८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरपालिकाः रैथाने मतमा उम्मेदवारको ध्यान

सिंह र स्थापित मुख्य प्रतिस्पर्धी, युवा मन जितेका बालेन मत परीक्षणमा

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौं महानगरपालिकाको नेतृत्व हात पार्न उम्मेदवारहरूले अन्तिम कसरतलाई तीव्र बनाएका छन्। प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेसहित ५६ नेता नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन्।

प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवारले काठमाडौं महानगरको नेतृत्वमा आफैंले बाजी मार्ने बताइरहे पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ। कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंह र एमालेबाट चुनावी मैदानमा उत्रिएका केशव स्थापितलाई स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) र सुमन सायमिले चुनौती दिइरहेका छन्। असंगठित मतलाई संगठित गरेर बालेन र सायमिलाई महानगरको नेतृत्वमा पुग्न उत्तिकै चुनौती रहेको जानकारहरू बताउँछन्। युवा पुस्ताको मन बालेन र सायमिले जिते पनि मत कति ल्यिाउँछन् भन्नेचाहिँ प्रतीक्षाकै विषय बनेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा उपप्रमुखको उम्मेदवारी दिँदै एमालेसँग साझेदारी गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यसपालि एक्लै चुनावी माहोलमा होमिएको छ। राप्रपाले कलाकार मदनदास श्रेष्ठलाई मेयर उम्मेदवार बनाएर मैदानमा उतारेको छ। प्रमुख राजनीतिक दलहरूप्रति जनताको वितृष्णालाई आफ्नो पक्षमा पार्ने मौकाका रूपमा हेरेको राप्रपा पनि काठमाडौंमा उत्साहित देखिएको छ।

अघिल्लो निर्वाचनमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा हेरिएको विवेकशील नेपाली पार्टी र साझा पार्टीले झन्डै २७ प्रतिशत मत समेटे पनि अहिले तुलनात्मक रूपमा चहलपहल देखिएको छैन। यद्यपि दुई पार्टी एक भएर गठन भएको विवेकशील साझाले काठमाडौंको प्रमुखमा समीक्षा बाँस्कोटालाई उम्मेदवार बनाएको छ।

३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा रैथाने (नेवार) मतदाता जाति, धर्म–संस्कृति, जात्रापर्वले गर्दा विभिन्न गुठीमा संगठित छन्। दुःखसुखमा मात्र होइन, कुनै न कुनै बहानामा जमघट भइरहने एक दर्जन वडाका झन्डै ७५ हजार रैथाने मतदाता काठमाडौं महानगरपालिकामा छन्। महानगरको नेतृत्व चयनमा उनीहरू निर्णायक हुने बुझेका उम्मेदवारहरूले आफ्नो ध्यान रैथाने (नेवार) मतदातामा केन्द्रित गरेका छन्।

गुठीले निर्णय गर्दा धेरै मत त्यतै जाने विगतको परम्परा रहेको जानकारी दिँदै एक स्थानीय अगुवा भन्छन्, ‘घरदैलोसँगै कसरी गुठियारलाई मनाउन सकिन्छ भन्नेमा प्रमुख दलको ध्यान केन्द्रित भएजस्तो देखिन्छ।’ २०७४ सालको स्थानीय निर्वाचनमा काठमाडौंको रैथाने मतदाताको मत आफ्नो पक्षमा पार्न नसक्दा निर्वाचनमा पराजित हुनुपरेको विश्लेषण कांग्रेसको छ। तर अहिलेको परिस्थिति २०७४ सालको भन्दा फरक रहेको कांग्रेस बुझाइ छ।

अघिल्लो निर्वाचनमा कांग्रेसले पाएको मत अहिले पनि नगुमेको विश्लेषण गर्ने सिंहनिकटहरू त्यो संख्या अझै बढेको बताउँछन्। करिब ७५ हजार मतसहित महानगरपालिकाको परिणाम आफ्नो पक्षमा पार्ने विश्लेषण सुनाउँदै कांग्रेस नेताहरूले पार्टीकै मत ४५ देखि ५० हजारको हाराहारीमा रहेको दाबी गरेका छन्। त्यससँगै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहित सत्ता गठबन्धनमा रहेका दलहरूसँगको चुनावी तालमेलले कम्तीमा १० हजार मत कांग्रेसलाई थपिने हिसाब उनीहरूको छ।

