८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्।  

शनिबार एक बक्तब्य जारी गर्दै सापकोटाले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका हुन्। मंसिर ४ मा हुने निर्वाचनका लागि उनी माओवादीबाट सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवार सिफारिस भएका थिए।  

यो चुनावमा भाग नलिए पनि आगामी दिनमा राजनीतिक अभियानमा रहिरहने सभामुख सापकोटाले बताएका छन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए। बामगठबन्धनका उम्मेदवार सापकोटाले त्यतिबेला कांग्रेसका मोहनबहादुर बस्नेतलाई पराजित गरेका थिए।  

माओवादी शान्ति प्रक्रियामा आएपछि सापकोटाले दुईवटा संविधान सभा र एक प्रतिनिधिसभा निर्वाचनमा भाग लिए। उनले तीनवटै चुनाव लगातार जितेर ह्याट्रिक गरेका थिए। २०६४ र २०७० को संविधान सभा निर्वाचनमा उनी साविक सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट विजयी भएका थिए।  

२०६८ मा सूचना तथा सञ्चार र २०७२ मा वन तथा भूसंरक्षणमन्त्री बनेका सापकोटा २०७६ माघ २२ गते प्रतिनिधि सभा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। उनले आफूले भाग लिएका तीववटै चुनावमा मत दिएर जिताउने सिन्धुपाल्चोकका मतदातालाई धन्यवादसमेत दिएका छन्।  

राजनीति उत्तराधिकारी जन्माउँदै सापकोटा

सभामुख सापकोटाले अघिल्लो २०७४ को प्रतिनिधि सभा निर्वाचन नै आफ्नो लागि अन्तिम भएको बताएका थिए। तर यो पटक पनि सिफारिसमा परेपछि उनी पुनः चुनाव लड्ने आँकलन भइरहेको थियो।

माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल दाहिना हुँदाहुँदै उनले निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्। उनले अघिल्लो पटक जितेको क्षेत्र नं. १ योपल्ट पनि सत्ता गठबन्धनबाट माओवादीकै भागमा परेको छ। यो निर्वाचन क्षेत्र माओवादीकै भागमा पर्नुका साथै अध्यक्ष दाहालको विश्वासपात्र भएकाले उनलाई पुनः टिकट लिन कुनै समस्या थिएन। न त पुनः निर्वाचित हुन नै कठिन थियो। गठबन्धनले गत स्थानीय तह निर्वाचनमा ल्याएको मत हिसाव गर्दा सापकोटालाई फेरि विजयी हाँसिल गर्न समस्या थिएन।  

आगामी प्रतितिधि सभा निर्वाचनमा भाग नलिएर सभामुख सापकोटाले आफ्नो राजनीतिक उत्तराधिकारीको रुपमा भतिज माधव सापकोटालाई अघि बढाउन खोजेको संकेत गरेका छन्। माधव यसै निर्वाचन क्षेत्रबाट सभामुख सापकोटासँगै उम्मेदवार सिफारिस भएका थिए। यो क्षेत्रमा अब भतिज माधव उम्मेदवार बन्ने निश्चित जस्तै छ।  

माओवादी पोलिट्यूरो सदस्य माधव जिल्ला पार्टी इन्जार्चसमेत हुन्। पूर्वजनमूक्ति सेनाका कमाण्डर माधव माओवादी सिन्धुपाल्चोकको राजनीतिको ‘कुशल कमाण्डर’ मानिन्छन्। माधवकै कमाण्डमा सभामुख सापकोटाले २०७० दोस्रो संविधान सभा निर्वाचनमा कठिन जित निकालेका थिए। जतिबेला पार्टी अध्यक्ष दाहाल काठमाडौँबाट पराजित भएका थिए। भतिज माधवकै ‘लडाकु शैलीको कमाण्डिङ’ मा सापकोटा उक्त चुनाव जित्न सफल भएको विपक्षी नेताहरुले नै ठान्दै आएका छन्।  

 केही समययतादेखि सापकोटा आफू आशन्न चुनाव नलड्ने भन्दै तयारी गर्न भजित सापकोटालाई आग्रह गर्दै आएको माओवादी स्रोत बताउँछ। लगातार तीन पटक चुनाव जितेर पनि जिल्लामा पर्याप्त काम गर्न नसकेको भन्दै उनी आलोचित भने हुँदै आएका थिए।

प्रकाशित: २२ आश्विन २०७९ ०९:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App