९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मोरङमा छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

मोरङको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र २ जना घाइते भएका छन्। 

लेटाङ नगरपालिका–३ मा बोलेरो गाडीले अटो टेम्पोलाई ठक्कर दिँदा अटो चालक र बालिकाको मृत्यु भएको छ। लेटाङबाट कानेपोखरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ ह १३१२ नम्बरको अटोलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ च ४१७३ नम्बरको बोलेरोले शुक्रवार राति पौन ८ बजेतिर ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले अटो चालक कानेपोखरी गाउँपालिका–६ का ३५ वर्षीय सागर तामाङ र ८ वर्षीया बालिका रोशनी मगरको मृत्यु भएको जानकारी दिए। दुर्घटनामा परी घाइते भएका अटो चालक तामाङको उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको डिएसपी दाहालले बताए।

राति पौन १० बजेतिर उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएको बताउँदै, डिएसपी दाहालले भने, ‘बालिकासँगै दुर्घटनामा परेकी उनकी आमा ३५ वर्षीया टीका आले मगरको गोल्डेनमा उपचार भइरहेको छ। गाडी चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेका छौँ।’

लेटाङ–६ का ४१ वर्षीय सन्तोष घिसिङ बेलोरे चालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। 

त्यस्तै, सिराहाको लहान नगरपालिका घर भएका २५ वर्षीय सन्तोष भुजेलको कानेपोखरी–७ आइतबारेमा मोटरसाइकल दुर्घटना परी मृत्यु भएको छ।

भुजेलले चलाएको मोटरसाइकल पछाडि सवार लहानकै ३० वर्षीय वीरेन्द्र मगर घाइते भएका छन्। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ४९३५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित हुँदा राति साढे ११ बजेतिर दुर्घटना भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भुजेलको उर्लाबारीस्थित मंगलबारेको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको डिएसपी दाहालले बताए।

अर्का घाइते मगरको विराटनगरस्थित नोबेल शिक्षक अस्पतालमा उपचार भइरहेको छ। मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदा आफै अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ असार २०८० १३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App