कांग्रेसको मात्र नभएर सिंगै मुलुकको राजनीतिमा योगदान र लिगेसी रहेको गणेशमान सिंह र उनको परिवारको सम्बन्धले पनि रैथाने मत पार्टीको पक्षमा निकटहरूको बुझाइ छ। स्वतन्त्र उम्मेदवारहरू सुमन सायमी र बालेन शाहको उम्मेदवारीको बढी प्रभाव एमालेलाई नै पर्ने आकलन गरेको कांग्रेसमा अघिल्लोपटक साझा र विवेकशील नेपाली दलमा गएको केही मत यसपटक रिकभर हुने बुझाइ छ।

एमाले आफैं विभाजित हुनु र राप्रपासँग पनि यसपटक तालमेल नहुँदा एमालेले विगतमा पाएको केही मत गुमाएको कांग्रेसको हिसाब छ। त्यति मात्र नभएर एमालेबाट मैदानमा खडा गरिएको मेयर उम्मेदवार स्थापित बौद्धिक नेता हुन् कि होइनन् भन्ने भ्रम उनका पछिल्ला विवादास्पद अभिव्यक्तिले सिर्जना गरेको कांग्रेसहरूको बुझाइ छ।

काठमाडौंलाई बुझेको र सरल व्यक्तिलाई कांग्रेसले काठमाडौं महानगर उम्मेदवार बनाएको बताउँदै सोही पार्टीका नेता सुशन वैद्यले भने, ‘हामी १० देखि १५ हजार मतान्तरले काठमाडौं महानगरको परिणाम कांग्रेसको पक्षमा पार्छौं।’ सिर्जना सिंह अप्रत्यासित रूपमा नभएर लामो राजनीतिक अनुभवसहित महानगरको नेतृत्व लिन अघि सरेको दाबी वैद्यले गरे। ‘पार्टी संगठन मात्र होइन, अहिले हामीसँग गठबन्धन छ। उहाँ आफैंमा शालीन र परिपक्वता हुनुहुन्छ। उहाँले काठमाडौंलाई राम्ररी बुझ्नुभएको छ। लामो सम्बन्ध भएकाले पनि यहाँका मतदाताले सिंहलाई जिताउनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं।’

एमाले भने यसमा सहमत छैन। केपी ओली नेतृत्वको सरकारले पछिल्ला तीन वर्षमा काठमाडौं महानगरपालिकासहित देशभरि गरेको कामका कारण आम जनता एमालेप्रति आकर्षित भएको सो पार्टीको बुझाइ छ। त्यसका साथै ‘भुरादेखि बुढा’सम्म चिनिएका नेतालाई पार्टीले महानगरको प्रमुखमा उम्मेदवार बनाएकाले अघिल्लोपटक नआएको मत पनि यसपटक आउने उनीहरूको विश्लेषण छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा विद्यासुन्दर शाक्यले २० हजारभन्दा बढी मतान्तरले आफ्नो जितलाई सुरक्षित गरेको भन्दै वैशाख ३० गते हुने निर्वाचनमा त्योभन्दा पनि ठुलो अन्तरले आफ्ना उम्मेदवारले जित्ने एमाले दाबी छ। पार्टीले अघि सारेको उम्मेदवार परिवारको जोडबलमा नभएर संगठन र काठमाडौं महानगरमा काम गरेकै अनुभवी नेता भएको जिकिर गर्दै एक नेताले भने, ‘उहाँ त्यसै उम्मेदवार बन्नुभएको होइन, उहाँले हिजो पनि काठमाडौंमा काम गर्नुभएको हो, भोलि पनि केही गरौं भनेर आउनुभएको छ। उहाँ भिजिनरी नेता हुनुहुन्छ।’

