गर्छन् गर्छन्। के गर्नु, सहेर बस्नुबाहेक कुनै उपाय छैन। हाम्रो पीडा सुनिदने को छ र यहाँ?’
६० वर्षीय उदयनारायण मल्लीले भने, ‘पानी भर्न जाँदा डोम भनेर चापाकल छुनै दिन्नन्। माथिबाटै उनीहरूको बाल्टिनले पानी हालेर दिने पानी ल्याएर खाँचो टार्ने हो।’
बाराको फेटा गाउँपालिका–१ भरवलिया गाउँको किनारमा डोम बस्ती छ। पाँचवटा झुपडी भएको उक्त डोम बस्तीमा २५ जना बस्छन्। छुवाछूत हुने भएकाले डोमहरू गाउँको किनारमा बस्ने गर्छन्। हिन्दु परम्पराअनुसार डोम जातिका दलित हरेक काजकर्ममा आवश्यक पर्छन्। त्यसकारण मधेसको हरेक गाउँको किनारमा डोमहरूको बस्ती भेटिने सोही समुदायका मानिसहरू बताउँछन्।
६० वर्षीय उदयनारायण मल्लीले भने, ‘पानी भर्न जाँदा डोम भनेर चापाकल छुनै दिन्नन्। माथिबाटै उनीहरूको बाल्टिनले पानी हालेर दिने पानी ल्याएर खाँचो टार्ने हो।’
गाउँको छेउमा बसेर उनीहरू आफ्नो जीविकोपार्जनका लागी काचो बाँसबाट डाला, पंखालगायत विभिन्न सामान बनाई हाटबजारमा बेच्छन्। गाउँमा कोही बितेको छ भने दागबत्ती दिने आगो डोम जातिबाटै लिने परम्परा छ। यसो गरे मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ। विवाह, छठपूजा, कुलपूजामा पनि डोमले बनाएकै सामान प्रयोग गर्नु अनिवार्य छ। हरेक सामाजिक कार्यमा डोम चाहिए पनि जातका आधारमा उनीहरूमाथि हुने छुवाछूत कायमै छ।
एकातिर छुवाछुतको विभेद खेपिरहेका डोमहरू अर्कातिर नागरिकता नबन्दा ‘अनागरिक’जस्तै बनेका छन्। भरवलियाका डोम बस्तीमा कसैको पनि नागरिकता छैन। नागरिकता नहुने व्यत्ति मतदाता पनि नहुने भएकाले आफूहरूमाथि भइरहेको ज्यादतीप्रति कुनै दलका नेताकार्यकर्ता र जनप्रतिनिधिले चासो राख्दैनन्। भोटको राजनीतिले निम्त्याएको विकृतिका कारण डोम र अन्य जातिका मानिसहरूबीच भनावैरी हुँदा आफूहरूको पक्षमा उभिन कोही पनि तयार नहुने डोमहरू बताउँछन्।
समाजका कथित ‘ठुला जाति’ले गर्ने अवहेलना त सहनुपर्ने बाध्यता छ नै, राज्यले दिने सेवासुविधाबाट समेत डोमहरू वञ्चित छन्। आफूहरूले स्थानीय सरकारबाट कुनै सेवासुविधा पाउन नसकेको उनीहरू बताउँछन्।
‘चापाकलबाट पानी मागेर पिउनुपर्छ। हामी पानीबिना मर्ने? नेताहरूलाई हाम्रो कुनै मतलब छैन। गाउँका सबैको घरमा बिजुली छ, हामीकहाँ छैन। कसैले आफ्नो घरको अगाडि बस्न दिँदैनन्। सिँढी उक्लन दिँदैनन्,’ चाँदनीले भनिन्, ‘हामीले नै बनाएको बाँसका पंखा सबैले घरमा लग्छन् तर किन्ने बेलामा छोइन्छ भनेर टाढै बस्छन्।’
गाउँको छेउमा बसेर उनीहरू आफ्नो जीविकोपार्जनका लागी काचो बाँसबाट डाला, पंखालगायत विभिन्न सामान बनाई हाटबजारमा बेच्छन्। गाउँमा कोही बितेको छ भने दागबत्ती दिने आगो डोम जातिबाटै लिने परम्परा छ।
सोही बस्तीकी १८ वर्षीया ममता देवीका दुई सन्तानको जन्म कलैयाको बरेवा अस्पतालमा भयो। नागरिकता नहुँदा उनले सुत्केरी भत्ता पाइनन्। गर्भवती भएका बेला गाउँपालिकाबाट पोषणयुक्त खानेकुरा पनि उनलाई दिइएन। उनका सन्तानले बालभत्तासमेत पाउन सकेका छैनन्। ‘सुत्केरीले तागतिला खानेकुरा खानुपर्ने भनिन्छ तर मैले अहिलेसम्म दाल, भात र आलुको भुजियाबाहेक केही खाएकी छैन,’ उनले भनिन्, ‘पहिलेपहिले त श्रीमान्ले कमाएर ल्याउनुहुन्थ्यो र कहिलेकाहीँ मासु खान पाउँथें, अहिले त कमाइ नभएर कहिले नुनखुर्सानी मोलेर भात खानुपर्ने त कहिले आलुको चोखा बनाएर खानुपर्ने स्थिति छ। अन्डा, दुध कहाँबाट ल्याएर खाने?’
