जलवायु परिवर्तनले विश्वमा गम्भीर प्रभाव पारिरहेका बेला सूर्यको प्रकाशलाई पृथ्वीमा आउन नदिई परावर्तन गर्न विश्वका ७० वैज्ञानिकले सुझाव दिएका छन्। वायुमण्डलीय तथा जलवायु विज्ञानको क्षेत्रमा काम गरिरहेका यी वैज्ञानिकले तत्कालका लागि ‘सौर्य विकिरण समायोजन (सोलार रेडिएसन मोडिफिकेसन–एसआरएम)’ गरेर पृथ्वीमा भइरहेको तापमान वृद्धि र जलवायुजन्य जोखिमलाई घटाउनेतर्फ थप अध्ययन र अनुसन्धानका लागि विश्व समुदायलाई आग्रह गरेका हुन्। यो विषयमा विश्वमा थप बहस र सहयोग हुनुपर्नेमा उनीहरूको जोड छ।
यी वैज्ञानिकहरूले सोमबार सार्वजनिक गरेको खुलापत्रमा जलवायु परिवर्तनले जनस्वास्थ्य, आर्थिक सुरक्षा, अन्तर्राष्ट्रिय स्थिरतालगायत पृथ्वीको पारिस्थितिकीय प्रणालीमा निम्त्याएको खतरालाई निस्तेज पार्न यो अनुसन्धान आवश्यक रहेको दाबी गरेका छन्। जलवायु परिवर्तन सिर्जित चुनौती थेग्न र अनुकूलित हुन प्राकृतिक प्रणालीमा रहेको सीमारेखा पार हुन लागेको वर्तमान सन्दर्भमा वैज्ञानिकको यस्तो सुझाव आएको हो।
पछिल्ला आकलनले पृथ्वीको तापमान औद्योगिक क्रान्ति सुरु हुनुअघिको अवधिभन्दा १.१ डिग्री सेन्टिग्रेडले बढिसकेको छ। जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले यो शताब्दीको अन्तसम्म पृथ्वीको सरदर तापमान वृद्धि १.५ देखि २ डिग्री सेन्टिग्रेडभित्रै राख्न निर्देश गरे पनि यो अवधिमा पृथ्वीको तापमान साढे दुई डिग्रीभन्दा बढीले बढ्ने र यो लक्ष्य हासिल गर्न असम्भवप्रायः भएको वैज्ञानिक तर्क छ। पेरिस सम्झौताले तोकेको सीमाभित्रै तापमान वृद्धि हुँदा पनि यसले मानवीय, पारिस्थितिकीय तथा विश्वव्यापी आर्थिक प्रणालीमा जोखिम निम्त्याउने र फर्कन नसकिने बिन्दुमा पृथ्वीको विद्यमान प्रणाली पुग्ने मानिएको छ।
आफ्नो खुलापत्रमा यी वैज्ञानिकले पृथ्वीको तापमान बढ्न नदिन उत्सर्जन कटौती महत्त्वपूर्ण रहेको तर हरितगृह ग्यासको विगतमा भएको उत्सर्जन र हाल भइरहेको उत्सर्जनले तापमान वृद्धिमा गरेको बढोत्तरीलाई सम्बोधन गर्न यथेष्ट स्तरको प्रयास नभएको बताएका छन्। पृथ्वीको तापमान बढाउन कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड लगायत हरितगृह ग्यासको प्रमुख भूमिका रहेको छ।