एमालेबाट छुट्टिएर गठन भएको नेकपा एसको काठमाडौंमा खासै प्रभाव नभएकाले निर्वाचन परिणामलाई त्यसले खास असर नपर्ने एमाले नेताहरूको विश्लेषण छ। काठमाडौंको रैथाने मत अघिल्लो पटकभन्दा यसपटक अझै थपिने जिकिर सुनाउँदै एमालेका एक नेताले भने, ‘अघिल्लोपटक बरालिएको युवा मत उपप्रमुखमा सुनिता डंगोललाई उम्मेदवार बनाएर रोकेका छौं। गठबन्धन त काठमाडौं महानगरमा छँदै छैन।

कांग्रेसभित्रको असन्तुष्ट पक्षको मत पनि हामीलाई नै आउँछ।’ सिर्जना सिंहलाई महानगरको मेयर पराजित गर्न सकियो भने काठमाडौंमा गणेशमान सिंहका छोरा प्रकाशमानबाट पार्टीभित्र हुने ‘डोमिनेसन’को अन्त्य हुन्छ भन्नेमा कांग्रेसकै नेताहरू रहेको ती नेताले दाबी गरे। ‘वडा तहमा सत्ता गठबन्धनको तालमेल भएको छैन। टाउको मात्र मिलाएर मतमा केही फरक पर्दैन। हामी सानदार ढंगले जित्छौं,’ उनले भने।

काठमाडौंसहित ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा सत्ता गठबन्धनका शीर्ष नेताहरूले नै भागबन्डा गरेर स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरे पनि वडा तहमा भने उनीहरू आपसमै प्रतिस्पर्धामा छन्। काठमाडौं प्रमुख कांग्रेस र उपप्रमुख नेकपा एसले पाएका छन् भने माओवादी केन्द्रको वडा तहमा मात्र उम्मेदवारी छ।

वडामा तालमेल नभएको भन्दै माओवादी केन्द्रले तीव्र असन्तुष्टि जनाउँदै आएको छ। ‘काठमाडौं महानगरअन्तर्गतका स्थानीय तहहरूमा हामी एक्ला एक्लै चुनाव लड्दैछौं। गठबन्धनका दलहरूले माओवादी केन्द्रलाई आइसोलेसनमा राखेका छन्। तर मेयर र उपमेयरमा गठबन्धनकै उम्मेदवारलाई भोट गर्नु भन्ने पार्टीको निर्देशन छ। यसले कार्यकर्तामा निराशा छाएको छ,’ जिल्ला अध्यक्ष हिमाल शर्माले, ‘स्थानीय तहमा गठबन्धनबाटै हामीलाई एक्ल्याउने काम भएको छ। हामीलाई निषेध गरिएको छ, मेयर र उपमेयरमा उनीहरूकै उम्मेदवारलाई कसरी भोट हाल्ने?’

वडामा पनि आ–आफ्नै दाबी

काठमाडौं महानगरका ३२ वटा वडामध्ये कांग्रेस र एमाले दुवैले बहुमतभन्दा बढी ठाउँमा जित निकाल्ने दाबी गरेका छन्। २०७४ सालको निर्वाचनमा १, २, ३, ४, ७, ९, १२, १३, १४, १५, १८, २१, २२, २३, २४, २७, ३१ र ३२ वडामा जित निकालेको एमालेले यसपटक थप वडा पनि जित्ने दाबी गरेको छ। कांग्रेसभित्रको असन्तुष्टिका कारण कतिपय वडामा परेको बागीले केही वडाको परिणामलाई आफ्नो पक्षमा पार्न थप सहज हुने उसको विश्लेषण छ।

