८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पको उच्च जोखिममा सुदूरपश्चिम

गत कात्तिक २३ गते बिहान २२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गयो। भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भयो भने ७ जना घाइते भए।

यस्तै बाजुराको मौला आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गयो। भूकम्पले केही घरहरू भत्किए भने एकजनाको मृत्यु भयो।

यही घटनाले प्रमाणित गर्छ कि पछिल्लो समयमा पश्चिम नेपाल त्यसमा पनि सुदूरपश्चिम प्रदेश उच्च भूकम्पीय जोखिमको खतरामा छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार पछिल्लो ५ सय १८ वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा भूकम्प गएको छैन। यति लामो समयदेखि पश्चिम नेपालको जमिनमुनि भूकम्प गराउने शक्ति सञ्चित भएर बसेको बताउँदै उनले भने,‘सन् १५०५ देखि नेपालको गोरखादेखि पश्चिम भारतको देहरादूनसम्मको पहाडी क्षेत्रमा ठूलो भूकम्प गएको छैन, जसले गर्दा यहाँ ठूलो मात्रामा भूकम्प गर्ने शक्ति सञ्चित भएर बसेको छ।’

गोरखामा २०७२ सालमा ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो। त्यसअघि र पछि भने (५ सय १८ वर्ष यता) यति ठूलो मात्रामा पश्चिम क्षेत्रमा भूकम्प नगएको भूकम्पविद् बताउँछन्। गोरखादेखि भारतको देहरादूनसम्मको पहाडी क्षेत्रमा भूकम्प निम्त्याउने ठूलो शक्ति सञ्चित भएको र त्यो शक्ति भनेकै भूकम्पबाट मात्रै निस्कन सक्ने उनले बताए।

‘भूकम्प सम्बन्धी गरिएको वैज्ञानिक अध्ययन अनुसन्धानबाट पश्चिम नेपाल (गोरखादेखि पश्चिम भारतको देहरादूनसम्म) मा सन् १५०५ देखि यता ठूला अझ विशेषगरी महाभूकम्प गएका छैनन्,’ उनले भने, ‘त्यसैले पनि ठूला तथा महाभूकम्प उत्पन्न गर्न सक्ने शक्ति सञ्चित भएकाले पश्चिम नेपाललाई भूकम्प सम्भावित क्षेत्रका रूपमा लिइएको छ।’

त्यस्तो ठूलो तथा महाभूकम्प आजभोलि जान वा वर्षौसम्म नजान पनि सक्ने बताउँदै उनले भने, ‘शक्ति सञ्चित रहेको कुरा साँचो हो। तर, भूकम्प कहिले र कति रेक्टर स्केलको जान्छ भन्ने भने यकिन भन्न सकिँदैन। यो आजभोलि पनि जान सक्छ, या वर्षौपछि पनि जान सक्छ। तर, जाने भने निश्चित नै हो।’

ठूलो मात्रामा भूकम्प जाने सञ्चित भएको शक्ति निस्काषित हुने भनेकै भूकम्पको माध्यम रहेको बताउँदै उनले भने,‘साना ठूला भूकम्प गएरै त्यो शक्ति विस्तारै निस्कने हो। त्यसैले पश्चिम नेपालमा भूकम्पबाट ठूलो धनजनको क्षति नहोस् भनेरै जनचेतनामूलक कार्यक्रम स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले गर्नु जरुरी छ।’

नेपालको जमिनमुनि भारतीय प्लेट र युरेसियन प्लेट एक आपसमा ठक्कर खाइरहेको बताउँदै उनले भने,‘त्यही प्लेटको ठक्करले उत्पन्न शक्ति सञ्चित भइरहेको छ।’

त्यही शक्ति गोरखाको पश्चिमदेखि भारतको देहरादूनसम्ममा प्रभावित पार्न सक्ने आँकलन भूकम्पविद्हरू गर्छन्। नेपालले करिब २५०० किलोमिटर लामो सक्रिय हिमशृंखलाको (पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमार (बर्मा)सम्म मध्य भागको एक तिहाइ (पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ८ सय किलोमिटर) भूभाग लम्बाइ ओगटेलकाले पनि सक्रिय हिमशृंखलाको एक तिहाई भार ओगट्ने कुराले नेपाल भूकम्पीय जोखिममा रहेको पुष्टि उनले गरे।

नेपालको पश्चिम क्षेत्रमा महाभूकम्प (८ म्याग्निच्युड बराबर र त्यो भन्दा बढी) जाने शक्ति सञ्चित भएको बताउँदै भूकम्पविद् कोइरालाले भने ‘त्यो सबै सञ्चित शक्ति निस्कने एउटै माध्यम भनेकै भूकम्प हो। जुन साना ठूला गरेर जसरी पनि सरिञ्चत शक्ति बाहिर निस्कन सक्छ।’ भूकम्पविद्का अनुसार ५ रेक्टर स्केलको ३२ वटा भूकम्प जानु बराबर एकपटक ६ रेक्टरको भूकम्पको शक्ति बराबर हो।

यस्तै ७ रेक्टरको १ पटक जानु बराबरको शक्ति निस्कन ५ रेक्टर स्केलका १ हजार पटक जानु हो। ८ रेक्टर स्केलको भूकम्प एक पटक जानु बराबरको शक्ति निस्कनु भनेको ६ रेक्टर स्केलको एक हजार पटक जानु हो। यसरी हेर्दा ८ रेक्टरको एकैपटक भूकम्प जानु र ६ रेक्टर स्केलको भूकम्प एक हजार पटक जानु बराबर देखिन्छ। त्यसैले त्यत्रो ठूलो भूकम्पीय शक्ति सञ्चित भएर बसेकाले यो क्षेत्र जतिबेला पनि उच्च जोखिममा रहेको उनी बताउँछन्। महाभूकम्प सयौं वर्षको अन्तरालमा जाने गरे पनि नेपालमा दैनिक रूपमा साना भूकम्प ८ देखि १० वटा गइरहने गरेको छ।

‘३ दशमलव ५ रेक्टर स्केलभन्दा साना भूकम्प मानिसले थाहा नपाइने खालका हुने गरेका छन्,’ उनले भने, ‘त्यसैले पनि दैनिक रूपमा गइरहेका साना भूकम्पलाई हामीले ख्याल नगरेको हुनसक्छौं।’

मझौला तथा ठूला भूकम्प जाँदा मात्रै धेरैले थाहा पाउने गरेको उनले बताए। दैनिकरूपमा साना भूकम्प गइरहेकाले त्यसैले पनि नेपालको पश्चिम भाग भूकम्पको उच्च जोखिममा रहेको उनी बताउँछन्। कैलालीका पुराना सहर तथा बस्तीहरू भूकम्पको बढी जोखिममा छन्। ‘पुराना घर तथा भूकम्प प्रतिरोधी नभएका घरहरू बढी जोखिममा छन्,’ उनले भने, ‘भूकम्पको क्षतिबाट जोगिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै भूकम्प प्रतिरोधी घर निर्माण गर्नु नै हो।’

प्रकाशित: १५ माघ २०७९ ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App