इटहरी- इटहरी बजार क्षेत्रबाट मंगलबार दिउँसो ठूलो परिमाणमा लागूऔषधसहित दुई जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी प्रसवनी वडा नं. १ का ३९ बर्षीय झोलाई चौधरी र इटहरी वडा नं.४ मा सैलुन सञ्चालक प्रमोद ठाकुर छन्।
पूर्वका शहरमा लागूऔषध भारतीय बजारबाटै भित्र्याएर महंगो मूल्यमा विक्री गर्ने गरिएको छ। सुनसरीको हरिपुर क्षेत्रबाट लागुऔषध भारतबाट भित्रयाउने गरिएको छ। प्रहरीले पक्राउ गरेका झोलाई पनि भारतबाट इटहरीमा ल्याएर कोठामा स्टक राखि पूर्वका मुख्य मुख्य बजारमा सम्पर्कमा रहेका व्यक्तिहरुमार्फत गाउँ गाउँसम्म विक्री गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले पक्राउ पर्ने दुवैको साथबाट लागूऔषध कोरेक्स ९४ बोतल, नाइट्रोसन ट्याब्लेट एक सय ५० एम्पुल, स्पास्मो प्रोक्सिवन ट्याब्लेट ५ सय ७६ एम्पुल तथा नगद एक लाख १४ हजार बराद गरिएको जानकारी दिएको छ।
‘शुरुवातमा सैलुन सञ्चालक ठाकुरकोमा सैलुनमै केही थान नाइट्रोसन ट्याब्लेट भेटेर केरकार गरेपछि झोलाईले विक्री गर्न दिएको बताएर उनको इटहरीमा रहेको कोठा खोजतलास गर्दा अरु बरादम गरिएको हो,’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले भने । उनका अनुसार, झोलाई इटहरीमा लामो समयदेखि लागूऔषध भारतबाट ल्याएर इटहरी वडा नं. ४ मै कोठा भाडा लिएर स्टक गरेर राख्ने अनि सम्पर्क भएका व्यक्तिमार्फत बिक्री गर्ने गरेको खुलेको छ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबार गर्नेलाई पक्राउ गर्नुका साथै सामान बरामद गरेको हो । त्यसक्रममा प्रहरीले को ५ प २०६७ र छ वटा मोवाइल पनि फेला पारेको छ।
लागूऔषधको कारोबारका लागि मुख्य डिलिङ हुने स्थान यातायातको मुख्य हब इटहरी बन्दै आएको छ । लागूऔषधको कारोबारमा संलग्नहरुका अनुसार इटहरीबाट पूर्वका गाउँबस्तीमा सबैतिर लागूऔषध खपत हुने गरेको छ।
सुनसरीको लागूऔषध कारोबार हुने अन्य मुख्य केन्द्रमा धरान, इनरुवा, भान्टाबारी, झुम्का आदि रहेको प्रहरीले जनाएको छ । झोलाईले सुनसरीका सवै मुख्य मुख्य स्थानका केही निश्चित व्यक्तिमार्फत सामान विक्री गदैं आएको अनुसन्धानबाट खुलेको छ । सुनसरीमा मुख्य रुपमा नाइटोजेपाम, डाइजेपाम, एभिल, नरफिन, डेन्ड्राइडजस्ता लागूऔषधको बढी मात्रमा कारोबार हुने गरेको पाइएको छ।
प्रकाशित: २९ चैत्र २०७३ १२:०० मंगलबार