नेकपा एससँग १३ र ३२ नम्बर वडामा चुनावी तालमेल गरेको कांग्रेसले यसअघि ५, ६, ८, १०, ११, १६, १७, १९, २०, २५, २६, २८, २९ र ३० सहित १४ वटा वडामा जित निकालेको थियो। अहिले त्यो संख्या बढाएर २२ देखि २५ पुर्‍याउने दाबी कांग्रेसले गरेको छ। यसअघि जितेका कुनै पनि वडा आगामी निर्वाचनमा कांग्रेसले नगुमाउने उनीहरूको आन्तरिक विश्लेषण छ। माओवादीले वडा तहको परिणाम आफ्नो पक्षमा पार्न कठिन हुन सक्ने विश्लेषण गरिएको छ भने नेकपा एसले भने ३२ सहितका अन्य केही वडामा जित्ने दाबी गरेको छ। उसले कतिपय वडामा निवर्तमान वडाध्यक्षलाई नै पुनः नेतृत्वको प्रतिस्पर्धामा उतारेको छ।

एमाले जितेको वडा १ मा अहिले कांग्रेसको बागी उम्मेदवारी परेको छ। त्यसले उसलाई परिणाम आफ्नो पक्षमा पार्न सहज हुने आकलन गरिएको छ। २ र ३ मा पनि एमाले उम्मेदवारहरू नै बलियो देखिएका छन्। वडा ३ मा भने एकीकृत समाजवादीको उम्मेदवारले ल्याउने मत निर्वाचन परिणामलाई फरक पार्न सक्ने स्थानीय बुझाइ छ।

वडा ४ मा यसपटक कांग्रेस र एमाले दुवैले जित्ने दाबी गरेका छन्। यसअघि पनि कांग्रेसले जितेको वडा ५ आगामी निर्वाचनको परिणाम पनि उसकै पक्षमा पर्ने आकलन गरिएको छ। वडा ६ लाई पनि कांग्रेसले विगतमा जस्तै जित्ने सूचीमा राखेको छ। तर कांग्रेसले नयाँ व्यक्तिलाई अघि सार्दा देखिएको असन्तुष्टिको लाभ उठाउने पक्षमा एमाले देखिएको छ।

त्यस्तै, ७ नम्बरलाई कांग्रेसको बलियो वडाका रूपमा हेर्ने गरिएको थियो। तर अघिल्लो पटक पनि बागी उम्मेदवारी पर्दा कांग्रेस पछि पर्‍यो। अहिलेको निर्वाचनमा पनि कांग्रेसका तर्फबाट बागी उम्मेदवारी भएकाले त्यहाँ एमालेको सम्भावना बलियो देखिएको छ। ८ र ९ नम्बरलाई कांग्रेसले आफ्नो बलियो वडा ठान्दै आएको छ। अघिल्लोपटक पनि जितेका ती दुवै वडामा फेरि पनि दोहोर्‍याउने उसको हिसाब छ। तर वडा ८ मा नयाँ व्यक्तिलाई कांग्रेसले वडाध्यक्षका रूपमा अघि सारेकाले परिणाम तलमाथि गर्न सकिन्छ भन्ने एमाले बुझाइ छ। १० र ११ पनि यसअघि कांग्रेसले जितेका वडा हुन्। वडा ११ मा अघिल्लो पटकभन्दा अन्तर भने काम हुने कांग्रेसकै आकलन छ भने एमालेले भने त्यसलाई जित्नेको सूचीमा राखेको छ।

वडा १३ मा कांग्रेस र एकीकृत समाजवादीले चुनावी तालमेल गरेको छ। त्यहाँको परिणाम गठबन्धनको पक्षमा आउने उनीहरूको विश्लेषण छ। तर एमालेले उक्त वडालाई आफ्नो आधार क्षेत्र भन्दै आफैंले जित दोहोर्‍याउने दाबी गर्दै आएको छ। १४ र १५ नम्बर यसअघि एमाले जितेका वडा हुन्। वडा १४ मा कांग्रेसभित्रकै आन्तरिक किचलो देखिएको छ भने १५ का निर्वतमान वडाध्यक्ष ईश्वरमान डंगोल नेकपा एसबाट अध्यक्षका प्रत्यासी बनेका छन्। डंगोलको उपस्थितिले त्यस वडाको नतिजालाई प्रभावित गर्नेछ।

१६ नम्बर यसअघि कांग्रेसले जितेको वडा हो। अहिले पनि त्यहाँ कांग्रेसकै सम्भावना बढी छ। तर १७ नम्बरमा यसअघि कांग्रेसले जिते पनि यसपटक कांग्रेसबाटै बागी उम्मेदवारी परेको छ। त्यसको लाभ उठाउन एमाले कस्सिएको छ। वडा १८ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ।

