९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश नम्बर ३ को नगरप्रमुखमा 'हेभिवेट' को दाबी

प्रदेश नम्बर-३ का विभिन्न नगरपालिकामा मेयर–उपमेयरका आकांक्षीको चर्चा तीव्र हुन थालेको छ। कुन पार्टीले कस्ता उम्मेदवार अगाडि सार्लान् भनी जनताले उत्सुकतासाथ हेरिरहेका छन् भने आकांक्षीचाहिँ आफ्नो उम्मेदवारीको चर्चा चलाउन व्यस्त छन्। दलका स्थानीय नेताकार्यकर्ताले सम्भावित उम्मेदवारबारे छलफल तीव्र पारेका छन्।

केही आकांक्षीले सामाजिक सञ्जालमार्फत आफूले उम्मेदवारी दिने घोषणा गर्नसमेत थालेका छन्। जिल्लाका पहिलो तहका नेतादेखि केन्द्रीय हैसियत बनाएका नेतासम्मले दाबेदारी प्रस्तुत गरेका छन्। उच्च शिक्षा अध्ययन गरेका, राजनीतिमा खारिएर हैसियत बनाएका युवाको दाबेदारीले नगरमा चुनावी सरगर्मी उत्कर्षतिर अघि बढेको छ।

विभिन्न दलका तर्फबाट मेयर–उपमेयरका आकांक्षी टिकटका लागि केन्द्रीय नेताको शरणमा पुग्न थालेका छन्।

सिन्धुपाल्चोक

प्रमुख, उपप्रमुखमा 'हेभिवेट' का नेताले उम्मेदवारी दाबी गरेपछि सिन्धुपाल्चोकका तीन नगरपालिकाको निर्वाचन रोमाञ्चक बन्ने देखिएको छ। जिल्लाका प्रमुख राजनीतिक शक्ति कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले अहिलेसम्म उम्मेदवारको टुंगो नलगाए पनि बढ्दो आकांक्षीका कारण दलभित्रै कडा प्रतिस्पर्धा हुने देखिएको छ। त्यसैले आकांक्षीहरू टिकटका लागि केन्द्रीय नेताको शरणमा पुग्न थालेका छन्।

चौतारा–साँचागोकगढी नगरपालिका

 सदरमुकाम रहेको जिल्लाकै ठूलो चौतारा–साँचागोकगढी नगरपालिका मेयरमा कांग्रेसबाट पार्टी नगर सभापति यज्ञप्रसाद दंगाल, इन्द्रलोचन धिताल र केशवराज गिरीले दाबी गरेका छन्। उपप्रमुखमा शोभा उलकको एकल नाम चर्चा छ। एमालेबाट सोम सापकोटा, इन्द्र नेपाल, ईश्वरी श्रेष्ठ, यज्ञ सापकोटा र बादल तामाङले प्रमुख दाबी गरेका छन्। पूर्वसांसद कृष्णराज श्रेष्ठको नाम पनि प्रमुखमा चर्चा छ। विद्यार्थी नेतृ सीता थापा र बालकुमारी सापकोटाले उपप्रमुखमा आकांक्षा देखाएका छन्।

माओवादी केन्द्रबाट मेयरमा पूर्वअध्यक्ष माधव सापकोटा, पूर्वउपाध्यक्ष अमानसिंह तामाङ र युवराज दुलालबीच पार्टीभित्र कडा प्रतिस्पर्धा छ। जानुका पराजुली, मीना नेपाल र तारादेवी रानाले उपप्रमुख दाबी गरेका छन्। राप्रपाबाट नगर प्रमुखमा पार्टी केन्द्रीय सदस्य पुष्कर ढुंगेल, जितबहादुर भारती र उपप्रमुखमा सुन्तली ढुंगेलको दाबी छ। अधिवक्ता रोशनराज गिरी स्वतन्त्रबाट उपप्रमुख घोषणा गर्दै भोट माग्न व्यस्त छन्।

मेलम्ची नगरपालिका

मेलम्ची नगरपालिकाको प्रमुखमा चारवटै दलबाट धेरै अकांक्षी देखिएका छन्। कांग्रेसबाट क्षेत्रीय सभापति आइतमान तामाङ, पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले प्रमुखमा दाबेदारी प्रस्तुत गरेका छन्। कान्छीमाया भण्डारी उपप्रमुखको आकांक्षी हुन्। एमालेबाट जिविस पूर्वउपसभापति डम्बर अर्याल र पूर्वक्षेत्रीय अध्यक्ष बालकृष्ण देउजाले नगर प्रमुख दाबी गरेका छन्। उपप्रमुखमा भगवती नेपाल, इन्द्रमाया गुरुङ र उमा प्रधानको चर्चा छ।

