१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मंगलामा राष्ट्रिय परिचयपत्र दर्ता शिविरमा सर्वसाधारणको भिड

म्याग्दीको मंगला गाउँपालिकाको वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सुरू भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा गाउँपालिकाको वडा न ५ अर्मन बाहेक ४ वटै वडामा घुम्ती शिविर सुरु भएको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताए। ‘अर्मनमा अर्को मिति तय हुन्छ,‘अन्य वडामा तोकिएकै समयमै सकिन्छ’ खत्रीले भने।  

एउटा वडामा दुई वटा स्टेसनबाट जैविक र व्यक्तिगत विवरण दर्ता गर्नेभइरहेको गाउँपालिकाका एमआइएस अप्रेटर लोकनाथ सापकोटाले बताए।  दर्ता शिविरमा स्थानीयको उत्साहजनक सहभागिता रहेको छ। उनले अनुसार फागुन २ गतेदेखि १२ गतेसम्म परिचयपत्र दर्ता गरिने छ। शिविरमा विभिन्न १३ किसिमका सामग्री सहित ८ जना जनशक्ति परिचालन गरिएकोमा  वडा स्तरमा जनप्रतिनिधि सहितको टोली समेत खटिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं १ कुहुँका अध्यक्ष एकजित रोकाले बताए।  ‘हामीले घरदैलोमै पुगेर समेत ल्याउँछौ, कोहीलाई पनि छुट्न दिन्नौ’ अध्यक्ष रोकाले भने।  शिविरमा सक्कल नागरिकता, विवाहितको हकमा सक्कल विवाहदर्ता वा नाता खुल्ने सक्कल सरकारी परिचयपत्र आवश्यकता पर्ने गरी वडा स्तरमा सूचना समेत गरिएको छ। 

बेनी नगरपालिकामा समेत छुटेकालाई अझै दर्ताको काम भइरहेको अवस्थामा मंगला सकिएपछि टोली मालिका गाउँपालिकातर्फ जाने छ। सरकारले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्याङ्कका आधारमा राष्ट्रिय परिचय नं सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र दर्ता गर्न घुम्ती टोली परिचालन गरेको हो।

उक्त परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ। सोह्र वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले नेपाली उक्त परिचयपत्र लिने सक्ने व्यवस्था रहेको छ।व्यक्तिका वैयक्तिक र जैविक सूचनालार्ई आधिकारिक रूपमा सङ्कलन गरी प्रत्येक नागरिकलार्ई एक अर्कासँग मेल नखाने परिचय नं दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य रहेको छ। नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचयपत्र हो। 

प्रकाशित: २ फाल्गुन २०७९ ०८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App