चन्दननाथ नगरपालिका ९ की नन्दलक्ष्मी रावलले सिंचाइ कुलो निर्माण भएपछि सोचे अनुसार खेतीबाट उब्जनी हुने बताइन्। उनी यस अघि जसो तसो खनेर बनाएको कुलोले खेत सिँचाइ गर्न बाध्य थिइन्। उनी मात्रै होइन चन्दननाथ ९ मा रिमिज्युलोमा खेत भएका सबै किसानको पीडा त्यही थियो। तर अहिले उमगाड सिँचाइ कुलो निमार्ण भए पछि त्यहाका किसानलाई जौँ,गहुँ लगायतका बाली सिँचाइ गर्न सहज भएको छ।
कृषि बिकास कार्यालय जुम्लाको ६ लाख र २० प्रतिशत स्थानीयको लागत सहभागीतामा १ सय ४२ मिटर आरसीसी कुलो बनेको छ। हातले खनेर बनाएको कुलो बाढी आउदा बगाउने अनि बनाउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर ठाउँठाउँमा कुलो भत्किने र पानी चुहिने कारणले गर्दा निकै हैरानी खेपेर खेती गर्नुपर्ने अवस्था रहेको स्थानीय नवराज रावत बताउँछन्।
उनले भने, 'पक्की कुलो निर्माण भएसँगै यहाका खेती गर्ने किसानलार्इ केही सहज भएको छ।' चन्दननाथ नगरपालिका ७ मा रहेको छन्ने ज्युलोमा पनि दुइवटा सिँचाई कुलो निमार्ण भएका छन्। बालढुक्सा देखि दोकामुलसम्म १ सय २० मिटर बनेको छ भने दोकामुल देखी अगाडी १ सय २० मिटर गरी दुइ सय ४० मिटर आरसीसी कुलो निमार्ण गरिएको छन्ने ज्युलो सिंचाई कुलो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष माया बुढ्थापाले बताइन्।
उनका अनुसार कुलो निर्माण भएसँगै अब खाद्यान्न बाली, तरकारी लगायतका नगदेबाली उत्पादनमा धेरै सहज हुने भएको छ। उनले भनिन,७० मिटर कुलो कच्ची छ। बजेट अभावले पुरै निमार्ण हुन सकेको छैन।
जुम्लाको मुख्य बालीका रुपमा रहेको मार्सी धान र यहाको जौ,गहूँ हो अन्य तरकारी खेती गर्नमा सिँचाइ कुलोले ठूलो राहत मिलेको किसानको भनाइ छ। जुम्ला हिमाली भेग भएकाले प्रायः सुक्खा क्षेत्र छ।
यहाका किसानले हिउँदेबालीमा अनिवार्य सिँचाइ गर्नुपर्ने कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश बहादुर अधिकारी बताउँछन्। चन्दननाथ नगरपालिकामा मात्रै तिन वटा कुलो निमार्ण भएका छन्।
६ लाख कृषि विकास कार्यालयको बजेट र २० प्रतिशत स्थानीय सहभागीतामा तीन वटै आरसीसी कुलो सम्पन्न भएको अधिकारीले बताए। कृषि बिकास कार्यालयका अनुसार १ सय ५ वटा सिँचाइ कुलो आयोजना रहेका छन्। जस अन्तरगत केही सम्पन्न भएका छन भने केही सम्झौता हुने क्रममा छन्। त्यस्तै केही कुलो निर्माणाधिन अवस्थामा रहेका छन्।
प्रकाशित: १८ पुस २०७९ १४:१५ सोमबार