८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

साधुसन्त संसार

पशुपति परिसरमा भक्तजनले बाँड्दै गरेको पैसाका लागि हात फैलाउँदै साधु।

काठमाडौं– भारत, इलाहाबादबाट शिवरात्रिमा पशुपतिको दर्शन गर्न आएका ८० वर्षीय रामसजीवन गिरी बालब्रह्माचारी हुन्। सानैदेखि घर–गृहस्थी छाडेर आश्रम जीवन जिउँदै आएका यी साधुले जीवनमा थुप्रै उतारचढाव देेखे। कुटीमा रहेर गृहस्थ जीवन जिउनेको उतारचढाव समेत नियालेका उनी अन्ततः गृहस्थ जीवन नै उत्तम रहेको बताउँछन्।

'अब त साधुका नाममा कतिपय ढोंगी भेटिन थालेका छन्', शुुक्रबार पशुपति परिसरमा भेटिएका उनले भने, 'साधु जीवनभन्दा गृहस्थ नै उत्तम देख्दै छु।'

भारतबाट शिवरात्रि मेला भर्न आएका साधु भन्छन्– तन मात्र के, मनै जोगी भए हो, नत्र जीवन त गृहस्थ नै ठीक।

भगवान् रामका भक्तसमेत रहेका उनले रामले पनि गृहस्थ जीवन नै अँगालेको सुनाउँदै मनको भाव राम्रो भए जहाँ बसे पनि भगवान् भेटिने सुनाए। 'मन जोगी पो जोगी', उनले भने, 'तन मात्र जोगी देखाएर के गर्ने?'

पशुपतिनाथे दर्शनका लागि नेपाल र भारतका विभिन्न ठाउँबाट आएका ४ हजारभन्दा बढी साधुसन्तको जमघटले यतिखेर पशुपति क्षेत्र परिसर साधुमय बनेको छ। सच्चा साधु भेटाउन भने मुस्किल छ। संसार त्यागेर आएका भन्नेहरू साधु भेषमै ५–१० रुपैयाँका लागि लुछाचुँडी गरेको पनि देखियो।

शुक्रबार कोही बाध्यताले साधु बनेका त कोही मौसमी साधु पनि भेटिए। कोही ज्ञानले भरिएका थिए त कोही धुवाँले घेरिएका। कोही संगीतको धुनमा 'बोम भोले' भन्दै रमाउँदै थिए त कोही पैसा पछ्याउँदै थिए। उनीहरूले जीवनलाई आ–आफ्नै ढंगले व्याख्या गरे।

महाराष्ट्रको नासिकबाट आएका अनिल गिरीले आफू बाध्यताले साधु भएको सुनाए। बाल्यकालदेखि नै मेहनती स्वभावका गिरीको १८ वर्ष उमेरमा दाहिने हात उखु काट्ने मेसिनमा परेर काटियो, त्यसपछि उनी साधु बन्न पुगे। 'मेहनत गर्न नसकेपछि हात फैलाउनुपर्‍यो', उनले भने, 'गेरुवा वस्त्र लगाउँदा हात फैलाउन झनै सजिलो भयो।'

भारतको नासिकबाट रेल चढेर दिल्ली, रक्सोल हुँदै नेपाल आएका उनी हात नकाटिएको भए खेतमा काम गरिरहेका हुन्थे। 'मागेरभन्दा मेहनत गरेर खानुको मजा धेरै छ', उनले सुनाए, 'काम गर्न नसक्दा साधु भएको छु नत्र यतिबेला खेतमा काम गरिहेेको हुन्थें।

बाध्यताले रोजेको साधु जीवनप्रति उनलाई कुनै गुनासो  छैन। 'अब जिन्दगी तीर्थ यात्रामा बित्दै छ', उनी भन्छन्, 'बाध्यताले बनाएकै भए पनि अबको बाँकी जीवन यही भेषमा बिताउनेछु।'

सिरहाबाट आएका लोहा लंगडी नागाबाबा पशुपति क्षेत्रमा बस्न थालेको दुई दशकभन्दा बढी भइसक्यो। ६७ वर्षीय बाबाले युवावस्थामै साधु जीवन अँगालेका हुन्। नांगो शरीरमा खरानी घस्दै आएका उनी शिवरात्रिका बेला सबैको आकर्षण बन्छन्। उनका तस्बिर संसारभरि छापिएका छन्। उनी तनले मात्र हैन, मनले पनि साधु नै भएको बताउँछन्। 'साधुसन्तको संगत बढ्दै गर्दा अन्ततः आफैं पनि साधु भएँ', उनले भने, 'सत्संगतले मानिसमा त्यसको प्रभाव पर्छ।'

