११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नमस्कार गर्दै भोट माग्दै

सदरमुकाम लिवाङ बजारमा भोट माग्दै माओवादी मेयर उपमेयर उम्मेदवार।

निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु दैनिक जसो घरदैलोमा व्यस्त छन् भने नेतृत्व कहिले मञ्चका कार्यक्रम त कहिले बन्द कोठाका छलफलमा जुटेका छन्।

बाक्लो वस्तिमा नमस्कार बोकेर कार्यकर्तासहित पुग्ने उम्मेदवारहरु कहीँ कतै सानो समूहमा पनि हिड्ने गरेका छन्। कडा प्रतिस्पर्धा भएका ठाउँमा उच्च तहका नेताको उपस्थिति अलि बढि रहेको छ। जिल्लाको गंगादेब गाउँपालिकामा कांग्रेस प्रदेश सभापति केही दिनदेखि अड्डा जमाएर बसेका छन् भने पूर्व मन्त्री वर्षमान पुन पनि केही दिन बसेर सदरमुकाम फर्केका छन्।

माओवादी नेता कृष्णबहादुर महरा, झक्कु सुवेदी केही दिन यता रोल्पाका विभिन्न गाउँमा छन्। कांग्रेसको विरासत फर्काउने र माओवादीको प्रतिष्ठाको लडाइँ रहेको रोल्पामा रुन्टीगढी गाउँपालिकामा पनि तीव्र प्रतिस्पर्धा रहेको छ। माडि र त्रिबेणी गाउँपालिकामा एमाले कांग्रेस गठबन्धनले चुनावलाई थप रोचक बनाएको छ।

विप्लवको पकड मानिएको थवाङ गाउँपालिकामा माओवादी इतका दलहरुसंगै विप्लवको एकताले चुनावी गर्मी बढाएको छ। त्यसो त सुनछहरी गाउँपालिकामा पनि स्वन्त्रलाई समर्थन गर्दै माओवादी बाहेकका दल एक ठाउँमा भएका छन्। माओवादीलाई एक्लै बनाएर कांग्रेस, एमाले, विप्लवलगायतले केही ठाउँमा गठबन्धन गरेपछि चुनावी रौनक थपिएको हो।

यतिबेला विभिन्न दलका राजनीतिक नेतृत्व बन्द कोठामा बसेर चुनावी रणनिति बनाउन पनि व्यस्त छन्। एजेण्डा भन्दा पनि पहिले जसरी पनि निर्वाचन परिणाम आफ्नो पोल्टामा खन्याउन तल्लीन रोल्पालीहरु सौहार्द पूर्ण वातावरणमा निर्वाचन सकाउन प्रतिबद्ध पनि छन्। एकाध ठाउँमा सामान्य घटना बाहेक रोल्पामा तनाव र मनमुटावको स्थिति आइनसकेको सुरक्षा अधिकारीहरु बताउँछन्।

प्रकाशित: २६ वैशाख २०७९ १२:४९ सोमबार

निर्वाचन