१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

अनुदानले थप्यो सुरक्षा चुनौति

सिन्धुपाल्चोक- इर्खु–१, सिन्धुपाल्चोकका बुद्धिबहादुर बिकले गत मंगलबार चौतारास्थित जनता बैंक शाखाबाट आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ झिके। उत्साहको ‘बन्डल’ बोकेर घर पुगेका उनी रातभर निदाउन सकेनन्। बुद्धिबहादुर छट्पटाउन थालेपछि पत्नि कल्पनालाई पनि चिन्ता थपियो। चोर लाग्ने डरले बिक दम्पतिले छट्पतिमा रात गुजारे । ‘जिउ ज्यानकै सवाल भो,’ घर बनाउने रकमको सुरक्षा खोज्दै भोलिपल्ट चौतारा आइपुगेका उनीहरुले भने ।

                मेगा बैंक शाखामा अर्को खाता खोलेर रकम जम्मा गरेपछि मात्र बिक दम्पत्ति ढुक्क देखिए। ‘जस्ताको अस्थायी टहरो छ । तालाबन्दी गर्ने व्यवस्था छैन,’ दसैँ सकिए लगत्तै घर बनाउने योजना सुनाउँदै कल्पनाले भनिन्, ‘घरमै बसिरहन पाइन्न । मेलोपर्म गर्नै पर्यो। त्यतिञ्जल पैसा चोरी हुन के बेर!’ चोर वा लुटेराले रकमका लागि ज्यानैसम्म लिन सक्ने खतरा देखेर जम्मा गर्न आएको बुद्धिहादुरले सुनाए।

                पीपलडाँडा, गिदाने सिन्धुपाल्चोककै हिमाल खत्रीले पनि मेगा बैंक शाखाबाट पहिलो किस्ता निकाले। ५० हजार हात पर्ने बित्तिकै उनमा छट्पपटि सुरु भइहाल्यो, रकम कसरी सुरक्षा गर्ने भन्ने चिन्ताले। तर उनमा उपाय सुझिसकेको छैन । ‘अस्थायी टहरो नै असुरक्षित छ,’ तिहारपछि घर बनाउने योजनामा रहेका उनी भन्छन्, ‘घरमा राखौं चोरिने, लुटिने डर छ। साथमै राख्दा खर्च हुने पिरालो भो।’

                पुनर्निर्माण प्राधिकरणले आवास निर्माणका लागि अनुदान सम्झौता र पहिलो किस्ता निकासालाई तीव्रता दिएपछि रकम झिक्न बैंकहरुमा पीडितको ठूलो भीड लाग्न थालेको छ । एकसाथ गाउँ–गाउँ भित्रिने ठूलो रकमले सुरक्षा चुनौति थपिएको छ। असुरक्षित टहरोमा चोरीको बिगबिगी बढ्ने, लुटेरा सक्रिय हुने र अपराधिक घटना बृद्धि हुन सक्ने खतरा सरकारका अधिकारी नै औँल्याउँछन्।

                ‘सुरक्षा चुनौति थपियो,’ सबैभन्दा बढी लाभग्राही रहेका सिन्धुपाल्चोक विशेष सम्पर्क कार्यालय प्रमुख भुवनेश्वर लामिछानेले भने, ‘अहिलेसम्म अप्रिय घटना नघटे पनि नहोला भन्न सकिन्न ।’ उनका अनुसार भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा साढे ७८ हजारभन्दा बढी लाभग्राही छन् । झण्डै ७३ हजारभन्दा बढी लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा ७१ हजार पीडितलाई पहिलो किस्ता ५० हजार रुपैयाँको दरले रकम निकासा भइसकेको छ । उनीहरुलाई मात्र ३ अर्व ५५ करोड रुपैयाँभन्दा बढी निकासा दिइएको छ ।