माओवादी केन्द्रबाट प्रमुखको आकांक्षीमा जिल्ला पार्टीका पूर्वसचिव चन्द्रबहादुर थापा, देवेन्द्र घोरासैनी र श्याम खड्का छन्। उपप्रमुखमा दाबी परिसकेको छैन। राप्रपाबाट पूर्वसभासद् चलनबहादुर तामाङ, क्षेत्रीय अध्यक्ष फणीन्द्र दाहाल र बद्रीप्रसाद चौलागाईं प्रमुखको दाबेदार हुन्। चलनकी छोरी कुमारी तामाङ र लीलादेवी चौलागाईंले उपप्रमुखको दाबी गरिरहेका छन्।

बाह्रबिसे नगरपालिका

बाह्रबिसे नगरपालिकामा पनि उम्मेदवार बन्न दलभित्रै टक्कर छ। कांग्रेसबाट जिल्ला पूर्वसभापति भूपेन्द्रबहादुर थापा, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, यमबहादुर बस्नेत, बुद्धराज बस्नेत र युधीर पौडेलले नगर प्रमुख दाबी गरिरहेका छन्। उपप्रमुखमा लीला नेपाल र लक्ष्मी श्रेष्ठको नाम चर्चामा छ।

एमालेबाट निमफुन्जो शेर्पा, तीर्थ ढकाल, प्रदीप पौडेल, कुमार श्रेष्ठले प्रमुख दाबी गरेका छन् भने उपप्रमुखमा सुशीला तामाङको चर्चा छ। माओवादी केन्द्रबाट प्रमुखको आकांक्षीमा रामकाजी पौडेल र लालकाजी तामाङ छन्। राप्रपाका शिव राउत, बच्चु बस्नेत र शिव भण्डारीको प्रमुखमा दाबी छ।

भीमेश्वर नगरपालिका (दोलखा)

दोलखाको सबैभन्दा ठूलो भीमेश्वर नगरपालिकाको नेतृत्वमा पुग्न दलभित्र आकांक्षीको दौडधूप सुरु भएको छ। ९ वडा रहेको भीमेश्वरमा करिब २२ हजार मतदाता छन्। यहाँ एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।

नेपाली कांग्रेसबाट भीमेश्वर नगरपालिका प्रमुख–उपप्रमुखमा ईश्वरनारायण मानन्धर, रूपा श्रेष्ठ, मोती मोक्तान, सखना थापा, भगवती शाही, ज्ञानु केसीलगायत आकांक्षी देखिएका छन् । एमालेबाट प्रमुख–उपप्रमुखमा भरत केसी, राजेन्द्र मानन्धर, हरिवंश चौलागाईं, कमला ओली, सीता केसी, कमला बस्नेत, राधा मास्केलगायतको नाम चर्चामा आएको छ। माओवादी केन्द्रबाट प्रमुखमा हेम श्रेष्ठको नाम अगाडि छ।

जिरी नगरपालिका

'ग्रिन सिटी' का उपमाले परिचित जिरी नगरपालिकामा दलहरूले प्रतिष्ठा बनाएर आआफ्नो अभियान चलाइरहेका छन्। जिरी, माली र ठूलोपातल मिलेर तीन वर्षअघि नगर बनेको जिरीमा स्थानीय निकाय पुनर्संरचना आयोगले श्यामा गाविस मिलाएर जिरी नगरपालिका बनाएको थियो। जिरीमा ११ हजार एक सय ५४ मतदाता छन्।

नेपाली कांग्रेसले समुनकृष्ण जिरेल, अमृत जिरेल, नरबहादुर जिरेल, डा. सरिता जिरेल, विश्वनीति पाखि्रन, सोनाम शेर्पा, आङपासाङ शेर्पा, लाक्पा शेर्पामध्येबाट प्रमुख–उपप्रमुखको उम्मेदवार छान्ने भएको छ।

