८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

तीनथरी मतदाता फकाउँदै एमाले

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीनथरी मतदातासँग मत मागेको छ। निर्वाचनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमार्फत नयाँ थपिएका, पुराना र युवा पुस्ताका मतदातासँग पार्टीका उम्मेदवारका पक्षमा मत मागेका हुन्।

उद्योगी व्यवसायी, किसान, श्रमिकलाई पनि सम्बोधन गर्दै ओलीले मत मागे। ओलीले आगामी पाँच वर्षभित्र मुलुकका सबै गाउँ, नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहित समतामूलक एवं समृद्ध बनाउने प्रतिज्ञा गरेका छन्।

पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसप्रति निकै आक्रामक बनेका ओलीले एमाले नेतृत्वको सरकारका पालामा मुलुकलाई समृद्धिको बाटोतर्फ उन्मुख गराएको दाबी गर्दै स्थानीय चुनावको मुखमा मतदाता फकाउने प्रयास गरेका हुन्।

उनले बहुदलीय शासन व्यवस्था स्थापनापछिका वर्षमा एमालेले करिब सात वर्ष आफ्नै नेतृत्वको सरकार र करिब तीन वर्ष संयुक्त सरकारमा सहभागी भई काम गर्ने अवसर पाएको बताए। उनले यस अवधिमा कांग्रेसले करिब २० वर्ष आफ्नै नेतृत्वको सरकार र करिब सात वर्ष संयुक्त सरकारमा सहभागी हुँदा पनि युवा, प्रौढ तथा बेरोजगारका लागि कुनै पनि कार्यक्रम र योजना नल्याएको आरोप लगाए।

ओलीले १० वर्ष सरकारमा रहँदा एमालेले कृषि र औद्योगिक क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, भौतिक पूर्वाधार निर्माण, व्यापक रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार, सामाजिक न्याय, सुशासन, अन्तर्राष्ट्रिय सम्बन्ध, नेपाल र नेपालीको सम्मान अभिवृद्धिका क्षेत्रमा अभूतपूर्व र साहसिक सोचका साथ विभिन्न सुधारका कार्यक्रम सञ्चालन गरेको दाबी गरे।

उनले एमाले सरकारमा रहँदा एक दशकसम्म औसत ४ प्रतिशतमा रहेको आर्थिक वृद्धिदरलाई ६ दशमलव ५ प्रतिशतभन्दा माथि पुर्‍याएको र आर्थिक वृद्धिदरलाई दोहोरो अंकमा पुर्‍याउने उच्च लक्ष्यका साथ विकास निर्माणका योजना कार्यान्वयन गरेको बताए। उनले उद्योग व्यवसाय सञ्चालन गर्न आन्तरिक तथा बाह्य लगानीका लागि अनुकूल वातावरण विकसित गरेको, सुक्खा बन्दरगाह, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामहरूको निर्माण अभियानमार्फत मुलुकलाई औद्योगीकरणको मार्गमा तीव्र गतिमा अग्रसर गराएको दाबी पनि गरे।

स्थानीय चुनाव लक्षित देशव्यापी आमसभा र विविध कार्यक्रम गर्दै मत मागिरहेको एमालेले आइतबार पार्टी केन्द्रका तर्फबाट आफ्नो दलका उम्मेदवारलाई जिताउन मत मागेको हो। एमालेले तीनखम्बे नीतिका आधारमा राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, गतिशील र प्रतिस्पर्धी बनाउने, आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा जोड दिन निजी क्षेत्रको विकासलाई प्राथमिकता दिने भन्दै निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई लगानी गर्न आश्वस्त पार्न खोजेको छ।

एमालेले दक्ष श्रमिक, उचित काम, कामको सम्मान, उपयुक्त पारिश्रमिक, स्वरोजगार र सामाजिक संरक्षणसहितको श्रम व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। अध्यक्ष ओलीले नेपालीलाई राज्यका तर्फबाट सेवा, सुविधा, सहयोग र संरक्षण दिन सुरु गर्ने सरकार एमालेको नै भएको दाबी गरे।

उनले गर्भवतीको हेरचाह, बालबालिकाको स्याहार र शिक्षा, युवाका लागि अवसर, प्रोत्साहन र रोजगारी, एकल महिला, विपन्न, अपांग, अशक्त, बेसहाराका लागि सामाजिक सुरक्षा, संरक्षण र सबलीकरण तथा ज्येष्ठ नागरिकका लागि स्वास्थ्योपचार, सामाजिक सुरक्षा र सम्मानलगायतका लोककल्याणकारी कार्यक्रमहरू एमाले नेतृत्वको सरकारले नै ल्याएको बताए।

‘अन्य राजनीतिक दलले नेपालको विकासका लागि जुनजुन अवस्था र विषयलाई समस्या, अवरोध र चुनौती मानेका छन्, एमाले ती अवस्था र विषयमा अवसरै–अवसर देख्छ। नेपालको विकासका सम्बन्धमा व्याख्या गरिने कठिनाइलाई हामी पर्यटन क्षेत्रको विकासका माध्यमबाट स्रोतमा बदल्न चाहन्छौं। यसका लागि हामीसँग भिजन र कार्यक्रम छ। हामी पर्यटन क्षेत्रलाई नेपालको राष्ट्रिय ढुकुटीका रूपमा विकास गर्नेछौं,’ ओलीले भने।