गाउँपालिका अध्यक्ष, वडाध्यक्षहरू आफूहरूका पीडा बुझ्न कहिल्यै नआएको चाँदनी बताउँछिन्। उनका अनुसार सडककिनारमा बस्ती भएकाले जुनसुकै बेला दुर्घटनाको त्रास भइरहन्छ। ‘गाउँपालिकाको टिपर झुपडीछेउबाटै जाँदा बच्चाहरूलाई कसरी जोगाउने भन्ने डर भइरहन्छ,’ उनले भनिन्, ‘हाम्रो घर छैन। कमाइ छैन। जग्गा छैन। नागरिकता छैन। हाम्रो पीडा सुनिदिने पनि कोही छैन,’ उनले भनिन्।
सोही बस्तीकी शिला देवीका पाँच सन्तान छन्। ससुरा बुवाको नागरिकता नहुँदा आफूहरूले बच्चाको जन्मदर्ता बनाउन नसकेको उनी बताउँछिन्। जन्मदर्ता नहुँदा शिलाका सन्तानले मात्र नभएर डोम बस्तीका सबै बालबालिकाले विद्यालय जान पाएका छैनन्।
सोही बस्तीका स्थानीयसमेत रहेका प्राध्यापक वीरेन्द्र साहका अनुसार समाजको स्थापनासँग डोम जातिको बसोबास हरेक गाउँमा भेटिन्छ। डोम जातिको प्रमुख समस्या तल्लो जातिका भनी हुने विभेद नै हो। जग्गाजमिन नहुँदा उनीहरू नागरिकताबाट वञ्चित रहेको उनी बताउँछन्।
गाउँपालिका अध्यक्ष, वडाध्यक्षहरू आफूहरूका पीडा बुझ्न कहिल्यै नआएको चाँदनी बताउँछिन्। उनका अनुसार सडककिनारमा बस्ती भएकाले जुनसुकै बेला दुर्घटनाको त्रास भइरहन्छ।
नागरिकता नहुँदा डोमहरूले अपहेलनाको सिकार बन्नुपरेको प्राध्यापक साहको भनाइ छ। ‘राज्यले हक नदिएर उनीहरूलाई ठगिरहेको छ। नेपाली नागरिक भए मतदाता हुन्थे। जप्रतिनिधिमा प्रतिनिधित्व गर्ने अधिकार हुन्थ्यो। राज्यबाट पाउने सुविधाहरू लडेर लिन्थे। त्यसो हुँदा उनीहरूमाथिको छुवाछूतमा पनि कमी आउँथ्यो।’
प्राध्यापक साहले सरकारी कागजात नहुँदा अहिले राज्यले दलितका नाममा छुट्याएको सुविधा लिन उनीहरूले नपाएको बताए। डोम जातिका लागि राज्यले नागरिकता बनाइदिनुपर्ने आवश्यकता उनीहरू औंल्याउँछन्।
प्रकाशित: २९ श्रावण २०८० ०१:२१ सोमबार