काठमाडौं- महाशिवरात्रिमा पशुपति दर्शनका लागि पुग्ने दशनार्थीले सुविधैसुविधा पाउने भएका छन्। पशुपति क्षेत्र विकास कोष, सुरक्षा निकाय र अन्य संघसंस्थाले भक्तजनका लागि आवश्यक सबै बन्दोबस्त जुटाइसकेका छन्।
शिवरात्रि मनाउन आउने भक्तजनलाई लक्षित गर्दै कोषले पनि आन्तरिक तयारी चुस्त बनाएको छ। कोषले खानेपानी, घुम्ती शौचालय, भोजन, बासलगायतको व्यवस्था गरेको कोषका सदस्य सचिव डा. गोविन्द टन्डनले जानकारी दिए। उनका अनुसार पशुपति क्षेत्रमा आउने भक्तजनका लागि चार ठाउँमा भोजनको प्रबन्ध मिलाइएको छ। 'हामीले भक्तजनको गुनासो सुनेर सशुल्क टिकट हटाएका छौं', टन्डनले भने, 'यस वर्ष चार प्रहरको पूजा गर्न आउने भक्तजनका लागि पनि छुट्टै स्थान बनाएका छौं। लाममा बसेर मात्र भक्तजनले पशुपतिको दर्शन गर्न पाउनेछन्।'
मारवाडी सेवा समिति, रामानुज दास मारु मेमोरियल, श्री पशुपतिनाथ आरती परिवार, तिलगंगा सेवा समितिलगायतले स्वास्थ्य शिविर र पिउने पानी, भोजनलगायतको प्रबन्ध मिलाएको मारवाडी सेवा समितिका सुपरभाइजर पवनकुमार महतोले जानकारी दिए।
कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, तिलगंगा सेवा समिति, ग्रान्डी अस्पताल, काठमाडौं मेडिकल कलेजलगायतले मन्दिर परिसरभित्र चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर खडा गरेका छन्। दर्शन गर्न आएका आफन्त हराएमा खोजी गर्नका लागि मन्दिरको पछाडिपट्टि माइकको व्यवस्था गरिएको सशस्त्र प्रहरीका एसपी फणीन्द्रराज पौडेलले बताए।
'वृद्ध र अपांगका लागि पशुपति दर्शनको छुट्टै व्यवस्था गरेका छौं,' सदस्य सचिव टन्डनले भने, '१३ लाख भक्तजनलाई दर्शन गर्नका लागि चारैतिरका ढोका खुला गरेका छौं।' यस्तै पाँच सयभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ।
पशुपति क्षेत्र वरपर मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्यले गर्दा अत्यन्तै धुलो उडेकाले कोषले पानी छर्किन ट्यांकरको व्यवस्था गरेको छ। दशनार्थीका लागि सिफल चौर, पशुपति क्षेत्र विकास कोषको कार्यालय र तिलगंगामा पार्किङ सुविधा छ।
पशुपति क्षेत्रमा उच्च सतर्कता
सरकारले महाशिवरात्रिमा उच्च सुरक्षा सतर्कता अपनाउने भएको छ। नेपाल प्रहरीका चार हजार, सशस्त्रका १६ सय र राष्ट्रिय अनुसन्धानका चार सय सुरक्षाकर्मी खटिएका छन्। प्रहरी उपरीक्षकको नेतृत्वमा सुरक्षा टोली खटाइने महानगरीय प्रहरी वृत गौशालाका प्रमुख डिएसपी नवराज कार्कीले बताए। 'महाशिवरात्रिलाई लक्षित गरेर उच्च सुरक्षा सावधानी अपनाइएको छ,' उनले भने, 'बिहीबारदेखि पशुपति परिसरमा उच्च सुरक्षा व्यवस्था मिलाइसकेका छौं। सुरक्षा व्यवस्था शनिबारसम्म जारी रहनेछ।' डिएसी कार्कीका अनुसार ११ ठाउँमा सबकमान्ड पोस्ट र ३१ ठाउँमा सुरक्षा जाँच गरिनेछ। दर्शनार्थी मन्दिर प्रवेश गरेको प्रवेशद्वारबाटै फर्किने व्यवस्था गरिएको छ।
कोषका अनुुसार चाबहिल, गौरीघाट, बौद्ध र गोठाटारतर्फबाट मन्दिर पुग्ने दर्शनार्थीलाई उत्तरढोकाबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ। मित्रपार्क, जयवागेश्वरी, रातोपुल र कालो पुल क्षेत्रका दशनार्थीले पश्चिम ढोकाबाट मन्दिर प्रवेश गर्न सक्नेछन्। गौशाला, पुरानो बानेश्वर, पिंगलास्थानबाट आउने दशनार्थीले मन्दिरको दक्षिण ढोकाबाट प्रवेश गर्न सक्नेछन्। विशिष्ट व्यक्तित्वका लागि पश्चिम ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ।
प्रकाशित: १३ फाल्गुन २०७३ ०४:१३ शुक्रबार