कांग्रेसप्रति आक्रामक  

पत्रकार सम्मेलनमा ओली सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेसप्रति निकै आक्रामक देखिए। उनले राणा, राजा र कांग्रेस नेतृत्वमा बनेका सरकारले देशको विकास र जनताको सुख, समृद्धिका लागि कुनै योजना अगाडि नल्याएको आरोप लगाए। ‘कांग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन, यस्तो सोच्नु पनि अपराध ठान्दछ उसले।

उसले राणाशाहीसँग सहकार्य गरेको इतिहास छ। कांग्रेसले निरंकुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको सार्वजनिक घोषणा गरेको सर्वविदितै छ। कांग्रेसकै नीति र असफलताका कारण मुलुकमा सशस्त्र द्वन्द्वका लागि मार्गप्रशस्त भएको यथार्थ हो। कांग्रेसले नै जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन। अहिले पनि दक्षिणपन्थी, वामपन्थी अतिवादी र अवसरवादीसँग घाँटी जोडेर गठबन्धन सरकार चलाएकै छ।

उसले। ऊ जनादेशमा विश्वास गर्दैन,’ ओलीको आरोप थियो।ओलीले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना गर्न, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी कार्यान्वयन  गर्न एमालेले साहसिक निर्णायक भूमिका निर्वाह गरेको बताए।

राजनीतिक उपलब्धिहरूलाई दिगो बनाउन र समग्र विकासलाई तीव्र गति दिन एमाले सरकार थप ऊर्जाका साथ अघि बढिरहेका बेलामा कांग्रेसले पुनः जनादेशमाथि प्रहार गरेको आरोप ओलीले लगाए। ‘नेपाली कांग्रेस फेरि एकपटक नेपाल र नेपालीको विकास, स्थिरता र स्थायित्वका लागि अवरोध बनेर उपस्थित भएको छ, यसलाई पन्छाउन जरुरी भएको छ,’ उनले भने।

ओलीले देश र जनताको हितमा कांग्रेसको कुनै सोच, नीति र कार्यक्रम नभएको आरोप पनि लगाए। ‘कांग्रेसको सरकारका पालामा मुलुकमा भौतिक पूर्वाधार विकासका कुनै योजना सुरु नै भएनन्। सामाजिक सुरक्षा र लोककल्याणप्रति पनि निरन्तर उदासीनता देखाइयो’, ओलीले भने। उनले देश र जनताको हितमा कांग्रेस नेतृत्वको सरकारले केही गर्न नचाहेको र अरूले जनपक्षीय काम गर्न खोज्दा पनि ऊ सधै अवरोधक बनेको आरोप लगाए।

उनले भने, ‘यो कांग्रेसको विगतदेखिकै घोषित मान्यता हो। हालै जारी भएको कांग्रेसको घोषणापत्रले पनि यसको पुष्टि गर्छ। अचम्म त के लाग्दछ भने एमालेले ल्याएका नीति, कार्यक्रम र आयोजनालाई कांग्रेस मजाक र गफ भन्छ। देशको समृद्धि र जनताको सुखलाई कांग्रेस कोरा सपना र उल्टो विकास भन्छ। ठिकै पनि हो, उसका लागि त सुल्टो भनेको, परिवार, नातेदार, गुट र अवसरवादीको हित र सत्ताभोग नै हो ।’

ज्योतिषीलाई सोध्नुस्

ओलीले सत्ता गठबन्धन कहिले टुट्छ भनेर आफू समय नतोकेको बताए। उनले असार १७ गतेपछि गठबन्धन टुट्छ भनेर आफूले नभनेको र त्यो ज्योतिषीहरूले भनेको बताए। ‘असार १७ गते गठबन्धन टुट्छ भन्ने मेरो भविष्यवाणी होइन, ज्योतिषीहरूको हो। त्यतिबेला के हुन्छ त्यो कुरा ज्योतिषीलाई नै सोध्नुस्,’ ओलीले भने। ओलीले विराटनगरमा आयोजित एक सभामा असार १७ गते गठबन्धनको भविष्य टुंगिने बताएका थिए। ‘प्रधानमन्त्री शेरबहादुर देउवाजी ज्योतिषीमा धेरै विश्वास गर्नुहुन्छ।

त्यसैले जेठ र असारको महिना कस्तो छ, बोलाएर सोध्नुहोस्, असार १७ गते कस्ता नक्षत्र र ग्रह छन्, ज्योतिषीलाई बोलाएर हेर्नुहोस् भनेको छु, बिचराहरूको सातो गएको छ होला,’ ओलीले त्यो सभामा भनेका थिए। ओलीले पत्रकार सम्मेलनमा वैशाख ३० गते नै गठबन्धनका लागि ‘सबैभन्दा ठुलो खड्गो’ रहेको बताए। ‘राजनीति हेर्ने ज्योतिषी, ग्रहदशा हेर्ने ज्योतिषी हुन्छन्। राजनीति हेर्ने ज्योतिषीले भनेका कुरा हुन्। गठबन्धन रहन्छ रहँदैन भन्नेमा मेरो केही भन्नु छैन। गठबन्धनका लागि सबैभन्दा ठुलो खड्गो वैशाख ३० गते नै हो,’ उनले भने।

प्रकाशित: २६ वैशाख २०७९ ००:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App