                ‘गावै खाली गर्दै ट्रक रिजर्भ गरेर बैंक आएका पीडित देख्दा धेरै रकम गाउँ भित्रिएको छ,’ प्राधिकरण विशेष सम्पर्क कार्यालय प्रमुख लामिछानेले भने । रकम तत्काल ननिकाले फिर्ता जाने हो कि भन्ने भ्रम पीडितमा रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल बताउँछन्। ‘यो भ्रम चिर्न नसक्दा अनुदानले सुरक्षा चुनौति थपिएको हो,’ उनले भने।

                केही दिनअघि मात्र धादिङमा बैंकबाट पहिलो किस्ता रकम निकालेर घर फर्कँदै गरेका एक पीडित बाटैमा लुटिएको घटना सार्वजनिक भएको थियो। सिन्धुपाल्चोकमा यस्तै अप्रिय घटना भयो । अनुदानले गर्दा एक पीडितले ज्यानै गुमाउनु पर्यो। मेलम्चीस्थित देव विकास बैंकबाट पहिलो किस्ताको ५० हजार रुपैयाँ झिकेर घर फर्कँदै गर्दा बाँसखर्क–५ का ७२ वर्षीय कुन्डोग्याल्वो तामाङलाई गत सोमबार खहरे खोलाले बगाउँदा उनको मृत्यु भयो । ‘प्लास्टिकमा पोको पारेर खल्तीमा राखेकाले पैसा भने जोगियो,’ इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर निरज डाँगीले भने । खहरे तर्ने क्रममा तामाङ चिप्लिएपछि बगाएको थियो ।

                राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलिया पनि अनुदानले सुरक्षा चुनौति थपिएको स्वीकार्छन् । ‘यस विषयमा हामीले पनि सुरुमै ध्यान दिन सकेनौं,’ उनले भने । अनुदान रकम जहिले निकाल्दा पनि हुने उनले बताए । ‘यो तपाईँहरुकै पैसा हो कसैले फिर्ता लैजान सक्दैन । फुर्सदमा निकाल्दा हुन्छ,’ उनले पीडितलाई आग्रह गर्दै भने । घर बनाउन सुरु गर्ने बेलामा मात्र रकम निकाल्न प्रवक्ता थपलिया सुझाउँछन् । थपिँदो सुरक्षा चुनौतिलाई ध्यान दिँदै पीडितको भ्रम तत्काल हटाउन सार्वजनिक अपिल गरिने उनले जनाए ।

                प्राधिकरणले मुख्य प्रभावित ११ जिल्लाका ५ लाख ३१ हजार पीडितसँग अनुदान सम्झौता र पहिलो किस्ता वितरण गरिरहेको छ । हालसम्म झण्डै साढे ४ लाख लाभग्राहीसँग सम्झौता भइ ३ लाख ७१ हजार पीडितको बैंक खातामा पहिलो किस्ता गइसकेको छ । अब १८ प्रतिशत पीडितसँग मात्र सम्झौता बाँकी छ । प्राधिकरणले पीडितलाई पहिलो किस्तामा १८ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी रकम निकासा दिइसकेको छ ।

                सिन्धुपाल्चोक चौतारास्थित मेगा बैंकमा प्रवन्धक धरणिधर सापकोटा तुरुन्तै रकम जे पनि हुन सक्छ भन्ने सोचाइ पीडितमा रहेको अनुभव सुनाउँछन् । यो बैंकले ३ हजारभन्दा बढी लाभग्राहीलाई अनुदान बाँड्ने अनुमति पाएको छ । ‘भिडमभिड गरेर १३ सयले पहिलो किस्ता लगिसके,’ उनले भने, ‘रकमै बोकेर हिँडेका छन् ।’ सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा पहिलो किस्ता निकासा भएकामध्ये झण्डै आधाले रकम निकालिसकेको अनुमान छ । धेरैले रकम गाउँमै लगेका छन् । केहीले मात्र सुरक्षामा चिन्ता जनाउँदै अर्को बैंकमा खाता खोलेर राखेका छन् । ‘झिकेर लैजानेको तुलनामा खाता खोलेर रकम सुरक्षा गर्ने निकै कम छन्,’ प्रवन्धक सापकोटाको अनुभव छ।

प्रकाशित: ३ आश्विन २०७३ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App