यसविपरीत मानव गतिविधिका कारण वायुमण्डलमा उत्सर्जन हुने सूक्ष्म कण (एरोसोल)ले जलवायुलाई चिसो पार्न सहयोग गर्छ। यस्ता सूक्ष्म कणमा सूर्यको किरण पर्दा किरण छरिन जान्छ। यसैगरी यी कण बादलमा मिसिँदा बादलको परावर्तनीय क्षमता र आयु बढ्ने गर्छ। यही प्रक्रियाले उत्सर्जित हरितगृह ग्यासको एक तिहाइ मात्रा नियन्त्रण (अफसेट) गर्न सहयोग पुग्ने र यसले तापमान बढ्न नदिने मानिन्छ। एरोसोल प्रभावको यही कारणले पृथ्वीको तापमान बढाउन हरितगृह ग्यासको ठ्याक्कै कति भूमिका छ भन्नेमा अनिश्चितता हुने गरेको छ।
अर्काेतर्फ एरोसोलका कारण हुने बायु प्रदुषणका कारण जनस्वास्थ्य र वातावरणमा प्रतिकुल प्रभाव पार्ने भएकाले हाल विश्वले वायु प्रदुषण नियन्त्रणमा प्रभावकारी कदम चालेको छ र यसले एरोसोल उत्सर्जन क्रमश घट्टो क्रममा छ। एरोसोल वायुमण्डलमा एक साता भन्दा कम अवधीसम्म मात्र रहने भएकाले यिनको उत्र्सजनमा कमी आउदा जलवायु चिसिने स्रोतमा समेत कमी आउने भएकाले आगामी दशकमा यसले पृथ्वीको तापमानमा थप वृद्धी हुन सक्ने आकलन गरिएको छ।
वैज्ञानिकहरुले हरितगृह ग्यास र एरोसोल उत्सर्जनको सम्भाव्य परिदृश्यको समिक्षा गर्दा समेत पृथ्वीको तापमान वृद्धी १.५ डिग्री सेन्टिग्रेडमा सिमित राख्न वायुमण्डलमा हाल रहेको कार्बन डाइअक्साईड उल्लेख्य रुपमा हटाउन आवश्यक रहेको बताएका छन्। भौतीक हिसाबले सम्भव माने पनि कार्बन डाइअक्साईड हटाउन वातावरणीय, प्रविधिक र आर्थिक हिसाबले महगो पर्छ र निकट भविष्यमै यो सम्भव नरहेको मानिएको छ।
हरितगृह ग्यास उत्सर्जन कटौतीको विद्यमान अवस्था तथा वायुमण्डलमा हाल रहेको कार्बन डाइअक्साईड हटाउने योजनामा देखिएको सुस्त प्रगतिको पृष्ठभूमिको सुर्यको उर्जा पृथ्वीमा प्रवेश गर्दा तथा वहिगर्मनमा प्रविधिगत हस्तक्षेप गर्न आवश्यक रहेको खुला पत्रमा हस्ताक्षर गरेका ७० वैज्ञानिकहरुको ठम्याइ छ।
उनीहरुले यसका लागि तीन प्रस्ताव गरेका छन्। पहिलो प्रस्ताव अनुसार वायुमण्डलको दोस्रो तह अर्थात समतापमण्डलमा सुर्यका किरणलाई छर्न सक्ने कणहरु अर्थात एरोसोलको मात्रा बढाउन एरोसोल अन्तक्षेपण (इन्जेक्सन) गर्न सकिन्छ। यसैगरी दोस्रो उपायमा समुन्द्र माथि नजिकै रहेका बादलमा सामुन्द्रिक नुन सहितका एरोसोल स्पे्र गरेर त्यसको परावर्तनिय क्षमता(रेफ्लेक्टिभिटी)लाई बढाउन सकिन्छ।
त्यस्तै अर्काे उपाय भनेको वायुमण्डलको उपल्लो भागमा रहने सिरस बादललाई पातलो पार्न र पृथ्वीका रहेका हानीकारक विकिरणलाई अन्तरिक्षमा पठाउन उक्त तहमा एरोसोल विजारोपण (सिडिङ) गर्न सकिन्छ। क्लाइमेट इन्जिनियरिङ मार्फत गरिने यो विधीलाई साइरस क्लाउड थिनिङ(सिसिटि)पनि भनिन्छ।
