हेटौंडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट पत्रकार संस्था नेपाल प्रेस युनियनलाई १० लाख रुपैयाँ दिने, कोट र सारीको रकम भुक्तानी गर्ने, अनधिकृत संरचना हटाउने र फोहर व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय गरेको छ। बुधबारको कार्यपालिका बैठकले यी निर्णय गरेको हो।
कार्यपालिकाले हेटौंडामा साउन ६–७ मा सम्पन्न युनियनको ९ औं महाधिवेशनको खर्चवापत् १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
‘पत्रकारको मात्र नभई जुनसुकै संघसंस्थाको २ हजार भन्दा बढी संख्याको सहभागितामा हुने राष्ट्रिय कार्यक्रमलाई १० लाख सम्म खर्च दिने निर्णय पहिले नै गरिसकेका हौं। युनियनको महाधिवेशनका लागि १५ लाख रुपैयाँ माग भएको थियो। हामीले १० लाख दिने निर्णय गरेका छौं’, प्रवक्ता न्यौपानेले भने, ‘ज्येष्ठ पत्रकार पेन्सन, पत्रकार हित कोष लगायतका काममा पनि सहयोग गर्दै आएका छौं। यहाँ हुने राष्ट्रियस्तरको कार्यक्रमले हेटौंडा उपमहानगरपालिकाको पहिचान र यहाँको पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो।’
यसैगरी यसअघि हरिबहादुर महत नेतृत्वको कार्यसमितिले महिला जनप्रतिनिधिहरुलाई दिएको कोट र सारीको भुक्तानी दिन बाँकी रहेकोले भुक्तानी दिने निर्णय गरिएको जानकारी न्यौपानेले दिए।
यसैगरी हेटौंडा उपमहानगरपालिका भित्र अतिक्रमण र मापदण्ड विपरित बनेका घर, टहरालगायतका संरचना हटाउन कार्यदल गठन गरिएको छ। कार्यपालिका बैठकले नियम विपरित निर्माण भएका संरचनाको मुल्याङ्क र अनुगमनका लागि हेटौंडा १० का वडाध्यक्ष फुर्वादोर्जे लामाको संयोजकत्वमा कार्यदल गठन गरेको हो।
कार्यदलले प्रदेशको राजधानी रहेको हेटौंडा बजार क्षेत्रका अव्यवस्थित र अतिक्रमण गरी निर्माण गरिएका संरचनाको अवस्था र लगत संकलन गरी कार्यान्वयनका लागि प्रतिवेदन तयार पार्ने हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले जानकारी दिइन्।
राजमार्ग क्षेत्र र भित्री सडक अतिक्रमण र उपमहानगरपालिकाको मापदण्ड विपरित निर्माण भएका संरचना हटाउने उपमहानगरपालिकाको तयारी छ। नगरक्षेत्रमा नक्सा पास नभइ बनेका साना ठूला घर तथा टहरा स्वस्फुर्त हटाउन ३५ दिने सूचना प्रकाशन गरेसंगै कार्यदलले काम सुरु गर्ने बताइएको छ।
सूचना प्रकाशन पछि पनि नहटाएमा उपमहानगरले उपकरणको प्रयोग गरेर हटाउने चेतावनी दिएको छ। ‘हामी सुन्दर शहर निमार्ण अभियानमा छौं, यस्ता अव्यवस्थित ढंगबाट निर्माण भएका संरचनाले बजार सुन्दरतामा कमी ल्याएको र कानून विपरित रहेकाले हटाउने तयारी गरेका हौं’, लामाले भनिन्। कार्यदलको सदस्यमा हेटौंडा–१ का कार्यपालिका सदस्य इश्वरी रसाईली हेटौंडा–२ का सदस्य सुरज बर्तौला, हेटौंडा–४ का सदस्य जेएन श्रेष्ठ र मकवानपुर उद्योग वाणिज्य संघबाट एक सदस्य रहेका छन्।
यसैगरी बैठकले हेटौंडा–१० मा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई हेटौंडा १ मा सार्ने निर्णय गरेको छ। बसपार्क क्षेत्रमा निर्माण भैरहेको बस टर्मिनल निर्माणको काम तरकारी बजारका कारण असहज भएको भन्दै कार्यपालिका बैठकले अहिलेलाई हेटौंडा १ को राप्ति करिडोर क्षेत्रमा तरकारी बजार सार्ने निर्णय गरेको हो। तरकारी बजार सार्नका लागि उपमहानगरपालिकाले १५ दिने सूचना जारी गरेर कार्यान्वयनको पाटोमा अघि बढ्ने उनले जानकारी दिइन्।
यसैगरी उपमहानगरको फोहर व्यवस्थापनका लागि पनि कार्यदल गठन भएको छ। बैठकले पालिका क्षेत्रबाट निस्किएका फोहरको व्यवस्थापनका लागि उपमहानगरका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा फोहर व्यवस्थापन कार्यदल गठन गरेको हो।
कार्यदलले फोहरलाई एकै ठाउँमा डम्पिङ हुँदै आएको फोहोरको व्यवस्थापनका लागि नगरको विभिन्न तीन स्थानमा डम्पिङ साइड निर्माणको तयारी गरेको छ।
ती ठाउँको बिषयमा सम्भाव्यता अध्ययन गर्ने बताइएको छ। अहिलेको व्यवस्थापनमा खर्चिलो र जोखिम बढी भएकाले उपमहानगर क्षेत्रका अन्य ठाउँमा समेत फोहर व्यवस्थापनका लागि कार्यदल गठन गरेर काम गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए। पुरानै शैलीबाट फोहर व्यवथापन गर्दा धेरै समस्या आएकोले नगर क्षेत्रका वडाहरुमा पनि डम्पिङ साइडको व्यवस्थापन गरिने बताइएको छ। कार्यदलको सदस्यमा हेटौंडा २ का अध्यक्ष बिष्णुगोपाल महर्जन, ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल, १० नम्बर वडा अध्यक्ष फुर्वादोर्जे लामा, ११ का अध्यक्ष जुना दाहाल, १३ का अध्यक्ष पेम्वा लामा, १५ का अध्यक्ष सुनिल मोक्तान, १७ का अध्यक्ष उद्धब सत्याल र १९ का अध्यक्ष नरनाथ सुवेदी सदस्य रहेका छन्।
प्रकाशित: १५ भाद्र २०७९ १३:१२ बुधबार