८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सगरमाथाको चुचुरोमा साढे ९ मिटर हिँउ, कति हो त हिउँ बाहेकको उचाई ?

फाइल तस्बिर

सगरमाथा चुचुरोमा हिउँको गहिराइ साढे ९ मिटर पुगेको छ। सगरमाथाको चट्टानको भागबाट माथि साढे नौ मिटर हिउँ रहेको पछिल्लो अध्ययनले देखाएको छ।

चिनियाँ वैज्ञानिकहरूले सगरमाथाको उत्तरी धारमा गरेको मापनले सगरमाथाको चुचुरोमा सरदर साढे ९ मिटर गहिरो हिउँ रहेको देखाएको छ। विगत पाँच दशकमा भएका मापनले यो गहिराइ ०.९ देखि ३.५ मिटर रहेको मानिएको थियो।

गत वर्ष (सन् २०२२) अप्रिल र मे महिनामा जमिनभित्रसम्म जान सक्ने राडार प्रविधि (जिपिआर) का आधारमा गरिएको यो मापनले सगरमाथाको चुचुरोमा यसअघि ठानिएको भन्दा धेरै गहिराइसम्म हिउँ रहेको देखिएको हो।

युरोपियन जिओसाइन्स युनियन र द क्रायोस्फेयरको अनलाइन प्रकाशन कपर्निकस र वैज्ञानिक जर्नल नेचरमा हालै प्रकाशित अध्ययन नतिजाले यस्तो देखाएको हो। चीन तथा नेपालले संयुक्त रूपमा सन् २०२० मा सगरमाथाको उचाइ ८८४८.८६ मिटर घोषणा गरेका थिए तर टाकुरामा हिउँको गहिराइ ठ्याक्कै कति छ भनेर यकिन नहुँदा चट्टानको सही उचाइ ठम्याउन कठिनाइ हुने गरेको छ।

सगरमाथाको पछिल्लो अध्ययनबाट आएको उचाई ८८४८.८६ मा चुचुरोको हिउँको गहिराई ९.५ मिटर घटाउँदा सगरकाथाको हिउँको बाहेको उचाई ८८३९.३६ आउँछ।

सन् १९७५ मा चिनियाँ आरोहण दलले काठको चुच्चे लट्ठी (उडेन–स्टेक) को सहायताले गरेको मापनले हिउँको गहिराइ ०.९२ मिटर रहेको देखाएको थियो। यसैगरी सन् १९९२ मा इटाली र चीनको संयुक्त दलले स्टिल स्टेक हिउँमा घुसाएर गरिएको मापनले हिउँको गहिराइ २.५२ मिटर रहेको देखाएको थियो। तर हिउँको घनत्व, लटठीको लम्बाइ तथा खराब मौसममा व्यक्तिगत कारणले उचाइ मापनमा कठिनाइ रहँदै आएको थियो।

सन् २००५ मा रेडियो इको साउन्डिङ प्रविधिअन्तर्गत चिनियाँ पर्वतारोहण तथा सर्वेक्षण दलले राडार प्रयोगमार्फत गरेको मापनमा यो गहिराइ सरदरमा ३.५ मिटर रहेको देखिएको थियो। सन् २०१९ र २०२० मा नेपाली तथा चिनियाँ टोलीले राडार उपकरणकै सहायतामा हिउँको गहिराइ मापन गरे पनि नतिजा सार्वजनिक नगरिएको अनुसन्धानकर्ताको भनाइ छ।

प्रकाशित: २ श्रावण २०८० ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App