८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सेउती खोला मिचेर हेल्थ करिडोर बनाएको भन्दै मेयरले रोके काम

विकास अवरोध गरेको भन्दै स्थानीय रुष्ट

मेयरले सेउती हेल्थ करिडोरको काम रोकेपछि विरोधमा उत्रिएका स्थानीय, र सेउती खोलामा बिछ्याइएको तारजाली। तस्बिर: रोहित राई

संघीय बजेटबाट धरान ५ तल्लो देउरालीमा निर्माण भइरहेको हेल्थ करिडोरले सेउती खोला मिचेको भन्दै मेयर हर्क साम्पाङले काम रोकेका छन्।

स्थलगत निरीक्षणको क्रममा पुगेका मेयर साम्पाङले करिडोर निर्माणको काम खोलातर्फ बढी मिचेको पाएपछि तत्काल काम रोक्न निर्देशन दिएका थिए। मेयरको निर्देशन पछि तटबन्ध निर्माणको काम २ दिनयता रोकिएको छ। साथै, मेयर साम्पाङले तारजाली १० फिट पुर्वतर्फ सारेर मात्र काम गर्न पनि ठेकेदारलाई निर्देशन दिएका छन्। उनको निर्देशनले काम रोकिएपछि स्थानीयबासीहरु भने रुष्ट भएका छन्। नगरकै प्राविधिकको उपस्थितिमा सहमति भएर काम हुदै गर्दा एक्कासी मेयर साम्पाङले रोकेर विकासमा अवरोध गरेको भन्दै स्थानीयबासिन्दाहरुले भने विरोध जनाएका छन्।

संघीय बजेटबाट १४० मिटरको करिडोर निर्माण गर्न डिपिआर बनेको थियो। करिडोर ४० फुटको हुनेछ। जसमा सडक, हेल्थ पार्क पनि निर्माण हुनेछ। शुरुमा ५० फुटको सर्वे गरिए पनि खोलाको क्षेत्र कति छुट्याउने भन्ने विवादले ४० फुटमा सिमित गरिएको थियो। गत बर्ष पनि विवाद भएपछि ३० लाख बजेट फ्रिज भएको थियो। यो वर्ष ५० लाखको काम शुरु भएको छ। तर, मेयर साम्पाङले काम रोकिदिदा बजेट फ्रिज होला कि भन्ने चिन्ता स्थानीयबासीमा छ । करिडोर निर्माण नहुदा बर्षामा आउने बाढीले कटानको चपेटामा पर्ने चिन्ताले सताएको सामुदायिक टोल विकास संस्थाका अध्यक्ष कवि याक्खाले बताए।

याक्खाका अनुसार नगरपालिकासँग समन्वय गरेर नगरकै प्राविधिकको रोहबरमा काम भइरहेको थियो। अहिले एक्कासी काम रोकिदा समस्या भएकोले आफुहरु विरोधमा उत्रनुपरेको उनले बताए। ‘कि त काम शुरु नहुदै भन्नु पथ्र्यो । यति धेरै खर्च भइसकेपछि तारजाली सार्नु भनेर कसरी हुन्छ?,’ पत्रकार सम्मेलन गर्दै उनले भने,‘यो त विकासको काममा अवरोध भयो । हामीलाई मान्य हुनेछैन । यसरी त कामै हुदैन।’

यता, मेयर साम्पाङले भने खोला मिचेर करिडोर बनाउन नदिने अडान राखेका छन्। उनले करिडोर खोलातिर बङ्ग्याएर तटबन्ध गर्ने र ऐलनी जग्गा निकाल्ने नियत राखिएको भन्दै खोला मिच्न नदिने बताए। उनले भने,‘प्रकृतिमा मान्छे मात्र बाँच्ने हो त? खोलानाला, वनजंगल चाहिदैन? त्यसलाई पनि बचाउनुपर्छ। मेरो कार्यकालभरि खोला मिच्न दिदैनौं।’

स्थानीयले विकासमा अवरोध गरेको आरोप लगाएकोबारे उनले आफू विकासकै लागी विगत ११ महिनादेखि ढुंगा बोकीरहेको बताए। काम रोक्दा स्थानीयलाई दुःख लागेपनि खोला, वनजंगल जोगाउने मात्र आफ्नो उद्देश्य भएको जिकिर गरे। ‘मलाई अन्यथा नमान्नु, म विकास विरोधी होइन। तर, खोला मिचेर जग्गा निकाल्न दिन्न। जाली बिछ्याएको मात्र छ, त्यसलाई सारेर काम अघि बढाउनुपर्छ भनेको छुँ,’उनले भने।  

प्रकाशित: ५ वैशाख २०८० ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App