८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

‘बालेनहरूसँग समदुरी आवश्यक छ’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र उम्मेदवार बालेन साह जस्तालाई राजनीतिक समदुरी गरेर अगाडि बढ्न आग्रह गरेका छन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका फूलहरूलाई आफूले सम्मान गर्ने पनि बताए। शनिबार सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले काठमाडौं र धरनमा मात्रै साँच्चीकै स्वतन्त्र उम्मेदवार आएको बताएका छन्।

‘पार्टीका नेता तथा कार्यकर्ता उहाँहरूको पछाडि लागेर हिँडेको देखिएन तर बाँकी मैले हेर्दा उहाँहरू स्वतन्त्र भनिए पनि स्वतन्त्र होइन, पार्टीकै हो भन्ने देखियो,’ उनले भने, ‘जनकपुरमा कांग्रेका सबै नेता विजय र्‍यालीमा हिँड्नुभएको छ। कसरी स्वतन्त्र भन्ने ? धनगढीकै कुर गरौं, कसरी स्वतन्त्र भन्ने पार्टीकै मान्छे पछि लागेको देखिन्छ।’

‘काठमाडौंका र धरनका मेयरचाहिँ अलि विशिष्ट ढंगले प्रस्तुत हुनुभयो। यसलाई विभिन्न रूपले हेरिएको छ। एकथरीको कि यो राजनीतिक दलहरूका निम्ति रम्रै झापड हो,’ कतै राजनीतिक दललाई चुनौती हो भनेर पनि आइरखेको छ भन्दै अध्यक्ष दाहालले भने, ‘म के ठान्छु भने अहिलेको स्थानीय तहको निर्वाचनमा काठमाडौं र धरानमा जुन विचार प्रवृत्तिसहित, जुन संकल्पसहित दुई जना युवा जनताबीच प्रस्तुत हुनुभयो, त्यो विशिष्ट छ र त्यसलाई विशिष्ट मान्नुपर्दछ। मेरो विचारमा संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा फेरि दुईवटा नयाँ फूलहरू फक्रिएको जस्तो लाग्छ। फूलबारी संघीय लोकतान्त्रिक गणतन्त्रकै हो, यही संविधानकै फूलबारीभित्र उहाँहरू आउनुभएको हो।’

काठमाडौंका र धरानका मेयरको निर्वाचनले राजनीतिक दललाई नै चुनौती हो भनेर भन्न मिल्दैन भन्ने लागेको बताउँदै उनले थपे, ‘यसले राजनीतिक दललाई सावधानी गरउने कामचाहिँ गरेको छ।’ उनले राजनीतिक पार्टीहरूलाई सचेत हुनका निम्ति एउटा अवसर भएको बताए। उनले भने, ‘पक्कै यस्ता पात्रहरू इतिहासमा कुनै खास कालखण्डमा यसरी देखा पर्ने गर्दछन्। ती पात्रहरू निर्वाचनअगाडि गरेका प्रतिबद्धतासहित अडिई रख्न सक्ने हुन्छन् या हुँदैनन् किनकि यस्ता पात्रहरूलाई घेरबन्दी गर्ने विभिन्न शक्तिकेन्द्रले कोसिस गर्छन्।’

‘तपाईहरूले जनताका भावनालाई, जनताका आवश्यकतालाई सम्बोधन गर्ने र राजनीतिक दलहरूसँग समदुरीको सम्बन्धसहित सबैको सहयोग जुटाउन सक्नुहोस् मेरो शुभकामना छ। हामी सबैका निम्ति पनि यसलाई एउटा नयाँ अवसरको रूपमा, आफ्नो रूपान्तरणको निम्ति, आफ्नो आत्म समीक्षाको निम्ति अवसरको प्रदान गरको रूपमा लिन आवश्यक छ। तपाईहरू आफ्नो प्रतिबद्धताभित्र रहेर लाग्दा त्यसले राजनीतिक दललाई पनि रूपान्तरण गर्दछ। म धन्यवाद दिन चाहन्छु,’ उनले भने।

प्रकाशित: १५ जेष्ठ २०७९ ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App