९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

उदयपुरमा पुन ३० क्युबिक फिट अवैध काठ बरामद

कटारीमा ३ दिनअघि २ जना युवासहित पक्राउ अवैध काठ। तस्बिरः महेश्वर

उदयपुरमा एकपछि अर्को ठाउँबाट अबैध काठ बरामद हुने क्रम जारी छ। गएको ३ दिनको अवधिमा ३ ठाउँबाट अवैध काँचो काठसहित ३ जना पक्राउ परिसकेका छन्।

शनिबार मात्र दुई ठाउँबाट अवैध काठ बरामद हुनुका साथै एक जना पक्राउ परेका छन्। दिउँसो १ः०० बजे सदरमुकाम त्रियुगा नगरपालिका ५ श्रीपुरबाट ३० थान अवैध काठ बरामद भएको छ। अबैध काठ ओसार पसार भईरहेको भन्ने सूचना प्राप्त भए अनुसार खटेको वन गस्ती टोलीले स्थानीय केदार कार्कीको गोठमा लुकाई छिपाई राखेको अवस्थामा आधार प्रमाण खुल्ने कागजात नभएको ३० थान बटम फेला पारेर बरामद गरिएको सवडिभिजन वन कार्यालय गाईघाटले जनाएको छ।

सवडिभिजन कार्यालयका रेन्जर बाबुराम फुयालले जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेड कारखाना नजिकै कुसुमटारस्थित बालविकास केन्द्र भवन आसपासमा काठ  ओसारपसार हुँदै गरेको अवस्थामा बरामद भएको बताए। काठ वैधानिक भएको प्रमाण फेला नपरेपछि नियन्त्रणमा लिएर अनुसन्धानका लागि स्थानीय सरस्वती सामुदायिक उपभोक्ता समूहको कार्यालय भवनमा सुरक्षित राखिएको उनले बताए।

काठ राखिएको घरधनी कार्की फरार रहेकाले खोजी भइरहेको छ। सामुदायिक वन समूह र वन कार्यालयको अनुमतिबेगर काठ काटेको हुनसक्ने अनुमान गरिएकाले वन समूह र सबडिभिजनको समन्वयमा अनुसन्धान अघि बढाउन लागेको सरस्वति सामुदायिक वन समूहका अध्यक्ष दिपक बान्तवाललाई उद्धृत गर्दै रेन्जर फुयालले बताए। बरबमद काठको परिमाण २९.३४ क्युबिक फिट रहेको छ।

शनिबारै साँझ चौदण्डीगढी नगरपालिका १० खैराझोडा स्थित कुन्तीमाई सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रबाट काँचो काठको टुनासहित २० वर्षीय मञ्जित सदा पक्राउ परेका थिए। सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले चौदण्डीगढी १० हडियाका सदालाई स ७ प १५३ नं. को मोटरसाईकलमा सखुवा काठको टुना लोड गरिरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीले घट्नास्थलमा झाडीमा छोपेर लुकाई छिपाई राखेको अवस्थामा थप ४ टुना सखुवाको काठसमेत बरामद भएको जनाएको छ। बरामद काठ २८.५ क्युविक फिट रहेको जनाइएको छ। सदालाई काठ र मोटरसाईकलसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले बताए। घट्नाबारे थप अनुसन्धान गर्न प्रहरीले सवडिभिजन कार्यालय बेलटारको जिम्मा लगाएको बताइएको छ। उता कटारी नगरपालिका १ स्थित सुगाजोर सामु्दायिक वन समूहको जंगलबाट ३ दिनअघि मात्र १८ थान बटमसहित २ जना पक्राउ परेका थिए। डिभिजन वन कार्यालय कटारी, इलाका प्रहरी कटारी र सशस्त्र प्रहरी बल बेसक्याम्प कटारीको संयुक्त टोलीले अबैध काँचो काठसहित मधेस प्रदेश सिराहाको गोलबजार नगरपालिका १० घुर्मी बजारका २४ वर्षीय कृष्ण लिम्बु र कटारी १ का विकास मगरलाई पक्राउ गरेको थियो। 

विहान २ः०० बजे भएको घट्नास्थल सिराहा र उदयपुरको सीमाक्षेत्रमा पर्ने चुरे जंगल हो। पक्राउ पर्नेहरुको साथबाट २ थान पेट्रोलबाट चल्ने रुख ढाल्ने यन्त्र तथा अन्य बन्दोबस्तीका उपकरणहरु बरामद भएको डिभिजन वन कार्यालय कटारीका प्रमुख (डिएफऔ) विष्णुलाल घिमिरेले बताएका छन्। सो क्षेत्रमा ३ वटा सखुवाका काँचो रुख पनि ढालेको अवस्थामा भेटिएको डिएफओ घिमिरेले बताएका छन्।

प्रकाशित: २२ माघ २०७९ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App