८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सिमाक्षेत्रमा चल्यो गोली, भारतीयद्वारा कुटिए नेपाली

नेपाल भारत दुई देशको सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका वडा नं ९ जुगेडामा गोली चलेको छ। दुई बर्ष अघि तस्करको समूहले दुई प्रहरीको बीभत्स हत्या गरेर मोहना नदीको बिचमा गाडेको जुगेडोको सीमा क्षेत्रमा मंगलबार बिहान ३ बजेतिर गोली चलेको हो।

गोलीको खोका मिलेको भएपनि कसले कसमाथि गोली प्रहार गरेको भनेर खुल्न नसकेको प्रहरीले बताएको छ। दुई देशका तस्करहरूको गिरोहले यस क्षेत्रबाट नियमित तस्करी गर्ने गरेको स्थानीय बताउँछन्। सीमा क्षेत्रमा बन्दुक पड्केको अवाज सुनिएको स्थानीयले बताए। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले सिमाक्षेत्रमा दुई राउण्ड गोली चलेको बताए। गोलीका दुई खोका फेला परेको उनले बताए। गोली कसले कसमाथि चलाएको हो भन्ने नखुलेको उनको भनाई छ। कसैलाई गोली लागेको अहिले सम्म जानकारी प्राप्त भएको छैन। 

राती पौने ३ बजेतिर ४, ५ जनाको समूह वडा नं ९ जुुगेडाका प्रजापति बिष्टको घरमा प्रवेश गरेको थियो। उक्त समुहमा रहेका युवाहरुले भारतीय भाषा वोलिरहेका स्थानीयले बताएका छन्। उक्त समूहले घरको ढोका फोड्न खोज्दा थाह पाएर बाहिर निस्केका बिष्ट माथि उनीहरुले हातपात गरेका थिए। बिष्ट घाइते भएका छन्। उक्त समूह चोरी गर्न आएको प्रहरीको भनाई छ। सीमापारि भारतबाट बाट उक्त समूह घरमै आएर कुटपिट गरेको स्थानीयले बताएका छन्।

बिष्टको घरमा आएको समूह त्यहाँबाट गएपछि सिमाक्षेत्रमा गोली चलेको अवाज सुनिएको स्थानीयले बताए। सिमाक्षेत्रमा गोली चलेको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। तस्करहरूको गिरोहको सक्रियताले जुगेडाको सिमानाका जोखिमपूर्ण मानिने स्थानीय बताउँछन्। दुई बर्ष अघि प्रहरी सहायक निरीक्षक र एक जना जवान गरी दुई जनाको हत्या गरेर नदीको बिचमा गाडिएको यो नाकामा तस्करको गिरोहले गर्ने तस्करी नरोकिएको स्थानीयको भनाई छ। 

कैलालीमा असुरक्षा बढ्दै गएको भनेर स्थानीय चिन्तित बनेका छन्। आइतबार साँझ कैलालीको अत्तरियामा सुन व्यवसायी माथि गोली प्रहार गरिएको थियो। गोली प्रहार गर्नेको अझै पत्तो लाग्न सकेको छैन। अत्तरियाको पुर्वरोड सशस्त्र प्रहरीको बाहिनी नजिकै सुन व्यवसायी बिकास सुनार माथि गोली प्रहार गरेर उनी सँग रहेको सुन र नगद लुटेर लगेका थिए।

प्रकाशित: ५ पुस २०७९ ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App