एमालेले टंक जिरेललाई प्रमुखमा उठाउने भएको छ। माओवादी केन्द्रबाट नवीन जिरेल, तेजबहादुर गोले, ग्याल्बो शेर्पालगायत आकांक्षी छन् ।

चितवन

चितवनमा एक महानरगालिका, एक गाउँपालिका र पाँच नगरपालिका गरी सात स्थानीय तह छन्। यहाँ कांग्रेस, एमाले र माओवादी केन्द्र मुख्य प्रतिस्पर्धी देखिएका छन्। राप्रपा पनि आक्रामक प्रचार अभियानमा लागेको छ।

रत्ननगर नगरपालिका

१६  वडा रहेको रत्ननगरमा ४३ हजार एक सय ५३ मतदाता छन्। भरतपुर महानगरपालिकापछि दोस्रो ठूलो रत्ननगर नगरपालिकामा कांग्रेसबाट २० भन्दा बढी मेयर र उपमेयरका आंकाक्षी छन् ।  नेपाली कांग्रेसबाट मेयरमा रुपनराज घिमिरे, महेशप्रसाद रौनियार, उत्तम आचार्य, भेषराज दवाडी, रामकुमार अर्याल, हरिभक्त घिमिरेलगायतको नाम चर्चामा छ। उपमेयरमा गीता देवकोटा, नीता ढकाल, सरस्वती पौडेल, लक्ष्मी चौधरीलगायतको नाम चर्चामा छ। 

एमालेका तर्फबाट नारायण वन, प्रेम दुवाडीलगायतको चर्चा छ। माओवादी केन्द्रबाट कञ्चन खनाल, राजु अमगाई र गोपीमान श्रेष्ठको नाम आएको छ।

खैरहनी नगरपालिका

खैरहनीमा एमालेले कमल पाठक, कृष्ण डल्लाकोटी, हीरा गुरुङ, कृष्णलाल चौधरीमध्येबाट उम्मेदवार उठाउने सम्भावना छ। १३ वडा रहेको खैरहनीमा ३३ हजार २६३ मतदाता छन्। कांग्रेसका शशी खनियाँ, कुमार कार्की र सरोज बर्तौलाको नाम चर्चामा छ।

माओवादी केन्द्रले एकराज डल्लाकोटी, कुलप्रसाद भुसाल, रामेश्वर पोखरेल, ज्ञानबहादुर बिसुराल, बलराम अर्यालमध्ये एकलाई मेयरमा उठाउने चर्चा छ।

राप्ती नगरपालिका

लोथर र कोराकजस्ता विकट पहाडी गाउँ जोडिएको राप्ती नगरपालिकामा १३ वडा छन्। राप्ती नगरमा कुल मतदाता संख्या २९ हजार नौ सय ९८ छ। एमालेबाट मेयरमा कृष्ण पन्त, घनश्याम कँडेल, गोविन्द कँडेल, इमानसिंह लामा, प्रभा बराललगायतको चर्चा छ।

कांग्रेसका तर्फबाट किरणकुमार ओली, नारायण उप्रेतीमध्ये एकलाई मेयरमा उठाउने सम्भावना छ । माओवादी केन्द्रबाट राजेन्द्र पाठक, सिंहबहादुर गोले र मानबहादुर स्याम्बोको नाम आएको छ।

कालिका नगरपालिका

आदिवासी चेपाङ बाहुल्य सिद्धि र शक्तिखोरजस्ता पहाडी क्षेत्र रहेको कालिका नगरपालिकामा एमालेले गोपी श्रेष्ठ, विनोद रेग्मी, जयन्द्रप्रसाद चौधरी र केशव लामामध्ये एकलाई मेयरमा उठाउने सम्भावना छ। कांग्रेसका तर्फबाट टमेयरका लागि शिवराम केसी, कमल आचार्य, शिव पौडेल, सरोज गुरुङको नाम चर्चामा आएको छ।

११ वडा रहेको कालिका नगरपालिकामा २२ हजार नौ सय ८७ मतदाता छन् । कालिका नगरपालिकामा माओवादीले रामध्वज डल्लाकोटीलाई मेयरमा उठाउने सम्भावना प्रबल  छ।

माडी नगरपालिका

 राप्ती नदी, चितवन निकुञ्जको घना जंगल र रिउ खोला तरेर जानुपर्ने माडी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कांग्रेस, एमाले र माओवादीलाई चुनौती दिएको छ।

