काठमाडौंको बागबजारस्थित सडकमा पार्किङ गरिएका सवारी साधन काठमाडौं महानरपालिकाले हटाउन थालेको भन्दै स्थानीय व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।
काठमाडौंको बागबजारमा सडकमा नै सवारी साधनहरु पार्किङ गर्ने गरिएको छ। काठमाडौं महानगरपालिकाले विगत केही दिनदेखि सडकमा पार्किङ गरिएका सवारी साधनहरु हटाउन थालेपछि आफुहरुलाई असहज भएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन्।
बिहीबार व्यवसायीहरुले आ–आफ्नो व्यवसाय बन्द गरेर महानगरको कदमप्रति बिरोध जनाएका छन्। महानगरले बागबजारको सडकमा कालोपत्रे गरेको थियो। कालोपत्रे गरिसकेपछि सडकमा सवारी साधन पार्किङ गर्न महानगरले रोकेको हो। व्यवस्थित पार्किङको अभावमा सडकमै पार्किङ गर्ने गरिएको भन्दै व्यवसायीहरुले आफूहरुलाई जबरजस्ती गर्नुभन्दा विकल्प दिनुपर्ने बताएका छन्।
लाखौँ रकम व्यवसायमा लगाएर जिविकोपार्जन गरिरहेको भन्दै महानगरको यस प्रकारको कदमले दैनिक जीवनयापन र व्यापार व्यवसायमा असर परेको व्यवसायीको गुनासो छ। आफूहरुले महानगरपालिकासँग विकल्पको माग गर्दै व्यवसायसमेत बन्द गरेर आन्दोलिन हुनुपरेको व्यवसायी राज कार्कीले बताए। उनले परिवर्तनको नाममा जनतालाई दुःख नदिन महानगरपालिकाका प्रमुखलाई आग्रह गरे।
प्रकाशित: १५ मंसिर २०७९ ११:४४ बिहीबार