संसार त्यागेर आएका भन्नेहरू साधु भेषमै ५–१० रुपैयाँका लागि लुछाचुँडी गरेको पनि देखियो पशुपतिमा।

रामदास वैरागीको कथा उस्तै छ। धनुषका उनले आठ वर्ष उमेरमा घर छाडे। भारतका विभिन्न राज्य हुँदै विगत पाँच दशकदेखि पशुपति राममन्दिर क्षेत्र बस्दै आएका उनी 'अपांग बाबा'का नामले समेत चिनिन्छन्। 'तन–मन दुवैमा साधु भाव हुनुपर्छ', उनले भने, 'तब मात्र समाज राम्रो देखिन्छ।'

सिरहाका ६१ वर्षीय गेनी राम दलित समुदायका हुन्। विगतमा उनले छोएको पानी चल्दैनथ्यो। उनलाई त्यो मन पर्दैनथ्यो। जब साधु भए, उनले दिएको प्रसाद चल्छ। 'गेरु वस्त्रले भेदभाव हटाएको जस्तो भान भएको छ', उनले भने, 'त्यसैले यो प्यारो लाग्छ।' तनमा गेरु वस्त्र भए पनि आफू गृहस्थ आश्रममै रहेको उनले सुनाए।

उनीसँगै रहेका ६३ वर्षीय रामसागर यादव भने आफूलाई साधु नै मान्छन्। ४५ वर्षको उमेरबाट उनी साधु भएका हुन्। 'गृहस्थ र साधु जीवन दुवैको अनुभव बटुलियो', उनले भने, 'जुन बाटो गए पनि भगवान्कै घर पुगिने भाव आएको छ।'

ताल-तालका जोगी

भनाइ छ– जुन जोगी आए पनि कानै चिरेका। शिवरात्रि अवसरमा पशुपतिनाथको दर्शनमा आएका जोगी भने तालतालका देखिए।

आर्यघाटमा जल्दै गरेका शवबाट निस्केको धुँवा, सामुन्नेको राममन्दिर क्षेत्रमा साधुसन्तले जगाएको धुनी र सल्काएको गाँजाले पशुपति क्षेत्र धुवाँमय बनेको छ। कोही हातमा त्रिशूल र चिम्टा बोक्दै जय शम्भो भन्दै थिए त कोही आगन्तुकलाई देख्नेबित्तिकै पैसाका लागि हात फैलाउँथे।

कोही मोबाइलमा गीत सुन्दै थिए भने कोही लट्टामा परेका जुम्रा निकल्न व्यस्त। दाउराको अभाव भन्दै कोही छेस्काछुस्की जम्मा पार्न लागेका देखिन्थे। कोही भने ऐना हेर्दै अनुहार सिँगार्न मस्त। कतिपय बाबा व्यापारतर्फ पल्केको समेत देखियो। तस्बिरका लागि पोज दिने अनि 'मनी–मनी' भन्दै विदेशीको पछि समेत लाग्थे। कतिपय भने खिचाएको पैसा नपाए पनि त्यही फोटो क्यामेरामा हेरेरै चित्त बुझाउँथे।

यहीबीच रंगीविरंगी लुगामा सजिएर पशुपति मन्दिरभित्र छिरेका नर–नारीले प्राचीन शिव लिंगसँगै नागाबाबाको 'आधुनिक लिंग'को दर्शन गरेको दृश्य निकै रमाइलो थियो। गाँजाको कडाइ गर्ने पशुपति क्षेत्र विकास कोषको सूचना बेवास्ता गर्दै गाँजा मल्दै गरेका साधुका अगाडि युवा झुम्मिने क्रम विगतझैं यसपालि पनि देखियो। घटेको होइन, बरु बढेकै देखिन्छ।