थ्ारू समुदाय तथा बाँदरझुलाको सुकुम्बासी बस्ती भएको माडीमा यी दुई समुदायको मत आफूतर्फ तान्न दलहरूबीच प्रतिस्पर्धा छ। एमालेबाट नारदमणि पौडेल, श्याम बिष्ट, पुरन चौधरीलगायतको मेयरमा चर्चा छ। माडीमा कांग्रेसका नयाँ–पुराना सबैखाले नेताले मेयरमा उठ्न रुचि देखाएका छन्। तीर्थ भुसाल, कमल भुसाल, शोभाखर चापागार्इं, शिवनारायण गुरौको नाम कांग्रेसबाट मेयरमा उठ्नसक्ने सम्भावित व्यक्तिका रूपमा चर्चामा छ। राप्रपाले सांसद विक्रम पाण्डेनिकट मदन पौडेललाई मेयरमा उठाउन सक्ने सम्भावना प्रबल छ। माओवादी केन्द्रले प्रभु महतो, ऋषि काफ्ले र ठाकुर ढकाललाई उम्मेदवार उठाउन सक्ने सम्भावना छ। नौ वटा वडा रहेको माडीमा २१ हजार ६ सय ७२ मतदाता छन् ।

थाहा नगरपालिका (मकवानपुर)

मकवानपुरमा चुनावी चर्चा र पार्टीको तयारी तीव्र रूपमा हुन थालेको छ। मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ शक्तिसमेत चुनावी तयारीमा लागेका छन्।

कांग्रेसबाट मेयरका लागि भरत लामा, खड्ग गोपाली र जयराम लामिछानेको नाम चर्चामा छ। एमालेले विष्णु ढकाल, राजु नापित, अच्युतमप्रसाद ढकाललाई मेयरको उम्मेदवार बनाउने सम्भावना छ। माओवादी केन्द्रबाट लभशेर बिष्ट, विष्णु बिष्टको नाम चर्चामा छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हरेराम कार्कीको नाम चर्चामा छ। नयाँ शक्तिले मेयरका लागि ज्योति रायमाझीको नाम चर्चामा ल्याएको छ। 

धादिङ

धादिङ जिल्लामा नीलकण्ठ र धुनिबेसी गरी दुई नगरपालिका छन्।  दुईवटै नगरपालिकामा एमाले, कांग्रेस र माओवादी केन्›बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। मेयरका आकांक्षीमा भर्खरै राजनीतिमा लागेका युवादेखि वर्षांैदेखि राजनीतिक क्षेत्रमा देखिएकासमेत छन्।

नीलकण्ठ नगरपालिका

नीलकण्ठ नगरपालिकाको मेयरमा कांग्रेसबाट भीमप्रसाद ढुंगाना, दीपक कोइराला, नारायणकुमार श्रेष्ठ प्रमुख आकांक्षी छन्। कांग्रेसबाट अन्य दाबेदारमा शम्भुसिंह ठकुरी, गोविन्द लम्साल, कल्पना अधिकारी, शिवराम भण्डारी, झम्कनारायण श्रेष्ठलगायतको नाम आएको छ। नीलकण्ठ नगरपालिकाको मेयरका लागि  एमालेबाट चार जनाको चर्चा छ। युवा संघ नेपाल धादिङका पूर्वअध्यक्ष एवं् पार्टी जिल्ला कमिटी सदस्य अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) को नामले प्राथमिकता पाएको छ। प्रदेश कमिटी सदस्य डा. रामकुमार अधिकारी, जिल्ला कमिटी सदस्य पार्वती खाँड, कुलमान विकको नाम पनि चर्चामा छ।

माओवादी केन्द्रबाट कमल सापकोटा, मनराज भण्डारी, दीपक विश्वकर्मा, सोम्बले तामाङ, युवराज खतिवडा, ध्रुव थापा मेयरका आकांक्षी हुन्।

धुनिबेसी नगरपालिका

धुनिबेसी नगरपालिकामा पनि मेयरका आकांक्षीले जनतासँग भोट माग्न थालेका छन्। धुनिबेसीमा एमाले, माओवादी केन्›, कांग्रेसले सांगठनिक गतिविधि तीव्र पारेका छन्।

धुनिबेसी नगरपालिकाको मेयरमा एमालेबाट धादिङ ३ नं. क्षेत्रका अध्यक्ष बालकृष्ण आचार्य, नगर कमिटी संयोजक रामराजा पाण्डे, जिल्ला कमिटी सदस्य सुरेश आचार्य, विनोद पाण्डेलगायतको नाम चर्चामा छ।