विगतमा एमालेले जिते पनि कांग्रेसले आफ्नो संगठन सुधार भएको जनाएको छ। अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको १९ को परिणाम यसपटक आफ्नो पक्षमा आउने एमालेको हिसाब छ। तर कांग्रेसले भने अघिल्लो निर्वाचनको भन्दा अन्तर कम भए पनि जित आफूहरूकै हुने आकलन गरेको छ। वडा २० को परिणाम आफ्नो पक्षमा पार्न एमालेले कठिन ठानेको छ भने २१ को नतिजा आफ्नो पक्षमा पार्न कांग्रेसलाई पर्ने विश्लेषण छ।

अघिल्लो निर्वाचनमा ८० मतले वडा २२ मा पराजित कांग्रेसले अहिले जित निकाल्ने दाबी गरेको छ। तर एमालेले त्यो अन्तर अझ बढाउने जिकिर गर्दै आएको छ। वडा २३ मा आफ्नो जित निश्चित रहेको एमाले दाबी छ। यसअघि एमालेबाट जितेका २४ नम्बरका निर्वतमान वडाध्यक्ष नेकपा एसबाट फेरि प्रतिस्पर्धामा उत्रिएका छन्। उनले ल्याउने भोटले त्यहाँको नतिजालाई प्रभावित गर्ने स्थानीय बुझाइ छ। २५ नम्बर वडामा यसअघि कांग्रेसले जितेको थियो।

तर अहिले भने त्यहाँ कांग्रेस र एमालेबीच प्रतिस्पर्धा छ। अघिल्लो निर्वाचनमा २६ नम्बर पार्टीभित्रैबाट बागी उम्मेदवार हुँदा पनि कांग्रेसले जितेको वडा हो। यसपटक पार्टी एकढिक्का रहेको भन्दै कांग्रेस ढुक्कजस्तै देखिएको छ। वडा २७ यसअघि एमालेले जितेको वडा हो। पार्टीभित्रको आन्तरिक व्यवस्थापन हुन नसक्दा हारेको विश्लेषण सुनाउँदै कांग्रेसका नेताहरू आगामी चुनाव जित्ने बताउँछन्। तर एमालेले आफ्नो संगठन थप मजबुत भएको बताउँदै आएको छ।

वडा २८ मा कांग्रेसभित्रको आन्तरिक विवाद र सन्तुलन बिग्रिएको विश्लेषण गर्दै आगामी परिणाम आफ्नो पक्षमा आउने एमालेको हिसाब छ। यसअघि जित पनि आन्तरिक असन्तुलनका कारण पार्टीको अवस्था अहिले केही कमजोर हुन पुगेको स्थानीय नेताहरू स्वीकार गर्छन्। वडा २९ मा कांग्रेस संगठन विगतभन्दा कमजोर भएको र एमालेले सुधारेको बताइन्छ। यसअघि कांग्रेसले जितेको वडा हो त्यो। वडा ३० मा कांग्रेस नै बलियो देखिएको छ भने ३१ मा एमालेको अवस्था मजबुत छ। यी दुवै वडामा अघिल्लो निर्वाचनकै परिणाम दोहोरिने आकलन उनीहरूको रहेको निकटहरू बताउँछन्।

वडा ३२ कांग्रेसले एकीकृत समाजवादीलाई छाडेको छ। त्यहाँ एमाले र कांग्रेस–नेकपा एसबीच प्रतिस्पर्धा हुनेछ। एमालेले जितेको उक्त वडामा यसपटक त्यही पार्टी विभाजित भएर गठन भएको नेकपा एससँग तीव्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ। नेकपा एसले आफूले ३२ नम्बर वडा जित्ने दाबी गरेको छ भने एमाले पनि जितलाई अहिले पनि निरन्तरता दिने जिकिर गर्दै आएको छ।

प्रकाशित: २७ वैशाख २०७९ ०१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App