नागाबाबाको खरानी पहिरन

इलाहबादबाट आएका ६७ वर्षीय नागाबाबा महन्थ गिरी ३० वर्षदेखि निर्वस्त्र जीवन जिउँदै छन्। उत्तरप्रदेशको गर्मी होस् या हिमाञ्चल प्रदेशको चिसो, जता गए पनि आफूले कपडा नलगाएको उनले सुनाए।

कपडासँग नाता त्यागेका उनी खरानीलाइै नै आफ्नो वस्त्र मान्छन्। खरानी घसेर जिउ ढाकेका यी लट्टेबाबा पशुपतिनाथ आउन थालेको पनि थुप्रै वर्ष भयो। 'पशुपति बाबाको धाममा आउन पाउँदा निकै खुसी लाग्छ', उनले भने।

तन नांगिए पनि त्यसको भाव आफूमा नरहने उनी बताउँछन्। 'बच्चाजस्तै हौं', उनले भने, 'सबै नारीलाई आमाजस्तै ठान्छौं।'

धर्मअनुसार नागा जीवन अँगालेका उनले शरीरमा कपडा नभएको भान कहिल्यै नभएको बताए।

'हामीलाई जाडो पनि हुँदैन, लाज पनि लाग्दैन', बलिरहेको धुनीको खरानी देखाउँदै उनले भने, 'यही नै हाम्रो कपडा हो, जसले शरीरलाई न्यानो राख्छ।'

व्यवस्थित शिवरात्रि

यसपालिको शिवरात्रिमा पशुपति परिसर विगतभन्दा व्यवस्थित र शान्तपूर्ण देखिन्छ। शुक्रबार दर्शनार्थीको सहजताका लागि पशुपति क्षेत्र विकास कोÈले गौशाला हु“दै वनकालीतर्फको मार्ग, चावहिलबाट मित्रपार्कको मार्ग र सिफल जयवागेश्वरीको मार्ग व्यवस्थापन गरेको थियो।

शिवरात्रि अवसरमा नेपाली सेनाले हेलिकोप्टरबाट पशुपतिनाथ क्षेत्रमा पुष्पवृष्टि गर्‍यो। त्यस्तै, विभिन्न संघ संस्थाले पनि दर्शनार्थीका लागि अस्थायी स्वास्थ्य शिविर तथा भोजनको व्यवस्था गरे।

के हो शिवरात्रि?

शिवजी उत्पक्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणमा वर्णित छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोÈ भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।

यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइन्छ, भजनकीर्तन साथ धुनीमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ।

को हुन् शिव?

हिन्दू धर्मशास्त्रअनुसार तीन मुख्य देवता ब्रह्मा, विष्णु, महेश्वरमध्ये एक हुन् शिव जसको अर्थ मंगल, कल्याण पनि हुन्छ। यजुर्वेदमा शिवलाई शान्तिदाता बताइएको छ। शि अर्थात् पाप नाश गर्ने र व अर्थात् दाता।

के हो शिवलिंग?

शास्त्रअनुसार शिवको दुई शरीर मानिन्छ– स्थुल र सूक्ष्म। सूक्ष्म शरीरलाई लिंगका रुपमा बुझिन्छ। लिंगको अर्थमा धेरैलाई भ्रम छ। संस्कृतमा लिंगको अर्थ चिह्न हो। यसै अर्थमा शिवलिंगको प्रयोग भएको हो। शिवलिंग अर्थात् शिवचिह्न।

अर्धनारीश्वर

शास्त्रअनुसार शिवलाई अर्धनारीश्वर पनि भनिन्छ अर्थात् आधा पुरुष र आधा नारी। आधुनिक समयमा पुरुष र नारीबीच जति विभेदका कुरा गरिन्छ, प्राचीन समयमा भने नारीलाई पुरुषकै एक अंशको रुपमा सम्मान गरिएको शिवस्वरुप दृष्टान्त हो।

कथा

शिवपुराणमा सिकारीको कथा छ। जंगलमा ढिलो भएपछि सिकारीले बेलको रूखमा रात बिताएछन्। रूखमा जागै बस्नका लागि उनले एकएक पात चुँड्दै फ्याँक्न थाले। संयोगले त्यही रूखको तल शिवलिंग रहेछ। यसबाट शिवजी प्रशन्न भएर सिकारीलाई वरदान दिएको उल्लेख छ।

प्रकाशित: १४ फाल्गुन २०७३ ०२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App