वैज्ञानिकका अनुसार सुरुका दुई उपायले पृथ्वीमा आउने सूर्यको प्रकाशलाई केही नियन्त्रण गर्न सकिने भएकाले यसलाई सौर्य विकिरण समायोजन (सोलार रेडिएसन मोडिभिकेसन–एसआरएम) मान्न सकिन्छ भने तेस्रो उपाय अर्थात् सिसिटीले पृथ्वीको सतहमा सूर्यको प्रकाशलाई प्रवेश गर्ने क्रमलाई खासै प्रभाव नपार्ने देखिएको छ।
खुलापत्रमा वैज्ञानिकहरूले यी विधिले पृथ्वीको तापमान वृद्धि रोक्ने सम्भावना बोकेको दाबी गरेका छन्। हरितगृह ग्यास उत्सर्जनको बढ्दो स्तर र एरोसोलको सघनताको फरक परिदृश्यमा वैज्ञानिकद्वारा प्रस्ताव गरिएका यी विधि कति सफल होलान् भन्ने विषय महत्त्वपूर्ण रहे पनि जलवायु परिवर्तनका गम्भीर प्रभावलाई न्यून गर्न कुनै एक उपाय अवलम्बन गर्न चर्काे दबाब सिर्जना हुने वैज्ञानिकहरूको राय छ।
सौर्य विकिरण समायोजन (एसआरएम)का विषयमा हालको ज्ञानको स्तर अपर्याप्त रहेको चर्चा गर्दै वैज्ञानिकले यस विषयमा थप अध्ययन गर्न आवश्यक रहेको बताएका छन्। उनीहरूले सौर्य विकिरण समायोजनसम्बन्धी अनुसन्धानमा आफ्नो समर्थन रहेको तर यसको प्रयोगका लागि बृहत् क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समीक्षात्मक अध्ययन आवश्यक रहेको र यसमा सामूहिक निर्णय प्रक्रिया अवलम्बन गर्नुपर्ने बताएका छन्।
‘यो विषयमा आगामी एक अथवा दुई दशकमा निर्णय गर्नुपर्ने भएकाले तत्काल यसको अन्तर्राष्ट्रिय वैज्ञानिक समीक्षा अध्ययन हुन आवश्यक छ,’ खुलापत्रमा भनिएको छ। यो विषयको अध्ययन पारदर्शीपूर्ण र तथ्यांकमा खुला पहुच हुनुपर्ने उनीहरूको सुझाव छ। खुलापत्रमा हस्ताक्षर गर्नेमा अमेरिका, बेलायत, भारत, क्यानडा, फ्रान्स, दक्षिण कोरिया, ब्राजिल, जर्मनी, इन्डोनेसिया, नर्बे, माली, थाइल्यान्ड, बंगलादेश, मलेसिया, स्विटजरल्यान्ड, भियना, इटाली र अस्ट्रेलियाका वैज्ञानिक रहेका छन्।
हस्ताक्षर गर्नेमा वासिङटन विश्वविद्यालयका एटमसफेरिक साइन्स वैज्ञानिक डा. सराह जे डोहर्टी, बेलायतका एक्सेटर विश्वविद्यालयका जिम हेउड, भारतका डा. गोविन्दसामी बाला, फ्रान्सका ओलिभियर बाउचर, ब्राजिलका पाउलो अर्टाक्सो, दक्षिण कोरियाका सिओङ सो युम, क्यानडाका हान्सी सिंह, इन्डोनेसियाका हेरी कुस्वान्टो, जर्मनीका फेबियन होभम्यान, थाइल्यान्डका पोरनापे नरेनपिटक, मलेसियाका माओ लिओङ टान, स्विटजरल्यान्डका गेब्रियल सोरोसियन लगायत छन्।
प्रकाशित: १७ फाल्गुन २०७९ ०१:५१ बुधबार