काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुँदै नभएका कर्मचारीको नाममा तलब भत्तालगायतका सेवा सुविधा लिएको भन्दै राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृतसहित तीन जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार पाँचथर र उदयपुरमा कार्यालय प्रमुखका रुपमा कार्यरत अनुसन्धान अधिकृत पुष्पराज मिश्र, सहायक सूचक धनराज अधिकारी र उदयपुरको लेखाफाटमा कार्यरत सूचक प्रकाशकुमार राईले हुँदै नभएका कर्मचारीका नाममा तलब भत्ता, रासनबापतको रकम निकाली हिनामिना गरेको पाइएको छ ।
आयोगले तीनैजनालाई कसुरको मात्राअनुसार जरिवाना र कैद सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरेको जनाएको छ । यसैबीच आयोगले महोत्तरी बथनाहा गाविसका सचिव गुलाफ चौधरीलाई रु १० हजार घुस लिँदालिँदै पक्राउ गरेको छ ।
महिला समूहले भ्रमणका लागि गाविस कार्यालयबाट लिएको रु एक लाख फछ्र्यौट गर्न सेवाग्राहीबाट रु १० हजार घुस लिँदालिँदै आयोगको टोलीले स्थानीय महेन्द्र चोकबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका चौधरीको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस
प्रकाशित: २३ भाद्र २०७३ १५:१६ बिहीबार