कांग्रेसका युवा नेता राजकुमार पाठक, मधुकुमार श्रेष्ठ, दीपेन्द्र पाठक, कुवेर गजुरेल, गोविन्द पाण्डे, अर्जुन उप्रेती, जीवनाथ ढकाललगायत मेयरका आकांक्षी देखिएका छन्। माओवादी केन्द्रबाट दीपक लामिछाने, गणेश रेग्मी, राजन रेग्मी पार्टीबाट मेयरको टिकट हात पार्ने दाउमा छन्।

नुवाकोट

 नगरपालिका मेयरका लागि दाबी गर्नेमा नुवाकोटमा नयाँ भन्दा पुरानो पुस्ता धेरै देखिएका छन्। क्रियाशील पाँच दलका कार्यकर्ताले चर्चामा ल्याएका मेयरका सम्भावित उम्मेदवार अधिकांश युवाभन्दा पाका छन्।

 नुवाकोटमा दुई नगरपालिका छन्। कांग्रेस, एमाले, माओवादी, राप्रपा, नयाँशक्ति पार्टीका कार्यकर्ताले सम्भावित उम्मेदवारको नाम चर्चामा ल्याएका छन्।

विदुर नगरपालिका

विदुर नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसको तर्फबाट धुव्र अधिकारी, भरत खड्का, विन्दा अर्याल, विष्णु आचार्य, हरिकृष्ण श्रेष्ठलगायतको चर्चा छ। मेयरमा आकांक्षी बनेर प्रचार गरिरहेकाहरू अधिकांश कांग्रेसका पुराना कार्यकर्ता हुन्।

 एमालेबाट पूर्वप्रमुख ठाकुरप्रसाद गजुरेलको नाम चर्चामा छ। गजुरेलले यसअघि दुई कार्यकाल चलाइसकेका छन्। त्यस्तै बुद्धि प्रधान, पार्वती प्याकुरेल, ठाकुर गजुरेल, नारायणबहादुर खनाल, सञ्जु पण्डितलगायतको चर्चा छ।

माओवादी केन्›ले लीलानाथ न्यौपाने, सुभद्र नेपाल, कल्पना रिमाल, राजेन्› महर्जनमध्येबाट मेयरको उम्मेदवार बनाउने सम्भावना छ। पार्टी अध्यक्ष हीरानाथ खतिवडालाई पनि केही नेताले मेयरको उम्मेदवार भनेर प्रचार गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा कमानसिंह लामा, विष्णुप्रसाद सापकोटा, पूर्णलाल श्रेष्ठको चर्चा छ।

आन्दोलनरत नयाँ शक्ति नेपालले पनि नुवाकोटमा चुनावी माहोल बनाएको छ। विदुर नगरपालिकाको मेयरका लागि नयाँशक्ति पार्टीबाट नवराज ढुंगाना, चेतनाथ अधिकारी, भीमलाल तामाङ, शर्मिला थापाको नाम आएको छ।

बेलकोटगढी नगरपालिका

कांग्रेसबाट नुवाकोटको बेलकोटगढी नगरपालिकामा भूपेन्द्र बानियाँ, प्रतापसिंह लामाको नाम चर्चामा छ।

एमालेबाट निवर्तमान अध्यक्ष वासुदेव कडुवाल आकांक्षी छन्। कडुवाल पछि हट्दा ठाकुर पुडासैनी र विष्णु लोहनीमध्ये एकले टिकट पाउने नेताहरुको ठम्याइ छ। माओवादी केन्›बाट मुकुन्द पौडेल, जगतबहादुर लामा र रामप्रसाद ढुंगानाको नाम  चर्चामा आएको छ। नयाँ शक्ति पार्टीबाट राजकुमार रेग्मी, नवराज ढुंगानाको नाम अघि बढेको छ भने राप्रपामा ईश्वर दाहाल, माधव पौडेलको नाम चर्चामा छ।

ध्रुव दङ्गाल/सिन्धुपाल्चोक, रमेशकुमार पौडेल/चितवन, रमेश खतिवडा/दोलखा र शंकर श्रेष्ठ/धादिङ को सहयोगमा

प्रकाशित: २८ चैत्र २०७३ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App